परराष्ट्रमन्त्री राणाद्वारा जालपादेवी केबलकार शिलान्यास

हिमाल प्रेस १३ पुष २०८१ १९:४८
10
SHARES
परराष्ट्रमन्त्री राणाद्वारा जालपादेवी केबलकार शिलान्यास

कैलाली– कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको परराष्ट्रमन्त्री आरजु राणा देउवाले शनिबार शिलान्यास गरेकी छन्। लम्की चुहाँ नगरपालिका–३ स्थित कर्णाली चिसापानीमा तीन दशमलव एक किलोमिटर लामो केबलकारको उनले शिलान्यास गरेकी हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन्।

यस आयोजनालाई समयमा सम्पन्न गर्नका लागि आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्शाउन मन्त्री राणाले सबैसँग आग्रह गरिन्। उनले केबलकार समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै आगामी दिनमा यस क्षेत्रका सम्भावना र आवश्यकता हेरेर पर्यटन पूर्वाधारमा बढीभन्दा बढी लगानी गर्न अनुरोध गरिन्।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले यहाँ निर्माण हुने केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए।

उनले नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रहसमेत गरे।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने केबलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढावा दिने विश्वास व्यक्त गरे।

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेको बताए। उनले भने, ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ। पर्यटकको बसाइ लम्बाउन, विदेशी मुद्रा थप आर्जन गर्न, रोजगारी नयाँ अवसर सिर्जना गर्न, थप राजस्व उठाउन सकिन्छ। हामीले अपेक्षा गरेको आर्थिक विकास र समृद्धि हासिल पर्यटन प्रवर्द्धनबाट सम्भव छ।’

लम्की चुहाँ नगरपालिका–३ को चिसापानीबाट मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म पुग्ने तीन दशमलव एक किमी लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन्। कुल रु. पाँच अर्ब लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याङ्क्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन्।

प्रकाशित: १३ पुष २०८१ १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast