काठमाडौँ- सन् २०२४ को अन्त्य हुँदै गर्दा विश्वले नयाँ वर्षलाई स्वागत गर्न तयारी गरिरहेको छ। यो वर्षलाई आकार दिने महत्त्वपूर्ण घटना प्रतिबिम्बित गर्ने यो राम्रो समय पनि हो। सन् २०२४ मा विश्वभरका विभिन्न संकट देखिएको वर्ष थियो। यस वर्ष धेरै ठूला घटना र प्रकोप भए र तिनको प्रभाव सम्भवतः लामो समयसम्म महसुस गरिनेछ।
ग्रेगोरियन पात्रोअनुसार मंगलबार राति १२ बजेपछि नयाँ वर्ष सन् २०२५ सुरु हुनेछ। सौरमास र चान्द्रमासको समन्वयबाट प्रचलित विक्रम संवत्जति वैज्ञानिक नभए पनि इस्वी संवतको प्रभाव विश्वभर छ।
नयाँ वर्ष २०२५ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, दरबारमार्ग, बौद्ध तथा उपत्यकाबाहिरका पोखरा, चितवनको सौराहालगायत स्थानमा विशेष चहलपहल हुन्छ। अधिकले आजको मध्यरातलाई पर्खँदै २०२४ लाई बिदाइ गर्नेछन्। जनवरी १ को बिहानै अंग्रेजी नयाँ वर्षलाई विश्वले स्वागत गर्नेछ। हरेक वर्षझैँ सन् २०२४ मा पनि विश्वमा अनेक घटना भए। खासै ठूलो चमत्कार केही भएको देखिँदैन। यो वर्ष पनि अन्य वर्षझैँ सामान्य रह्यो।
पश्चिम एसियाली मुलुकमा युद्ध भए। २०२३ देखि नै सुरु भएको इजरायल र प्यालेस्टाइन लडाइँ चरम उत्कर्षमा पुग्यो। गाजा क्षेत्र पूर्ण रुपमा ध्वस्त भयो। २०२४ मा विश्वको शक्तिशाली मुलुक अमेरिकामा एक कार्यकाल राष्ट्रपति भइसकेका र अर्को कार्यकाल हारेका र फेरि जितेर डोनाल्ड ट्रम्प २० दिनपछि ह्वाइटहाउस पस्ने तयारीमा छन्। अमेरिकाले शताब्दी पुरुष पूर्वराष्ट्रपति जिमी कार्टर गुमाएको छ भने छिमेकी भारतले आफ्ना अर्थ सुधारक विश्वकै चर्चित अर्थशास्त्री डा. मनमोहन सिंह गुमाएको छ। यो क्षति विश्व मानव जातिकै लागि पनि हो। प्रस्तुत छ सन् २०२४ मा विश्वमा भएका प्रमुख घटना :
शान्त रहेन दक्षिण एसिया
सन् वर्ष दक्षिण एसिया शान्त रहन सकेन। श्रीलंका र बंगलादेशमा भएको घटना सामान्य थिएनन्।
प्रमुख प्रतिपक्षीको सहभागिता विना निर्वाचन गराएर भारतको समर्थन पाएकी बंगलादेशकी सेख हसिना आफ्नो शासन कालमा अपदस्थ भइन्। जुन घटना त्यहाँ विद्यार्थीले सुरु गरेको आन्दोलनले उग्र रुप लिएपछि भएको हो।
उनी आफ्नो निवासबाट सेनाको शिविरमा पुगेर हेलिकोप्टरमा भारतमा शरण लिन पुगेकी थिइन्। अहिले पनि उनी भारतमा छिन्। भारतले तत्काल उनलाई बंगलादेश फर्काउन चाहेको देखिँदैन। बंगलादेशमा अन्तरिम सरकार चलिरहेको छ। हसिनामाथि मानवअधिकार हनन मात्र होइन चरम भ्रष्टाचार गरेको र सबै पदमा बंगलादेश स्वतन्त्र हुँदा लडेका परिवारले मात्र सहज प्रवेश पाउने कानुन लागू गरेको लगायतका आरोप लाग्ने गरेको छ।
