विरस तामाङ : जसले २७ वर्ष बटुवालाई चिया पिलाइन्, छोराछारीलाई मास्टर पठाइन्

हिमाल प्रेस १४ पुष २०८१ ६:३५
6
SHARES
विरस तामाङ : जसले २७ वर्ष बटुवालाई चिया पिलाइन्, छोराछारीलाई मास्टर पठाइन्

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बेच्न थालेको २७ वर्ष भयो।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक ५० हजारभन्दा बढी बचत गर्दै आएकी छिन्।

समुद्री सतहबाट एक हजार आठ सय २३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ। विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाको रूपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो लाग्छ।

विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ। चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा ४० रुपैयाँमा दूध खरिद गर्ने गरिएको विरसले बताइन्।

उनले भनिन्, ‘काठमाडौँ तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नुहुन्छ।’ मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो।

तीन सन्तानकी आमा विरसलाई उनका श्रीमान् मानसिंह तामाङले सहयोग गर्दै आएका छन्। सुरुमा खाना तथा खाजा बिक्री गर्दै आएकी विरसले पछिल्लो समय चिया र छाली चिउरामात्र बिक्री गर्दै आएकी छिन् । छाली र चिउरा प्रति बटुका एक सयमा बिक्री गर्ने गरिएको छ।

विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धानेकी छिन्। एउटा छोरीले स्नातकोत्तर उत्तीर्ण गरिन् भने अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गरेका छन्। तीनैजना अहिले अध्ययनकै सिलसिलमा जापानमा बस्छन्। तीनै छोराछोरीको पढाइको खर्च बेहोर्न विरसले चिया बिक्री गर्दै आएकी हुन्।

प्रकाशित: १४ पुष २०८१ ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast