काठमाडौँ- मधेश केन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्य गर्ने जनता प्रगतिशील पार्टीको प्रस्तावमाथि जनता समाजवादी पार्टी (जसपा) नेपाल सकारात्मक देखिएको छ।
आइतबार जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीसँग भएको छलफलमा जसपा नेपालले सहकार्य गर्ने विषयमा सकारात्मक जवाफ दिएको हो।
अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोली जसपा नेपालका नेता राजकिशोर यादवसँग सम्वाद गरेको हो।
संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेन्डासहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग छलफल भएको जनता प्रगतिशील पार्टीका नेता मिश्रले जानकारी दिए।
सहकार्यका लागि आफूहरूले अघि सारेको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उनले बताए। मिश्रका अनुसार मधेशी दलहरू सहकार्य गरे अघि बढ्नुपर्नेमा जसपा नेपाल पनि तयार देखिएको छ।
‘संविधान संशोधन, समसामयिक राजनीतिक अवस्थाका विषयमा गम्भीरताका साथ छलफल भएको छ,’ मिश्रले भने,‘मधेश केन्द्रित सबै दलहरू सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जसपा नेपाल पनि सकारात्मक रहेको पाएका छौँ।’
जसपा नेपालसँगको छलफल सकारात्मक रहेको बताउँदै उनले चाँडै थप सम्वाद हुने जानकारी दिए।
जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले केही दिनअघि मुलुकको राजनीतिक अवस्थाका कारण जनतामा नैराश्यता बढिरहेकाले मधेश केन्द्रित दलहरूलाई सहकार्य गरेर अगाडि बढ्न सार्वजनिक अपिल गरेका थिए।
उनले जसपाका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतका दलहरूलाई सहकार्यका लागि आह्वान गरेका थिए।
सहकार्यका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न जनता प्रगतिशील पार्टीले नेता शिवजी यादवको संयोजकत्वमा पूर्वमन्त्री ईश्वर दयाल मिश्र र मोहम्मद साबिर हुसेन सम्मलित वार्ता टोली गठन गरेको छ।
राजनीतिक दलहरूबीचको सहकार्यलालई मूर्त रूप दिन जनता प्रगतिशीलको वार्ता टोलीले राजनीतिक दलहरूसँगको सम्वादलाई तिब्रता दिएको छ।