भारतका परराष्ट्रमन्त्री डा. एस जयशंकरले पाकिस्तान भ्रमण गरेको घटना वर्षकै चर्चित घटनामध्ये बन्यो। उनी सांघाई कोअपरेसनको सम्मेलनमा सहभागी हुन पाकिस्तान गएका थिए। उनको भ्रमणले भारत र पाकिस्तानको सम्बन्ध नजिकिन भने सकेन। जसको कारण सार्क अझै ओझेलमा छ।
नेपालमा पनि प्रमुख दुई ठूला दल मिलेर सरकार बनेको छ। रातारात बिचौलिया व्यापारीको घरमा सहमति भएर यो मेसो मिलेको हो। कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको छ। कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो दल हो। यो दुई दलबीच विचारको विषय केही पनि मिल्दैन।
भारत र अमेरिकाका पूर्वकार्यकारीहरूको निधन
भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ। ९२ वर्षीय सिंहको अघिल्लो बिहीबार निधन भएको हो। सिंह सन् २००४ देखि १२ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका थिए। उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका सबैभन्दा प्रतिष्ठित नेतामध्ये एक डा. सिंहलाई गुमाएको लेखेका छन्।
वर्तमान पाकिस्तानको पन्जाबमा जन्मिएका सिंहको परिवार सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारततर्फ बसाइँ सरेको थियो। साधारण परिवारबाट माथि उठेर प्रतिष्ठित अर्थशास्त्री बनेका सिंहले बेलायत र अमेरिकामा अध्ययन गरेका थिए। उनी पीभी नरसिंह रावको सरकारमा अर्थमन्त्री थिए। भारतको प्रधानमन्त्रीका रूपमा सिंहले भारतीय जनताको जीवन सुधारमा व्यापक प्रयास गरेको भन्दै उनको प्रशंसा हुने गरेको छ।
अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो। १ अक्टोबर १९२४ मा जन्मिएका कार्टर १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति थिए। जेराल्ड आर फोर्डलाई हराएर अमेरिकाको ३९औँ राष्ट्रपति बनेका उनले पहिलो कार्यकालमा आरम्भदेखि नै आलोचना सहनुपरेको थियो। दोस्रो कार्यकालमा पनि चुनाव लडेका कार्टर पराजित भएका थिए। यद्यपि उनले अमेरिकालाई आर्थिक संकटबाट जोगाए। मध्यपूर्वमा शान्ति स्थापनाका महत्त्ववपूर्ण भूमिका खेलेका थिए। त्यसपछि पनि शान्तिका लागि पहल गर्दै आएका उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पाएका थिए। उनी कार्टर सेन्टर स्थापना गरेर विश्वशान्ति, मानवअधिकार, निर्वाचन पर्यवेक्षण, स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका थिए।
मध्यपूर्व द्वन्द्व
सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणबाट भएका घटना सन् २०२४ मा मध्यपूर्वमा प्रतिध्वनित भएका छन्। इजरायलले गाजामा आफ्नो युद्ध जारी राख्यो। इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या अहिले ४५ हजार नाघेको छ। उत्तरी गाजा अनिकालको संघारमा छ। इजरायलले हमासका नेता र अक्टोबर ७ मा मुख्य योजनाकार याह्या सिनवारको हत्यासहित धेरै रणनीतिक विजय प्राप्त गर्यो। यद्यपि हमासलाई पराजित गर्ने यसको रणनीतिक उद्देश्य भने पूरा हुन सकेन।
