जनकपुरधाम- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रमा बसेका नेताले संघीयताको मर्म अनुरूप काम गर्न नसकेको आरोप लगाएका छन्। प्रदेश सरकारको कामबाट जनतामा वितृष्णा बढिरहेको समयमा कांग्रेस नेता कोइरालाले यसको जिम्मेबारी म लगायत केन्द्रमा बसेका नेताहरुले लिनुपर्ने बताए।
जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले केन्द्रमा बसेका नेताहरू संघियताको मर्म अनुसार काम नगर्दा त्यसको प्रत्यक्ष प्रभाव प्रदेश सरकारहरुमा परिरहेको बताए। उनले भने ‘संघले निजामति ऐन, शिक्षा ऐन तथा प्रहरी ऐन बनाएर नदिँदा प्रदेश सरकारहरू आफ्नो गतिमा काम गर्न सकेको छैन।’
उनले अगाडि भने ‘ती ऐन संघ सरकारले नदिनु पछाडिको एउटै कारण छ, केन्द्रमा बसेका नेताहरू संघीयताको मर्म बुझेका छैनन्।’
नेता कोइरालाले वर्तमान सरकारको काम सन्तोषजनक नरहेको समेत बताए। उनले राजनीतिक स्थायीत्वका साथै देशमा सुशासन कायम गर्नकालागि दुई ठूला दल मिलेर सरकार बनायो तर त्यो स्पिरिट अनुरूप सरकार हिँड्न नसकेको आरोप लगाए।
उनले भने ‘दुई ठूला दल मिलेर बनेको यो सरकारको काम संतोषजनक छैन तर यो सरकारलाई असफल हुने छुट पनि छैन।’ यो सरकार असफल भएमा देशमा अराजकता बढ्ने डा। कोइरालाको भनाइ छ।