काठमाडौँ- काठमाडौं महानगरपालिकाले महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको सम्झनामा राष्ट्रियसभा गृह परिसरमा पूर्णकदकाे शालिक निर्माण गर्ने घोषणा गरेको छ। आज बसेको १६ औँ नगरसभामा महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले पूर्णकदको शालिक निर्माण गर्ने घोषणा गरेका हुन्।
उनले नगरसभामा भने, ‘महानगर प्रमुखको निर्देशनअनुसार नगरपालिकाबाट महानगरपालिकामा रूपान्तरण गर्नुभएका, स्थानीय स्वायत्त शासनका लागि महत्वपूर्ण योगदान पुर्याउनुभएका पूर्व मेयर पीएल सिंहको सम्झनामा महानगरपालिकाले आफ्नो संरक्षणमा रहेको राष्ट्रियसभा गृह परिसरभित्र पूर्णकदको शालिक निर्माण गर्ने घोषणा गर्दछु।’
पुस १ गते ८५ वर्षकाे उमेरमा उनको निधन भएको थियो। उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए। उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए।
उनले गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए। पीएल त्यसपछि आफ्नै निवासमा बस्न थालेका थिए। २०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बने। पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन्।