अप्रिलमा इजरायलले दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा बम प्रहार गरेपछि इरानले इजरायलमा अभूतपूर्व मिसाइल र ड्रोन आक्रमण गर्यो। इजरायलले अमेरिका र पश्चिमी सहयोगका साथ आक्रमण निस्तेज बनायो। इजरायलले इरानको हवाई रक्षामा सीमित हवाई आक्रमण गरेर जवाफ दिएको थियो।
इजरायलले जुलाईमा तेहरानमा नयाँ इरानी राष्ट्रपतिको उद्घाटनमा सहभागी भएका हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको थियो। दुई महिनापछि इरानले इजरायलमाथि अर्को क्षेप्यास्त्र आक्रमण गरेर जवाफ दियो। अक्टोबरको अन्त्यमा इजरायलको जवाबी हवाई आक्रमणले इरानको क्षेप्यास्त्र उत्पादनलाई कमजोर बनायो र यसको हवाई सुरक्षालाई ध्वस्त बनायो।
सेप्टेम्बरको मध्यमा इजरायलले उत्तरी इजरायल विरुद्ध मिसाइल र रकेट आक्रमण गरिरहेको हिजबुल्लाहलाई एक गोप्य अपरेसनसँगै सजाय दियो। यस घटनामा दर्जनौँ हिजबुल्लाह कार्यकर्तालाई मार्न विस्फोटक पेजरहरू प्रयोग गरिएको थियो।
दुई हप्तापछि इजरायली हवाई आक्रमणमा लामो समयदेखिका हिजबुल्लाहका नेता हसन नसरल्लाह मारिए। त्यसपछि इजरायली स्थल सेनाले दक्षिणी लेबनानमा आक्रमण गरी हिजबुल्लाह सेनालाई पछाडि धकेलेको थियो। हमास र हिजबुल्लाहको कमजोरीले सिरियामा टर्की समर्थित सेनाहरूलाई डिसेम्बरमा बसर अल असदको सरकारलाई अपदस्थ गर्ने अवसर सिर्जना गर्यो। दुई महिनाको युद्धपछि लेबनानमा नोभेम्बर २७ मा एउटा नाजुक युद्धविराम लागू भयो।
बसर अल–असदको पतन
सिरियामा इस्लामवादी विद्रोही समूह हयात ताहरिर अल साम (एचटीएस) द्वारा नोभेम्बर २७ मा सुरु गरिएको ११ दिनको अप्रत्यासित आक्रमणपछि राष्ट्रपति बशर अल–असद देशबाट मस्को भाग्न बाध्य भए। दमास्कसको पतनको एउटा प्रतीकात्मक क्षण कुख्यात सेदनया जेलबाट कैदीहरूको रिहाइ थियो। राजधानीको उत्तरमा रहेको त्यो जेल विशेष गरी २०११ मा सिरियाको गृहयुद्ध सुरु भएदेखि असद वंशको ५० वर्षको शासनअन्तर्गत यातना र मृत्युदण्डको प्रतीक थियो।
देशको इस्लामवादी नेतृत्वको सरकारले देशमा रहेका अल्पसंख्यक र विदेशमा रहेका सरकारहरूलाई सबै सिरियालीको सुरक्षा गर्ने आश्वासन दिन खोजेको देखिन्छ। यद्यपि अलकायदासँगको सम्बन्धका कारण अन्तर्राष्ट्रिय समुदायले नयाँ सरकारको गतिविधिलाई ध्यानमा राख्दै तत्काल सिरियामाथि लगाइएको प्रतिबन्ध हटाएका छैनन्।
असदको निष्कासनपछि देशको हतियारहरू अन्तरिम सरकारको हातमा पर्नबाट रोक्न चाहेको भन्दै इजरायलले सिरियाको सैन्य स्थलहरूमा सयौँ आक्रमण गरेको छ। इजरायलले गोलान हाइट्समा संयुक्त राष्ट्र–नियन्त्रित बफर जोन पनि कब्जा गरेको छ।
रुस–युक्रेन द्वन्द्व
