मनमोहन सिंहको निधनमा नेपाली नेताहरूले देखाएको ‘संवेदनहीनता’

बीएमडब्लू छाडेर मारुती चढ्न रुचाउने नेता थिए सिंह

चन्द्रशेखर अधिकारी १४ पुष २०८१ १३:३९
280
SHARES
मनमोहन सिंहको निधनमा नेपाली नेताहरूले देखाएको ‘संवेदनहीनता’ सन् २००६ मा नयाँदिल्लीमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह। तस्बिर स्रोत : गेट्टी इमेजेज

काठमाडौँ – भारतका पूर्वप्रधानमन्त्री एव‌म् अर्थशास्त्री डा. मनमोहन सिंहको राष्ट्रिय सम्मानका साथ शनिबार नयाँदिल्लीमा अन्त्येष्टि गरिएको छ। ९२ वर्षको उमेरमा बिहीबार राति उनको निधन भएको थियो। सन् २००४ देखि दुई कार्यकाल कांग्रेसआई गठबन्धनबाट भारतको प्रधानमन्त्री रहेका उनी राम्रा अर्थशास्त्रीका रूपमा परिचित थिए। भारतलाई टाट पल्टिनबाट बचाएको जस सिंहलाई दिने गरिएको छ।

सन् १९९१ मा पीभी नरसिंह राव प्रधानमन्त्री थिए। मुलुकको आर्थिक स्थिति ज्यादै खराब थियो। अर्थ व्यवस्थामा सुधार गर्न सक्ने व्यक्तिको खोजी भयो। रावको नजर डा. सिंहमा अडियो। सन् १९८२ देखि १९८५ सम्म भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका गभर्नर भइसकेका सिंह अध्यापनमा संलग्न थिए।

रावले वित्त (अर्थ) मन्त्रीको जिम्मेवारी दिएलगत्तै सिंहले भारतको आर्थिक उदारीकरण र विश्व व्यापारमा जोडिने नीति मात्र लिएनन् निजीकरणलाई व्यापक पारे। वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न बाधक नीतिहरूमा संशोधन गरे। जसले गर्दा भारतको अर्थतन्त्र चलायमान भयो। उनै सिंह सन् २००४ मा प्रधानमन्त्री भए । आफूले अघि बढाएको नीति उनले झन् राम्रोसँग अघि सारे। जसले गर्दा सिंह भारतमा उदारीकरण र आर्थिक सुधारका योजनाकार रूपमा परिचित बने।  त्यसैले उनलाई भारतीय अर्थतन्त्रको ‘आर्किटेक्ट’ भन्ने गरिएको छ।

अंग्रेजबाट स्वतन्त्र भारतले समाजवादी आर्थिक प्रणाली अँगालेको  थियो। यस्तो नीति अपनाउँदा स्वतन्त्र भएको चार दशकमा भारत टाट पल्टने मुलुकको सूचीमा परिसकेको थियो। सन् १९९१ मा विदेशी मुद्राको सञ्चिति सवा अर्ब डलर रहेको सञ्चारमाध्यममा अध्ययन गर्न पाइन्छ। त्यसले तीन साताका लागि पनि आयात नधान्ने अवस्था थियो। मुलुकलाई चाहिने खाद्यान्न, इन्धन, लत्ताकपडा, मलजस्ता अत्यावश्यक सामान खरिद गर्न सक्ने अवस्था नभएपछि भारत टाट पल्टिन्छ भनेर प्रधानमन्त्री  राव चिन्तित थिए।

सन् १९९१ को निर्वाचनअघिसम्म यसवन्त सिन्हा अर्थमन्त्री थिए। उनी सरकार चलाउनभन्दा राजनीतिमा जोगाउन सक्रिय थिए। यता मुलुकले सुन धितो राखेर बेलायत र जापानबाट करिब आधा अर्ब अमेरिकी डलर ऋण लिने प्रक्रिया अघि बढायो। रावले  मुलुकलाई डिफल्टर हुनबाट बचाएका थिए। प्रधानमन्त्री रावले डा. सिंहलाई अर्थमन्त्रीमा छनोट गर्दै उनलाई राज्य सभामा लगे।

