
जनकपुरधाम- नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमै जनकपुर बोल्ट्सले उपाधि चुमेपछि मधेशभर उत्साह छाएको छ। आठवटै जिल्लामा विजयोत्सव निकाल्ने तयारी छ। शुक्रबार जनकपुरधाममा जनकपुर बोल्ट्स टिमले विजयोत्सव निकालेको छ। विजयोत्सवमा उत्साहपूर्ण सहभागिता देखियो।
विजयोत्सवमा जनकपुर बोल्ट्सका समर्थक र मधेशवासीलाई यो गौरवको क्षण प्रदान गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गरे जनकपुर बोल्ट्सका कप्तान अनिल साहले। मार्की खेलाडीका रूपमा टिममा आसिफ सेख हुँदाहुँदै अनिललाई टिमको नेतृत्व गर्ने जिम्मा पाउँदा खुसीसँगै चुनौतीको मिश्रित भाव थियो, अनिलमा।
धेरैले अन्तिम समयमा कप्तानी दिइएको टिप्पणी गरिरहे पनि उनको भनाइमा टिम व्यवस्थापनले यो निर्णय अगाडि नै गरिसकेको थियो। टिमलाई जसरी पनि जितसम्म पुर्याउने लक्ष्य लिएका अनिलले हरेक निर्णयमा आसिफलाई सहभागी गराए। मैदानमा हुँदा बलर ‘रोटेट’ गर्ने निर्णय होस् वा क्षेत्ररक्षणका लागि फिल्डरको स्थान तय गर्ने, अनिलले हरेक निर्णयमा आसिफलाई सहभागी गराए।
आसिफले सँगालेको अनुभव र सुझावका साथै गल्ली क्रिकेट खेल्दा नेतृत्व गरेको अनुभव एनपीएल प्रतियोगितामा प्रयिग गर्दा सुखद परिणाम आएको अनिल बताउँछन्। अनिलले आफ्नो टिम जनकपुर बोल्ट्सलाई दिलाएको सफलतापछि उनका परिवार खुसी छन् नै, समग्र क्रिकेटप्रेमी, मधेशवासी र नेपाली क्रिकेट उत्साहित बनेको छ।
चोटका कारण प्लेअफ र फाइनल खेल गुमाउनुपर्दा अनिल दुःखी छन्। टिमका सबै खेलाडीले देखाएको उत्साह र एकजुटताका कारण उपाधि जितेर इतिहास रच्न सफल भएको उनको भनाइ छ। ‘टिमका प्रत्येक खेलाडीले आफ्नो भूमिका सही तरिकाले निर्वाह गर्दा उपाधी जित्न सफल भयौँ। अहिले म एकदमै उत्साहित छु, मेरो उत्साहलाई शब्दमा वर्णन गर्न सक्दिनँ,’ अनिल भन्छन्।
बाराको कलैयामा जन्मिएका अनिलका लागि क्रिकेटमा करियर बनाउन त्यति सहज थिएन। घरमा आमाबुवा अनिल क्रिकेटर बनोस् भनेर चाहेका थिएनन्। उनी भन्छन्, ‘मेरो आमाबुबा म क्रिकेटर बनुँ भनेर चाहनु भएको थिएन। मैले उहाँहरूलाई कन्भिन्स गर्नुपर्यो।’
स्कुलबाट वा घर पछाडिकै क्रिकेट मैदानमा क्रिकेट खेलेर घर पुग्दा पहिला कुटाइ अनिमात्रै भात खान पाउँथे अनिल। कक्षा तीनमा हुँदा उनले पहिलो पटक क्रिकेटको ब्याट समाएका थिए। सानै उमेरदेखि उनले क्रिकेट खेल्न सुरु गरे।
उनले भने, ‘बच्चा छँदै घरपछाडि मेरा सिनियरहरु क्रिकेट खेल्थे, म टुलुटुलु हेर्न मात्र पाउँथेँ।’ तर पढाइको सिलसिलामा मकवानपुर पुगेपछि उनले खुलेर क्रिकेट खेल्ने मौका पाए। स्कुलमै उनी क्रिकेट खेल्थे। त्यहीँ अण्डर १६ को छनौटका लागि क्रिकेट चलिरहेको थियो। जिल्लाको अण्डर १६ का लागि छनौट खेलमा राम्रो प्रदर्शन गरेपछि उनी अण्डर १६ टिममा परे।
सन् २०१६ मा उनी पहिलोपटक नेपालको अण्डर १९ टिममा परे। अनि मात्रै घरका सदस्यहरुले गौरवको अनुभूति गरेको अनिल सम्झन्छन्। सन् २०१७ को अण्डर १९ एशिया कपमा नेपाल अफगानिस्तानविरुद्ध १ सय ३ रनमै सीमित भएको थियो। नेपाली टिमको यो कमजोर प्रदर्शनमा समेत अनिलले ५० रनको योगदान गरेका थिए।
तर उनको क्रिकेटले त्यति बेला उचाई पायो जब अनिलले विभागीय टिम छोडेर मधेश प्रदेशबाट क्रिकेट खेल्ने निर्णय गरे। सन् २०२१ को सप्तरी प्रिमियर लिगमा उनले लगातार दुई शतक प्रहार गरे। सन् २०२४ को प्रधानमन्त्री कपमा उनले मधेश प्रदेशबाट खेल्दै सर्वाधिक ३८६ रनको योगदान गरे। यो प्रतियोगिताकै तयारीका लागि ट्रेनिङ गर्न अनिल भारत पुगेका थिए।
उमेर समूह र फ्रेन्चाइज क्रिकेटमा राम्रो प्रभाव छोडेपछि मात्रै उनी सन् २०१८ मा आईसीसी क्रिकेट लिग डिभिजन–टु खेलेको टिममा परे। अनिलले सो वर्ष केन्याविरुद्ध नेपाली क्रिकेटमा डेब्यु गरे। त्यसपछि उनी विश्वकप छनोट खेल्न जिम्बाब्वे गए। नेदरल्यान्ड्सविरुद्धको पहिलो वानडेमा उनले ३२ बलमा तीन चौका सहित २१ रन बनाए। लगत्तै अर्को खेलमा चार रनको मात्र योगदान दिए। नेपाली टिमका लागि उनको प्रदर्शन खराब रह्यो।
नेदरल्यान्ड्सविरुद्ध नै सन् २०१८ मै नेपालका लागि ट्वान्टी ट्वान्टी क्रिकेट पनि खेले। नेदरल्यान्ड्स भ्रमणपछि उनी नेपाली टिमबाट बाहिर रहे। त्यसपछि टिममा फर्कन उनले धेरै नै संघर्ष गर्नु पर्यो। सन् २०२४ को प्रधानमन्त्री कपमा राम्रो खेलेपछि उनी प्रशिक्षक मोन्टी देसाईको नजरमा परे। त्यसपछि मात्रै नेपाली क्रिकेटमा निरन्तर स्थान पाउन थाले। प्रशिक्षक मोन्टी देसाईको यो निर्णयलाई उनले गलत हुन दिएनन्।