सन् २०२२ फेब्रुअरी २४ मा रुसको आक्रमणपछि युक्रेनले अगस्टमा रुसको कुर्स्क क्षेत्रमा आश्चर्यजनक आक्रमण सुरु गर्यो। यद्यपि युक्रेन पूर्वी युक्रेनमा लडाइँबाट मस्कोको सेनालाई विचलित गर्ने आफ्नो लक्ष्यमा असफल भएको छ।
रुसले घातक आक्रमणका साथ जवाफ दियो। किएभको सेना विशेषगरी पूर्वी डोनबास क्षेत्रमा रूसी सेनाको स्थिर प्रगति रोक्न संघर्ष गरिरहेको छ। नोभेम्बरमा युक्रेनले अमेरिका र बेलायतको स्वीकृति पाएपछि पहिलो पटक रूसी भूभागमा पश्चिमबाट आपूर्ति गरिएको लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरेको थियो।
रुसले युक्रेनलाई आणविक वारहेड बिना हाइपरसोनिक ओरेसनिक मिसाइलले प्रहार गरेर जवाफ दियो। साथै किएभले पश्चिमी हतियारले आक्रमण जारी राखे त्यस्ता आक्रमणहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गर्यो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनीहरूलाई हतियार उपलब्ध गराउने देशहरूमा आक्रमण गर्ने धम्की समेत दिएका छन्।
नोभेम्बरको अन्त्यमा रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण गर्यो। हालैका सातामा रुसले दक्षिणी युक्रेनमा आक्रमणहरू बढाउँदा यस क्षेत्रमा नयाँ रूसी आक्रमणको डरलाई बलियो बनाएको छ।
युरोपेली युद्धमा उत्तर कोरियाली सैनिक
यस वर्ष ११ हजारभन्दा बढी उत्तर कोरियाली सैनिकको तैनाथीले रुस–युक्रेन युद्धलाई वास्तवमै विश्वव्यापी संघर्षमा परिणत गर्यो। उत्तर कोरियालीहरू पहिले भाषा सिक्न र आफ्ना नयाँ साथी सैनिकहरूको सञ्चालन कार्यप्रणाली बुझ्न रुसी अड्डाहरूमा तालिमका लागि तैनाथ भएका थिए।
रुसको कुर्स्क प्रान्तमा युक्रेनी फौजलाई पछि धकेल्ने प्रयास गर्दै वर्षको अन्तिम साताहरूमा तिनीहरू युद्धमा होमिए। युक्रेन र अमेरिकी अधिकारीहरूका अनुसार सयौँ उत्तर कोरियाली सैनिक लडाईंमा मारिए वा घाइते भएका छन्।
सुडान गृहयुद्ध
सन् २०२३ अप्रिलमा सुडानमा सुरु भएको गृहयुद्ध सन् २०२४ मा निरन्तर जारी रह्यो। लडाइँले जनरल अब्देल फताह अल–बुरहानको नेतृत्वमा सुडानी सशस्त्र बल (एसएएफ) लाई मोहम्मद हमदान ‘हेमेदी’ दागालोको नेतृत्वमा रहेको र्यापिड सपोर्ट फोर्स (आरएसएफ) मिलिशिया विरुद्ध खडा गरेको छ।
यी दुई व्यक्तिले अक्टोबर २०२१ मा एक विद्रोहमा संयुक्त रूपमा सत्ता कब्जा गरेका थिए। दुई दशकअघि डार्फर नरसंहारका लागि जिम्मेवार कुख्यात आरएसएफले सुडानको राजधानी खार्तुम र डार्फरको धेरैजसो क्षेत्र कब्जा गर्यो।
सेप्टेम्बरको अन्त्यमा एसएएफले खार्तुमलाई पुनः प्राप्त गर्न ठूलो आक्रमण सुरु गर्यो। तिनीहरूले सहरका केही भागहरू पुनः कब्जा गरे तर आरएसएफ सेनाहरूलाई पूर्ण रूपमा हटाउन असफल भए।