सिंहले रावसँग मिलेर समाजवादी भारतलाई उदार अर्थव्यवस्थामा दौडाए। त्यही दौडले अहिले भारत संसारकै पाँचौँ ठूलो अर्थतन्त्र बन्न सफल भएको हो। त्यतिबेला सिंहले ल्याएको बजेटलाई विश्वले भारतको ‘ल्यान्डमार्क’ बजेट भन्ने गरेको छ। सिंह अर्थमन्त्री हुँदा समग्र मुलुकको आर्थिक नीतिलाई पश्चिमा लयमा ‘यू टर्न’ गराउन  सफल भए।  ‘ल्यान्डमार्क’  बजेटको त्यतिबेला दुई/तीनजना बाहेक सबै सांसदले विरोध गरेका थिए।

सिंहले बजेटको भरपूर बचाउ गर्नुपरेको थियो। नागरिक धनी बनाउने गरी उदार अर्थ व्यवस्थालाई अंगालेका थिए उनले। जुन सुझबुझ र अडानका साथ उदार अर्थव्यवस्था सुरु गरे। त्यो नै भारतको आर्थिक वृद्धिको बलियो खुड्किलो मात्र नभई  एसियाको एउटा अर्थ इन्जिन बन्यो। जसलाई पश्चिमाले समेत नक्कल गर्न थाले।

सन् १९९६ को चुनावमा बीजेपी गठबन्धनले बाजी मारेको थियो।  यसवन्त सिन्हा फेरि अर्थमन्त्री बने। उनले डा. सिंहले अघि बढाएको आर्थिक नीतिलाई अघि बढाए। सन् २००४ मा आएर सिंह प्रधानमन्त्री भए। उनी अप्रत्यासित रूपमा प्रधानमन्त्री बनेका थिए। कांग्रेस पार्टीकी नेतृ सोनिया गान्धी प्रधानमन्त्री बन्ने निश्चित थियो। प्रतिपक्षले सोनियाको जन्म इटालीमा भएको भन्दै प्रधानमन्त्री मान्न नसकिने भनेर विरोध  गरेपछि सोनियाले सिंहलाई प्रधानमन्त्री बनाइन्।

साधारण जीवन जिउन रुचाउने सिंह आफ्नो निजी कारका रूपमा मारुती ८०० चढ्थे। सबै भारतीयलाई मारुती चढ्ने बनाउन सक्नुपर्छ अनि मात्र अरु गाडी चढ्नुपर्छ भन्थे उनी। प्रधानमन्त्री हुँदासमेत कालो बीएमडब्लू कारभन्दा आफ्नो मारुती ८०० कार चढ्न रुचि राख्ने गरेको र कैयाैँ पटक त्यसमै गुडेको उनका तत्कालीन बडीगार्ड असिम अरुणले  एक्समा लेखेका छन्। सिंहका श्रीमती गुरुशरण कौर र तीन छोरी छन्। उनीहरू सबैकाे जीवनशैली साधारण छ।

उमेरका कारण स्वास्थ्यमा समस्या देखिएपछि सिंहको उपचार घरमै भइरहेको थियो। अचानक बेहोस भएपछि उनलाई बिहीबार नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा लगिएको थियो। उनलाई त्यही राति  मृत घोषणा गरिएको थियो। उनको निधनमा भारत सरकारले सात दिन शोक मनाउने निर्णय गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भारतकै ‘सबैभन्दा प्रतिष्ठित नेता’ भनेका छन्।  ‘भारतीय जनताको जीवनस्तर सुधार्न व्यापक प्रयास गर्नुभएका पूर्वप्रधानमन्त्री हामीले गुमाएका छौँ। हामीले यस्ता विद्वान् नेता बेलाबेलामा मात्र हामीले पाउँछौँ।’

कांग्रेस आईकी पूर्वअध्यक्ष सोनिया गान्धीले भारतले एक हस्ती सल्लाहकार र विश्वले एक राम्रो अर्थशास्त्री गुमाएको बताएकी छन्। यसैगरी नेत्री प्रियंका गान्धीले सिंह साँच्चै समतावादी, बुद्धिमान्, दृढ इच्छाशक्ति र साहसी नेताका रुपमा रहेको भन्दै उनको निधनले मुलुक र कांग्रेसले एक पथ प्रदर्शक गुमाएको बताएकी छन्। कांग्रेस नेता राहुल गान्धीले पनि मुलुकले एक गुरु र मार्गदर्शक गुमाएको भन्दै उनको शालीनता र मुलुक बनाउन देखाएको पथलाई कांग्रेसले पूरा गर्दै जाने प्रतिबद्धता जनाएका छन्।

सिंहले मुलुकको सुधारका लागि राम्रा काम गरेका थिए। उनी कांग्रेसलाई लोकप्रिय बनाउने भन्दा पनि मुलुकको अवस्था सुधारतर्फ लागेका थिए। गठबन्धन सरकार हुनाले केही कुरामा सिंहले  सम्झौतासमेत गर्नुपर्‍यो भने कतिपय कुरामा अरूलाई  पनि सहमत गराउँथे। जसले गर्दा सुधारको काममा भएका ‘लुप होल्स’ मा अडेर भारतीय जनता पार्टी (बीजेपी) ले राजनीति गर्‍यो। परिणामस्वरूप बीजेपी भारतमा लगातार तीन कार्यकाल सरकार चलाइरहेको छ। डा. सिंह पहिलो कार्यकाल पूरा गरेर पुनः निर्वाचित हुने नेहरूपछिका प्रधानमन्त्री हुन्। उनले विकासको काम अघि बढाउँदा दोस्रो कार्यकाल भ्रष्टाचारका कारण कांग्रेस विवादमा परेको थियो। जसले गर्दा प्रतिपक्षमा समेत नपर्ने गरी काग्रेसले हार व्यहोर्नपर्‍यो।

सिंह सिख समुदायबाट भारतमा शीर्ष पदमा पुग्ने पहिलो नेतासमेत हुन्। पछिल्लो कार्यकालमा भने सिंह भ्रष्टाचारका कारण विवादित बनेका थिए। सिंह कतिपयले सन् २०१४ को आमचुनावमा कांग्रेस पार्टीको हारका लागि उनको कार्यकाल जिम्मेवार भनेका थिए। गठबन्धन सरकार र आर्थिक सुधारको पाटोमा लाग्दा उनले दलको लोकप्रियता बचाउन ध्यान नदिएकै हो।

मनमोहन सिंह अंग्रेजबाट भारत र पाकिस्तान स्वतन्त्र हुनुअघि सन् १९३२ सेप्टेम्बर २६ मा पन्जाब प्रान्तको गाहमा जन्मिएका हुन्। १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि उनको परिवार भारतको हल्दवानी सरेको थियो। अर्को वर्षदेखि उनीहरू अमृतसरमा बस्न थाले।  उनका पिता गदर फिल्मको शैल जस्तो सिखहरू यता कि उता भन्ने अन्योलमा थिए। पन्जाब अहिले भारत र पकिस्तान दुवैतर्फ छ। सिंह भने भारततर्फको पन्जाबमा रहे। सन् १९५२ मा पन्जाब विश्वविद्यालयबाट स्नातक गरेका उनले त्यसको दुई वर्षमा त्यहीँ स्नातकोत्तर सके। लगत्तै उनी बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा पुगे। जहाँबाट उनले अर्थशास्त्रमा स्नातकोत्तर गरे।

सिंह बेलायत अध्ययन गरेर भारत फर्के अनि विद्यालयमा शिक्षक बनेर ज्ञान बाँड्न थाले। त्यसमा पनि उनी रम्न सकेनन्। उनी १९६० मा अक्सफोर्ड विश्विद्यालयमा पुगे र तीन वर्षमा पीएचडी सके। अनि उनी आफू अध्ययन गरेको विश्वविद्यालयमा पढाउन भारत फर्किए। सिंह प्राध्यापक भए। उनले त्यही समय तीन वर्ष जति  राष्ट्रसंघमा पनि काम गरे।

सिंह जब दिल्ली विश्वविद्यालयमा पढाउन सक्रिय भए त्यसपछि भारत सरकारसँग नजिक रहेर काम गर्न थाले। त्यति बेला  भारतीय अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार, अर्थ सचिव बनेका सिंह भारतीय रिजर्भ बैंकका गभर्नरसमेत भए। सन् १९९० मा भारतीय प्रधानमन्त्री चन्द्र शेखरको आर्थिक सल्लाहकार बनेपछि सिंह राजनीतिको मूलधारमा देखिन थालेका थिए।  उनी दक्षिण एसियाली मुलुकहरुबीच बहुपक्षीय कनेक्टिभिटी बढाउन र खुला बजारक्षेत्र बनाउन लगातार लागिरहे। भारत र पाकिस्तानको सम्बन्धका कारण त्यसले गति लिएन।

