इटहरी- विद्यार्थीहरू शान्त र एकत्रित छन्। पछिल्तिर अभिभावकहरू छन्। उनीहरू पनि मञ्चतिरै आँखा डुलाइरहेका छन्।केहीबेरमै मञ्चमा उक्लिए मुला, गाँजर, काक्रा, टमाटर, मटर, आलु। त्यसमध्येको सबैभन्दा ठूलो भनेको आलु हो। र, उनीहरू एकापसमा संवाद गर्न थाले।
सुनसरीको रामधुनीमा रहेको आरम्भ विद्या मन्दिरमा नाटक ‘तरकारी बहस’मा देखिएको दृश्य हो यो। तरकारीले मानिसको पेट भरेर खुशी हुने गरेको दृश्यलाई समेटेको छ। त्यति मात्रै होइन, विश्वमै तरकारीहरू मनकारी हुनेसमेत उदृत गरिएको छ।
आलु र प्याज एकापसमा बात मार्दै गर्दा प्याजले भनिरहेछ, ‘मान्छेहरूले हामी कुहिन थालेपछि तरकारीमा हानीकारक केमिकलहरू हाल्न थालेछन्। केमिकल हालेपछि हामी बाहिरबाट हेर्दा नकुहिए पनि भित्रभित्रै कमजोर हुँदै जान्छौँ।’
आलुले भन्छ, ‘केमिकलले त हाम्रो मात्र होइन, तरकारी खाने सबै मान्छेहरूको स्वास्थ्यमा पनि असर गर्छ। मान्छेहरूले मान्छेहरूकै बिगार गरेर के पाउँछन्?’ खासगरी उक्त दृश्यले पछिल्लो समय तरकारीमा विषादीको प्रयोग गरेको दृष्टान्त बताउँथ्यो । उक्त नाटकले तरकारीमा विषादीको प्रयोगका कारण मानव जीवनमा पर्ने असरबारे चित्रण गरिएको छ।
प्राकृतिक रूपमै उत्पादन हुने तरकारीमा मानव जातिले आफ्नो स्वार्थका निम्ति विषादी प्रयोग गरेको कुरालाई चित्रण गरिएको छ। नाटकमा आलु, टमाटर, प्याज, मुला, काक्रा, गाँजर, मटर, च्याउ, खुर्सानीलगायतका पात्र छन्। नाटकका लेखक तथा निर्देशक सुमग दुलालका अनुसार तरकारीमा विषादीको प्रयोगका कारण पौष्टिक तत्व नष्ट हुने र तागत नभएपछि मरेतुल्य हुने उदृत गरिएको छ।
नाटकमार्फत ठूलो देखिने कसैले पनि सानो देखिनेहरूलाई दबाउन नहुने सन्देश दिन खोजिएको उनले बताए। ‘हामीले नाटकमा मान्छेको नियतकै कुरालाई देखाएका हौँ,’ दुलाल भन्छन्, ‘मान्छेले हावालाई नराम्रो भन्यो। त्यसबाहेक प्रकृतिमा उत्पादन हुने कुरालाई पनि राम्रो भनेन । यही कुरालाई व्यङ्ग्यात्मक हिसाबबाट नाटकमा प्रस्तुत गरेका हौँ।’
नाटकमा प्रस्तुत भएको ‘मटर’ पात्रलाई सबै तरकारीहरूले काम अह्राउँदा भनिरहेको थियो,‘सानो भनेर हेपेको? त्यसो हो भने हामी र मान्छेमा के फरक भयो?’
मानिसले आफूभन्दा सानालाई दबाउने गरेको र अरूलाई दबाउन नहुने बताइएको छ। मान्छेकै दृष्टिकोणबाट धेरै नाटक देखिए पनि तरकारीको स्वरूपबाट नाटक प्रस्तुत नभएको दुलाल सुनाउछन्। ‘यो नयाँ शैली प्रयोग गरिएको हो।
कतिपय विद्यालयले अभिभावक दिवसमा मात्रै नाटक प्रस्तुत गर्छन्,’ उनले भने, ‘अधिकांशलाई अध्याँरो कोठामा अनुशासनसहित नाटक प्रस्तुत हुन्छ भन्ने थाहै छैन । तर, यो प्रस्तुतिले केही हदसम्म भएपनि रंगमञ्चमा नाटक कस्तो हुँदोरहेछ भन्ने बुझाउन सकेको छ।’
रंगमञ्चको ‘कल्चर ग्रासरुट’देखि नै बुझाउन विद्यालयमा नाटक आवश्यक रहेको उनको भनाइ छ । उक्त नाटक विद्यार्थी तथा अभिभावकहरूलाई देखाइएको थियो । आरम्भ विद्या मन्दिरकै सभाहलमा भएको नाटकले अभिभावकलाई पनि एउटा चेतनाको विकास गरेको बताइन्छ।
कलालय इटहरीका अध्यक्ष तथा रंगकर्मी सोनु जयन्तीले आजको दिनमा विद्यालयमा नाटक अति आवश्यक रहेको बताए। ‘सजिलोगरी बुझाउन सक्नु र अरूलाई बुझाउनुअघि आफैँ बुझ्नु आवश्यक कुरा नै नाटक हो,’ उनले भने, ‘त्यसैले पनि स्कुलमा नाटक अति आवश्यक हो।’
नाट्य निर्देशक तथा रंगकर्मी प्रज्वल पराजुलीले नाटकले कुनै पनि प्रोफेसनमा डिस्टर्ब नगर्ने सुनाए। ‘नाटकले जीवनको पात्र चिन्न सहज हुन्छ । हामी यसैपनि नाटक जीवन हो भनेर अभ्यास गरिरहेका छौँ,’ पराजुली भन्छन्, ‘नाटकले कुनै पनि प्रोफेसनमा डिस्टर्ब गर्दैन, बरू सपोर्ट गर्छ।’
आरम्भ विद्या मन्दिरका प्रिन्सिपल विमल बरालका अनुसार विद्यालयका सबै विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा नाटक देखाइएको छ। थियटरको अनुभव बुझाउन पनि नाटक प्रस्तुत गरिएको उनले बताए। ‘विद्यार्थीले सानैदेखि कला, साहित्य बुझ्नुपर्छ,’ उनले भने, ‘कला, साहित्य बुझ्ने सबैभन्दा सहज भनेको नै नाटक हो । नाटकले जीवन बुझ्न पनि सहज हुन्छ ।’
बालबालिकामा चेतनासहितको शिक्षा आवश्यक हुने र त्यसका लागि नाटक महत्वपूर्ण रहेको उनको भनाइ छ । दुई दिन गरी प्रस्तुत गरिएको उक्त नाटकमा १० वटा शो प्रस्तुत गरिएको थियो।