लडाइँ सुरु भएपछि सुडानी जनताले दुःख भोगेका छन्। मृत्युको सही संख्या अज्ञात छ। मृतकको संख्या २० हजार पुगेको अनुमान गरिए पनि युद्धसँग सम्बन्धित रोग र भोकमरीलाई समावेश गर्दा यो संख्या ६० हजारभन्दा बढी वा अझ बढी हुनसक्छ। डार्फरमा अनिकाल घोषणा गरिएको छ।
द्वन्द्वले लगभग पाँच करोड कूल जनसंख्यामध्ये करिब एक करोड १० लाख मानिसलाई विस्थापित गरेको छ। एसएएफ र आरएसएफ दुवैलाई लडाइँ जारी राख्न सक्षम बनाउने शक्तिशाली बाह्य समर्थकहरू रहेकाले दुवैले आफू विजयी हुने विश्वास गर्छन्।
ट्रम्पको पुनरागमन
डोनाल्ड ट्रम्पले एक पटक फेरि विश्वलाई स्तब्ध पारे। अमेरिकी राष्ट्रपति चुनाव जित्नका लागि धेरै कडा दौडको प्रक्षेपणलाई उनले गलत साबित गरिदिए। चुनावी अभियानबाट पछि हटेका राष्ट्रपति जो बाइडेनको स्थानमा उम्मेदवारी दिएकी डेमोक्रेट कमला ह्यारिसलाई ट्रम्पले सजिलै पराजित गरे।
चार अभियोग र आपराधिक सजायको सामना गर्ने ७८ वर्षीय ट्रम्पमाथि दुई असफल हत्या प्रयास भएका थिए। ट्रम्प सन् २०२५ जनवरी २० मा ह्वाइट हाउस फर्कने छन्। अमेरिकामा ट्रम्पको विजयले ‘अमेरिका पहिलो’ को पुनरुत्थानका साथसाथै अमेरिकालाई धेरै अन्तर्राष्ट्रिय संस्थाहरूबाट फिर्ता लिने सम्भावना छ। ती संस्थाहरूलाई ट्रम्पले अमेरिकी करदाताहरूको पैसा खाएको ठान्छन्।
जलवायु प्रकोप
मौसम लगातार तातो हुँदै गइरहेको छ। वैज्ञानिकहरूले दशकौँदेखि जीवाश्म इन्धनको हाम्रो लतले जलवायु परिवर्तन गर्ने चेतावनी दिँदै आएका छन्। तथ्यहरूले तिनीहरूलाई पुष्टि पनि गरेको छ।
वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर बढ्दै गएको छ। सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्षको रूपमा तल जानेछ। सन् २०२४ मा पहिलो पटक औसत विश्वव्यापी तापमान पूर्व–औद्योगिक समयको तुलनामा १.५ डिग्री सेल्सियस बढी थियो। सन् २०१५ को पेरिस सम्झौताले विश्वलाई स्थायी रूपमा त्यो स्तर उल्लंघन गर्नबाट रोक्न खोजेका बेला यो खतरनाक संकेत हो।
बदलिँदो मौसमका केही परिणामहरू देखिएका छन्। सन् २०२४ को पहिलो १० महिनामा संयुक्त राज्य अमेरिकामा मौसम सम्बन्धी आएका २४ वटा प्राकृतिक प्रकोपले कम्तीमा एक अर्ब डलरको क्षति पुर्याएको थियो। रेकर्ड खडेरीले उत्तरी दक्षिण अमेरिकालाई तहसनहस पारेको छ। विश्वको सबैभन्दा ठूलो नदी प्रणाली अमेजनका केही भाग सुकेको छ।
आप्रवासनको अन्तर्राष्ट्रिय संगठन (आइओएम) का अनुसार पश्चिम र मध्य अफ्रिकामा असामान्य रूपमा तीव्र वर्षाको मौसममा एक हजार पाँच सयभन्दा बढीको मृत्यु भएको छ। सेप्टेम्बरमा हेलेन नामको आँधीले दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा प्रहार गर्यो। टाइफुन क्राथन ताइवानमा ठोक्कियो र आँधी बोरिसले मध्य युरोपमा बाढी र विनाश ल्यायो।
टाइफुन यागी र बेबिन्काले एसियामा विनाश निम्त्यायो। अक्टोबरमा विनाशकारी भूमध्यसागरीय आँधीले पूर्वी स्पेनमा प्रहार गर्दा यसले दशकहरूमा यसको सबैभन्दा खराब बाढी निम्त्यायो र दुई सय ३० भन्दा बढी मानिसको मृत्यु भयो।
डिसेम्बरमा चक्रवात चिडोले फ्रान्सेली ओभरसिज क्षेत्र मायोट्टलाई ध्वस्त पारेको थियो। जलवायु सम्बन्धी वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन कोप २९ ले विकासशील देशहरूलाई उत्सर्जन कटौती र जलवायु अनुकूलनका लागि आर्थिक सहयोग गर्नमा केही मात्र प्रगति गर्न सकेको छ।
अन्तरिक्ष अन्वेषणमा नयाँ प्रयास
अन्तरिक्ष अन्वेषणका क्षेत्रमा केही महत्त्वपूर्ण काम भएका छन्। जापानले जनवरीमा चन्द्रमाको अनुसन्धानका लागि स्मार्ट ल्यान्डर अवतरण गराएकाे थियो। त्यहाँ खाडल नै खनेर जमिनमा रहेर तीन महिनाको लागि पृथ्वीमा डेटा पठाएको थियो त्यही डेटाको आधारमा अध्ययन थप अध्ययन अघि बढेको छ।
चीनले पनि चन्द्रमाको माटो ल्याएर अध्ययन गरिररहेको छ। उसले पनि आफ्नो मिसन पठाएर चन्द्रमाको विभिन्न भागको टाढाबाट माटोका नमुनाहरू ल्याएको हो। स्टारलाइनर परियोजनाका लागि कार्यरतलाई जापानले जुनमा दुई अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पठाएकाे छ। उनीहरु दुई महिना बसिसकेकाे भए पनि उनीहरु अर्को केही महिना त्यही राख्ने भनिएको छ।
दक्षिण कोरियामा विमान दुर्घटनामा १७९ को मृत्यु
२०२४ लाई विदाई गरिनु दुई दिन अघि मात्र दक्षिण कोरियामा १ सय ८१ यात्रु बोकेको जहाज दुर्घटना भयाे। यो दुर्घटनामा १ सय ७९ जनाको ज्यान गएको छ। जेजु एअरको बोइङ ७३७ विमानमा १ सय ७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए।
जेजु एअरले विमानमा कुनै पनि प्रकारको प्राविधिक समस्या नरहेको जनाएकाे थियो। उक्त विमान थाइल्यान्डको बैंककबाट फर्किरहेको थियो । यद्यपि दुर्घटना भने अवतरणको समयमा भएको हो। कोरियाकाो दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएर बलेको तस्बिरहरु सार्वजनीक भएका थिए।
विश्वमा विकराल बन्दै शरणार्थी समस्या
शरणार्थी मामिला सम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले विश्वभर शरणार्थीको संख्या १२ करोड २० लाख नाघेको उल्लेख गरेको छ। राष्ट्रसघले शरणार्थीको तथ्यांकहरूलाई चिन्ताजनक रूपमा वर्णन गरेको छ।
यूएनएचसीआरको वार्षिक प्रतिवेदनले सन् २०२३ मा विश्वव्यापी शरणार्थी जनसंख्या ११ करोड ७४ लाख अनुमान गरिएको भए पनि अहिले १२ कराेड २० लाख नाघेको प्रष्ट पारेको छ। यो वृद्धि मुख्यतया सुडानमा गृहयुद्धको कारण भएङ्होको पनि भनिएको छ। अप्रिल सन् २०२३ मा हिंसा बढेपछि १ करोड २० लाखभन्दा बढी मानिस सुडानबाट भाग्न बाध्य भएका थिए।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपी/एएफपी र सिन्हवाको सहयोगमा