काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा. सुरेन्द्र यादव चयन भएका छन्। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार बसेको विभागको बैठकले डा. यादवलाई सर्वसम्मतिले प्रमुखमा चयन गरेको हो।
जसपा नेपालका महासचिव रामकुमार शर्मा र केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा आयोजित सो बैठकले विभागको उप प्रमुखमा डा. अब्दुल कलाम अन्सारीलाई मनोनित गरेको छ। विभागको सचिव र अन्य पदाधिकारीलगायत सदस्यहरू चयन गर्न आजै साझ काठमाडौंमा विभागको बैठक बसेर टुंग्याउने बताइएको छ।
यसैगरी १३ सदस्यीय विभागको सदस्यमा डा. कविता साह, राजेश प्रसाद यादव, पवित्र नारायण यादव र प्रभाकर सिंहलाई मनोनित गरिएको छ। जसपा नेपालमा आवद्ध चिकित्सक, स्वास्थ्यकर्मी, शुभचिन्तकको राष्ट्रिय भेला यही माघको मसान्तमा आयोजना गरिने विभागका प्रमुख डा.यादवले बताए।