काठमाडौँ- नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने फिल्म बनेको छ ‘पूर्ण बहादुरको सारङ्गी’। हलमा ५१ दिनसम्म थुप्रै रेकर्ड ब्रेक गरेको छ।
फिल्म अहिले पनि देशकै ठूला मल्टिप्लेक्स हल क्यूएफएक्स, आईएनआई, वान सिनेमाजसहित उपत्यकामा रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआरलगायतका हलमा प्रदर्शन भइरहेको छ।
सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्ममा गन्धर्व समुदायको कथा र छोराको सपना पूरा गर्न बाबुले गर्ने संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। जसले घरभित्रका दर्शकलाई हलसम्म तान्न सफल बनाएको हो।
महेश दवाडीले फिल्मको पटकथा तथा संवाद लेखेका हुन्। विशेषतः दर्शकले फिल्मको मुख्य पात्र पूर्णबहादुर अर्थात् अभिनेता विजय बरालको बढी प्रशंसा गरिरहेका छन्।
पूर्णे पात्रमार्फत दर्शकलाई भावनात्मक बनाउन निर्देशक पौडेल, मुख्य कलाकारलगायत सम्पूर्ण टिम सफल भएका छन्। फिल्ममा विजयसहित अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुतलगायत कलाकारको अभिनय छ। नेपाली फिल्मको ६ दशक लामो यात्रामा ‘पूर्ण बहादुरको सारङ्गी’ ले थुप्रै नयाँ रेकर्ड बनाएको छ।
अहिलेसम्म केके रेकर्ड बनायो त?
एकै दिन धेरै कमाउने
एकै दिनमा सबैभन्दा धेरै कमाउने पहिलो फिल्मको रेकर्ड तोडेको छ। फिल्मले प्रदर्शनको दोस्रो शनिबार देशैभरबाट ३ करोड ८९ लाख ग्रस कलेक्सन गरेको टिमको दाबी छ। यसलाई हालसम्मकै रेकर्ड ब्रेक भनिएको छ। यसअघि फिल्म ‘कबड्डी ४’ ले एकै दिनमा दुई करोड ९० लाख कमाएको थियो।
सर्वाधिक सो, सबै सोल्डआउट
प्रदर्शनको सुरुवातमा न्यून सो पाए पनि दर्शकको सकारात्मक प्रतिक्रिया र माउथ पब्लिसिटीसँगै फिल्मले प्रदर्शनको ५१ दिन मनाइसकेको छ। फिल्मले एकै दिन देशका ९८ हलमा ४ सय ६५ भन्दा बढी सो पाएको टिमले सार्वजनिक गरेको थियो।
सामाजिक सञ्जालमा आइरहेको दर्शकको पोस्टले फिल्मप्रति आकर्षित भए। हलमा बिस्तारै चाप बढ्यो। हलवालाले पनि सो थप्दै गए। फिल्मले गति लिन थालेपछि बिहान पौने पाँच बजेदेखि मध्यराति १२ बजेसम्मका देशैभरका हल हाउसफुल भए। कतिपय दर्शक टिकट नपाएर दिन कुरेरै फिल्म हेरे। यसले ‘बिहान फिल्म हेर्न दर्शक जाँदैनन्, अफ टाइममा हलले सो दियो’ भन्ने फिल्मकर्मीको भाष्यलाई पनि तोड्यो।
प्रदर्शनको पहिलो दिन देशैभरबाट १७ लाख कमाएको थियो। तेस्रो दिनको मध्यबाट दर्शकको साथ पाएको फिल्म एक करोड ३० लाखमा बनेको हो।
व्यापारमा हालसम्मकै उच्च
‘पूर्णबहादुरको सारङ्गी’ ले प्रदर्शनको १३ औं दिनमा २५ करोड कमाएको टिमको दाबी छ। यो हालसम्मकै उच्च रेकर्ड हो। यसअघि ‘कबड्डी ४ः द फाइनल म्याच’ २१ करोड ३८ लाख कमाएर सर्वाधिक कमाउने फिल्म बनेको थियो।
निर्देशक सरोज पौडेलका अनुसार फिल्मले हालसम्म ४९ करोड ६८ लाख ग्रस कलेक्सन गरिसकेको छ।
साथै फिल्मले ३० करोडमाथि कमाउने पहिलो फिल्मको रेकर्ड पनि बनाएको छ। फिल्मले प्रदर्शनको तेस्रो सातासम्म हलमा एकछत्र राज थियो। त्यसपछि भने नेपाली र हिन्दी फिल्ममा सो बाँडफाँट भयो।
धेरै हलमा ५१ दिन मनाउन सफल
फिल्मले गत पुस ५ मा प्रदर्शनको ५१ दिन मनायो। फिल्मले उपत्यका लगायतका ३८ हलमा ५१ दिन मनाएर थप रेकर्ड राखेको छ।
विदेशमा नयाँ रेकर्डः सातामा धेरै कमाउने, सर्वाधिक सो र ग्रस कलेक्सन
नेपालसहित विदेशमा पनि फिल्मले रेकर्ड कायम गरेको छ। फिल्मले विदेशबाट एक सातामा १० करोड कलेक्सन गरेको दाबी छ। यो हालसम्मकै उच्च हो।
त्यस्तै फिल्मले विश्व बजारमा सो संख्यामा रेकर्ड राखेको छ। नेपालमा उच्च सोसहित प्रदर्शन हुँदा विदेशमा पनि करिब ४ सय सो पाएको थियो।
नेपालसहित अस्ट्रेलिया, अमेरिका, जापान, क्यानडा, न्युजिल्यान्ड र मध्यपूर्वका देशमा फिल्मले राम्रो व्यापार गरेको छ। हालसम्म विदेशबाट ३५ करोड कलेक्सन गरिसकेको निर्देशक सरोज पौडेलले बताएका छन्।
कीर्तिमानी अभिनेता विजय बराल
विजय बराललाई फिल्मी कार्यक्रम रजतपट टिमले ‘कीर्तिमानी अभिनेता’ को रुपमा रजटपट सम्मान गरेको छ। कार्यक्रमका सञ्चालक प्रकाश सुवेदीले कीर्तिमानी अभिनेताका रूपमा विजयलाई सम्मान गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
फिल्मले एकपछि अर्को रेकर्ड ब्रेक गरिरहेको भन्दै मुख्य कलाकार बराललाई सम्मान गरेको उनले बताएका छन्। त्यस्तै दर्शक तथा फिल्मकर्मीबाट अभिनेता विजयले ‘नेचुरल स्टार’को उपनाम पाएका छन्।
फिल्मले बलिउडका प्रतीक्षित फिल्म ‘भुलभुलैया ३’ र ‘सिंघम अगेन’ लाई समेत हलबाट चाँडै उतार्न सफल भएको थियो। नेपाली फिल्मकै दबदबाका कारण हिन्दी फिल्म ‘कंगुवा’ नेपालमा प्रदर्शन भएन। नेपाली फिल्म ‘केटी हराएको सूचना’ पनि प्रदर्शन स्थगित भयो।
हलमा विदेशीलाई प्राथमिकता दियो भन्ने भनाइलाई पनि तोडेको छ। त्यस्तै छोटो समयकै धेरै ग्रस कलेक्सन गर्ने फिल्म बनेको छ। गत वर्ष ‘जारी’ र ‘दिमाग खराब’ ले हलमा एक सय दिन पूरा गर्न सफल भए पनि अन्य फिल्मको रेकर्ड ब्रेक गर्न सकेका थिएनन्।
निर्देशक प्रदीप भट्टराईले ‘पूर्णबहादुरको सारङ्गी’ले घरभित्र बसेका दर्शकलाई तानेर हलसम्म पुर्याउन सफल भएको बताए। नेपाली फिल्मलाई माया गर्ने दर्शकको क्रेज हेर्न ‘पूर्णबहादुरको सारङ्गी’जस्तै फिल्म हरेक महिना हलमा लाग्नुपर्ने उनी बताउँछन्।
फिल्म समीक्षक सामीप्यराज तिमल्सिनाले ‘पूर्णबहादुरको सारङ्गी’को सफलताले हिजो फिल्म बनाउन खास टाउको चाहिन्छ भन्ने निर्मातालाई कथा महत्त्वपूर्ण हो कि भन्ने आत्मविश्वास आएको बताएका छन्। ‘पूर्णबहादुर सारङ्गी’ को कथा र कथ्य शैली पुरानै भए पनि अहिले दर्शकले आफूसँग ‘कनेक्ट’ गरेकाले बक्स अफिसमा नयाँ रेकर्ड बनाइरहेको उनी बताउँछन्।
‘पूर्णबहादुरको सारङ्गीमा गन्धर्वको कथा प्रतिनिधिमूलक भयो तर त्यसको संघर्षले हामी सबैलाई कनेक्ट गरायो,’ उनी भन्छन्, ‘यो कुनै नयाँ धार, शिल्प, कौशलसहित आएको फिल्म होइन। नेपाली फिल्मले वर्षौँदेखि अभ्यास गरिरहेको दुःख बेच्ने शृंखलाको निरन्तरता हो।’