सिंहको नेपाल सम्बन्ध

सिंहको नेपाल साइनो भने गजबको छ। दुई कार्यकाल प्रधानमन्त्री हुँदा पनि उनले नेपाल भ्रमण गरेनन्। तर यहाँका राजादेखि नेताहरूसँग उनको सम्बन्ध थियो। सिंह प्रधानमन्त्री भएका बेला नेपालमा माओवादी द्वन्द्व थियो। त्यसलाई सल्टाउन दिल्लीमा भएको १२ बुँदे सम्झौता गराउने कार्यमा पनि उनको हात रहेको भनिन्छ। प्रमुख राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच भएको सम्झौता र त्यसपछि प्रधानमन्त्री बनेर गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा सिंहले उनलाई दिएको सम्मान चानचुने थिएन। १२ बुँदेको आडमा रहेर नेपालमा अढाई सय वर्षदेखि जरो गाडेको राजतन्त्र अन्त्य भयो।

सिंहको निधनले नेपालले एक असल मित्र, भारतले एक अगुवा आर्थिक सुधारक र विश्वले एक मूर्धन्य अर्थशास्त्री तथा विनयशील मानव गुमाएको छ। सिंहलाई नजिकबाट चिन्ने व्यक्तिमा पर्छन् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई। उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘निजी रूपमा मैले एक विलक्षण बौद्धिक तथा सहृदयी अग्रज मित्र गुमाएको छु। उनका नेपाल समकक्षीका रूपमा २०११ को अक्टोबरमा गम्भीर वार्तापछि भएका बिप्पा सम्झौता, ईपीजीबरे सहमति, दोहोरो कर मुक्तिको सम्झौता (जुन प्राविधिक कारणले पछि नेपालमै हस्ताक्षर भएको) आदि नेपाल-भारत सम्बन्धका महत्त्वपूर्ण कोसेढुंगाका रूपमा रहिरहनेछन्।’

सिंह सधैँ शान्त र गम्भीर देखिन्थे। विश्वका राजनीतिबारे र आफ्नो विकासबारे कुरा गर्ने उनी यस क्षेत्रको साँच्चै लोभलाग्दो नेता रहेको उनलाई भेट्नेहरूले बताउने गरेका छन्। भारतका लागि राजदूत रहिसकेका डा. दुर्गेशमान सिंह सिंहको शालीनताबाट निकै प्रभावित थिए। उनी गुरुका रूपमा लिन्छन् सिंहलाई।

मनमोहन सिंहले नेपालबाट भारततर्फ भएका भेटमा राजतन्त्र, गणतन्त्र, त्यसपछिका सरकार नियाल्न पाए। उनले राजादेखि पहिलो राष्ट्रपति डा‌. ‍रामवरण यादवसम्मलाई दिल्लीमा स्वागत गरे। गिरिजाप्रसाद कोइरालालाई त सिंहले यस क्षेत्रकै महान् नेता भनेका  थिए। कोइराला भारत भ्रमणमा गएका बेला सिंहले दक्षिण एसियाकै प्रतिष्ठित नेता भन्दै  एयरपोर्टको ग्राउन्डमा अंकमाल गर्न पुगेका थिए। यस्तो स्वागत  भारतले विरलै नेतालाई मात्रै गर्दै आएको छ।

सिंहले राष्ट्रपति यादव, गिरिजाप्रसाद कोइराला, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, सुशील कोइराला र शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। केपी शर्मा ओलीले पनि उपप्रधान एवम् परराष्ट्रमन्त्रीका हैसियतमा सिंहसँग भेट गरेका थिए।

सन् २००४ मा देउवालाई भारत बोलाएर पनि उनले दुई मुलुकबीच सेनाका विषयमा कुराकानी गर्ने संयन्त्र गठन गराएका थिए। सुरक्षा मामिलामा नेपाल-भारत संयुक्त परामर्श समूह को नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिवले गर्दै आएका छन् । उनीहरूबीच सुपुर्दगी सन्धिदेखि आपसी कानुनी सहायता सन्धिको मस्यौदा छिट्टै टुंग्याउने सहमति भएको थियो। यो छलफल अहिले पनि जारी छ ।

सिंहले सकभर राजासहितकै बाटो तय गर्न र दलहरू मिलाउन गरेको प्रयास पनि बेलाबेलामा आइरहेको हुन्छ। राजाले सबै शक्ति आफूमा लिएर दललाई शक्तिविहीन बनाएको थिए। सिंहले नेपालका राजनीतिक दललाई शक्ति उपलब्ध गराउन पहल गरेका थिए। २०६२/६३ को जनआन्दोलन २ ताका उनको चिठी  लिएर कांग्रेस नेता डा. करन सिंह नेपाल आएका थिए। तत्कालीन राजालाई आफूमा  शक्ति नराख्न उनले सुझाव दिएका थिए। यो कुरा त्यतिबेलाका दूत डा. करनले सार्वजनिक स्थानमा पनि भनिसकेका छन्।

प्रधानमन्त्रीबाट हटेपछि पनि सिंहलाई नेपालका केही नेताले भेटिरहे। अहिले सिंहको अन्त्येष्टिमा कोही पनि प्रतिनिधि नेपालबाट गएनन्। नेपालमा सुशील कोइरालाको निधन हुँदा भारतले तत्कालीन परराष्ट्रमन्त्री सुष्मा स्वराजको नेतृत्वमा श्रद्धाञ्जली दिन टोली पठाएको थियो। गिरिजाप्रसाद कोइरालाको निधनमा पनि तत्कालीन सभामुख मीरा कुमार नेतृत्वमा ठूलै टोली आएको थियो भारतबाट। तर नेपालले भारतमा दुई पटक प्रधानमन्त्री भइसकेका व्यक्ति जसले सबै नेपाली शीर्ष नेतालाई व्यक्तिगत रूपमा पनि चिन्दछन् उनको निधनमा कोही पनि पठाएन।

अग्रज पत्रकार अखिलेश उपाध्याय लेख्छन, ‘नेपाली नेताहरू आफ्नै सानो संसारमा हराइरहेका छन्। मनमोहन सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्न शीर्ष नेताहरूको अनुपस्थितिले आत्मीय छिमेकी र दिवंगत मित्रसँगको सम्बन्ध कायम राख्न नेपालका दलहरू कति असंवेदनशील छन् भन्ने देखाउँछ।’

कांग्रेसका नेता एव‌ं योजना आयोगका पूर्वउपाध्यक्ष प्रा‌.डा. गोविन्द पोखरेल लेख्छन्, ‘छिमेकी मुलुकको दिग्गज नेता मनमोहन सिंहको अन्त्येष्टिमा न त सरकार न त कुनै राजनीतिक दल न त नेपाली कांग्रेसले आफ्ना प्रतिनिधिमण्डल नपठाएर आत्मा मरेको राज्य, राजनीतिक दल र संवेदनहीन छिमेकीको उदाहरण दिए, ‘ खस्केको कूटनीति क्षमता र अपरिपक्व नेतृत्वले संवदनशील भूराजनीति कसरी लाने हो?’

कूटनीतिक क्षेत्रका जानकाहरू बीजेपी रिसाउला भनेर नेपाल सरकारले सिंहको अन्त्येष्टिमा सहभागिता जनाउन नसकेको टिप्पणी गर्छन्। ‘सिंहको अन्त्येष्टिमा नेपाल सरकारले बीजेपी रिसाउला भन्ने सोचले माथिल्लो स्तरबाट सहभागिता जनाएनन्’ एकजना पूर्वराजदूतले भने।

नेपालमा जनआन्दोलन उत्कर्षमा पुगेका बेला उनै सिंहले डा। करण सिंहलाई विशेष दूतका रूपमा नेपाल पठाएका थिए।  एक छिमेकीको नाताले उनले राजालाई सत्ता हस्तान्तरण गर्न सुझाएका  थिए। अहिले दलका नेताहरु राजाजस्तै भएका छन्। सिंहले आफू प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्रीको पहिलो भ्रमण नेपालबाट गर्न लगाएका थिए। सन् २००४ मा के नटवरसिंह नेपाल आएका थिए। उनी बिमस्टकेको निमन्त्रणाका लागि आए पनि राजनीतिक विषयमा कुराकानी भएको थियो।

बिरामी पर्दा दूतावास धाउने र भारतमा सित्तैँमा उपचारका लागि पहल गर्ने नेताहरू सरकारमा छन्। त्यही मुलुकको एक नेताको निधन हुँदा शीर्ष भनिएका नेताले नै तस्बिर राखेर सामाजिक सञ्जाल रंगाए।  तर जानुपर्ने स्थानमा गएनन्। उनै सिंहले प्रधानमन्त्री कोइरालाको आग्रहमा नेपाललाई सैन्य ऋणबापतको पौने दुई अर्ब रुपैयाँ मिनाहा गरिदिएका थिए। यसरी नेपालीका लागि काम गरेका नेतालाई अहिले हाम्रा साँघुराे घेरामा रम्ने नेताले स्मरणसमेत  गरेका छैनन्। अन्य छिमेकीले भने स्मरण गरेका छन्। सन्त नेताको महाप्रस्थानले एक अनुभवी अर्थशास्त्रीकाे कमी विश्वभर रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast