
काठमाडौँ- बाराको सिमरा विमानस्थलका सुरक्षा गार्ड राजकुमार रुम्बाको हत्यामा संलग्न तीन जनलाई प्रहरीले सार्वजनिक गरेको छ।
रुम्बाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका जितपुरसिमरा–११ घरभई हाल वडा नम्बर १ स्थित जयमाँ इन्जिनियरिङ वर्कसपका सञ्चालक २७ वर्षीय पुरुषोत्तम दास, सोही स्थानका २० वर्षीय इन्द्रजितकुमार चौहान र महोत्तरी जलेश्वर–३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय सिमरामा कार्यरत अधिकृत श्रीकान्त तिवारीलाई प्रहरीले सार्वजनिक गरेको हो।
पुरुषोत्तमको जिन्स पाइन्टको खल्तीबाट मृतक रुम्बाले घाँटीमा लगाएको सुनको सिक्री, उनको पर्स, ६ थान मोबाइल फोनलगायतका सामग्री बरामद भएको बारा प्रहरीका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए। पुरानो रिसिइवी र लुटपाटको उद्देश्यले रुम्बाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
जिपुरसिमरा–१ घरभई इलाका प्रहरी कार्यालय सिमारा दरबन्दी भई विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी कार्यालय सहयोगी रुम्बा ६ पुसमा जितपुरसिमरा–११ स्थित सडकमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा मृत भेटिएका थिए।
उनको टाउकोमा गोली प्रहार गरी हत्या भएको थियो। पोस्टमार्टमको क्रममा रुम्बाको टाउकोबाट एक थान गोलीसमेत फेला परेको थियो।