लुम्बिनी– नेपालका राजनीतिक दलहरुले आम असन्तुष्टि र लोकप्रियतावादका विषयमा संवेदनशील हुने बेला आएको बताएका छन्।
देवदह प्रेस क्लबले आयोजना गरेको मिडिया फेस्टिबलमा शुक्रबार आम असन्तुष्टि र लोकप्रियताबादका विषयमा गरिएको वहसमा सहभागी राजनीतिक दलका नेताहरुले समयसापेक्ष रुपमा संवेदनशील हुनुपर्ने बताएका हुन्।
पूर्वमन्त्री एवं नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले पछिल्लो समय मुलुकमा केही छैन जसरी गरिएको प्रचारमा सत्यता नभएको बताए।
२०४८ सालयता भएका विकासका सूचकहरुको विश्लेषण गर्दा मुलुकमा धेरै काम भएको बताउँदै उनले आमरुपमा असन्तुष्टि हुनुपर्ने कुनै कारण नरहेको दावी गरे।
शहरमा भारतबाट आएकाहरुले रोजगारी पाइरहेको सन्दर्भ उल्लेख गर्दै युवाहरुलाई अभिभावकहरुले समेत विदेश पठाउन प्रोत्साहन गरेको विश्वकर्माको टिप्पणी छ।
उनले पछिल्ला दिनमा रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गरी गरिएको अनुसन्धानको विषयलाई विषयान्तर गर्ने गरिएको बताउँदै कांग्रेसका कोही नेताहरु भए कारवाहीको दायरामा ल्याउन समेत माग गरे।
यस्तै कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले सात दशकमा सात संविधान बनेको प्रसंग उल्लेख गर्दै जनतामा नेताको कार्यशैलीका कारण असन्तुष्टि पैदा भएको बताए।
उनले आफुहरु अहिलेको व्यवस्थाबाट राजनीतिमा आएको स्विकार गर्दै सरकारले नै लोकप्रियताका नाममा प्रतिशोध साँधेको आरोप लगाए। रास्वपाका सभापती रवि लामिछानेमाथि प्रतिशोध साँधिएको बताउँदै उनले सत्तामा रहेका दलका नेताहरुलाई बचाएको बताए।
‘हाम्रो सभापतीलाई कारवाही नगर्नुस् भनेको होइन,’ उनले भने, ‘यस्तै प्रकृतीका आफ्ना नेताहरुलाई बचाउनुभएन।’ उनले विगतको उदाहरण दिँदैमा नागरिकहरु सन्तुष्ट हुन नसक्ने तर्क समेत गरे।
अन्तरक्रियात्मक रुपमा गरिएको प्यानल छलफलमा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य रामकुमारी झाक्रीले दलहरुमा संरचनागत समस्याहरु रहेको बताउँदै आम असन्तुष्टिका विषयमा भने असमति प्रकट गरिन्। उनले अब ऐजेन्डाहरुमा आधारित रहेर सम्भावनाका बिषयमा छलफल गर्नुपर्ने बताउँदै नकरात्मक कुराहरुलाई प्राथिमकता दिन नहुने बताइन्।
‘गाउँमै बसेर पनि सिमि फलाउन सकिन्छ, यहाँ पनि सम्भावना छ भन्ने कुरा बुझाउनुप¥यो,’ पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले भनिन्, ‘मास फरस्टेशन छैन, यदि त्यसो हो भने माससुसाइड हुन्छ, त्यो अवस्था छैन।’
उनले नयाँ वा पूराना सबै राजनीतिक दलहरुले नकरात्मक विचार पैदा गरेर समाजलाई गलत रुपमा अगाडि बढाइरहेकाले त्यो सच्चाउनुपर्ने बेला आएको बताइन्।
छलफलमा आप्रवासन विज्ञ डा. मिना पौडेलले राजनीतिक दलहरुको अधुरा र अपुरा घोषणापत्र, प्रतिबद्धताले नागरिकमा निराशा छाएको बताउँदै यो मनोविज्ञानलाई बुझेर नयाँ ढंगले काम गर्न सुझाव दिइन्।
लेखक सिद्धिचरण भट्टराईले सहजीकरण गरेको कार्यक्रममा सहभागीहरुले समेत आम मानिसहरुमा राजनीतिक दलहरुको गतिविधि, बेरोजगारी समस्या, विदेश पलायनले युवाहरुमा छाएको निराशाले असन्तुष्टि पैदा गराएको बताएका थिए।
दोस्रो देवदह मिडिया फेस्टिवलका अवसरमा नेपाली मिडिया बढ्दो आर्थिक संकट घट्दो विश्वसनीयता, सरहनको सिमी, आध्यात्मिक पर्यटन र बृहत्त लुम्बिनी, विकासको बाटोमा देवदह कहाँ पुग्यो कहाँ चुक्यो र आम असन्तुष्टि र लोकप्रियतावाद शीर्षकमा प्यानल बहस गरिएको अध्यक्ष विष्णु पोखरेलले बताए।
बिहीबार र शुक्रबार भएको मिडिया फेस्टिबलको शुक्रबार समापन गरिएको हो।