प्रदेशको समृद्धिका लागि कर्णाली र लुम्बिनी सरकारबीच साझा प्रतिबद्धता

हिमाल प्रेस १२ पुष २०८१ १६:५३
40
SHARES
प्रदेशको समृद्धिका लागि कर्णाली र लुम्बिनी सरकारबीच साझा प्रतिबद्धता कर्णाली र लुम्बिनी प्रदेश सरकारबीच सहकार्य गर्ने समझदारीपत्रमा शुक्रबार सुर्खेतमा हस्ताक्षर गर्दै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल। तस्बिर : हिमालप्रेस

सुर्खेत– प्रदेशको विकास र समृद्धिका लागि कर्णाली र लुम्बिनी प्रदेश सरकारबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। कर्णाली सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको छलफलपछि अन्तर प्रदेश विकास र समृद्धिका लागि १९ बुँदे साझा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले हस्ताक्षर गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्मअनुरुप सहअस्तित्व, समन्वय र पारस्परिक सहयोगको सिद्धान्तलाई आत्मसात् गर्दै दुई कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको समग्र विकासका लागि कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबीच समझदारी भएको जनाइएको छ।

दुई प्रदेशबीच प्रदेशबाट तर्जुमा हुने र भएका कानुनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एकरूपता कायम गर्ने प्रतिबद्धतामा उल्लेख छ। प्रदेश कानुनबमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट संकलन  हुने रोयल्टी बाँडफाँटका विषयमा सामञ्‍जस्यता कायम गर्ने विषयमा दुई मुख्यमन्त्रीले प्रतिबद्धता जनाएका छन्।

साथै राष्‍ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्‍न गर्न दुवै प्रदेश सरकारका तर्फबाट नेपाल सरकारसमक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजना सम्बद्ध सवालहरूमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ। जमुनाह-हिल्सा सडक, सुर्खेत-तेलपानी-भुरीगाउँ सडक, राप्‍ती लोकमार्ग निर्माण, कोहलपुर-सुर्खेत सडक विस्तार, कोहलपुर-बबई तथा बबईष्छिन्चु सुरुङमार्ग सम्भाव्यता अध्ययनका विषयमा नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गरिने जनाइएको छ।

लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने, भैरहवा-सुर्खेत हवाई सेवा सञ्‍चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने, कोहलपुर-सुर्खेत १३२ केभीए प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने विषयमा पनि दुई सरकारबीच सहमति भएको छ।

दुवै प्रदेशको बृहत्तर हित गर्ने सहलगानीमा सञ्‍चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्ने, विपद् व्यवस्थापनका लागि साझेदारी, सहकार्य र समन्वयात्मक ढंगबाट कार्य गर्ने, लागूऔषध ओसारपसार प्रभावकारी रूपमा नियन्त्रण र रोकथामका लागि सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रम सञ्‍चालन गर्ने साझा प्रतिबद्धतामा उल्लेख छ।

लुम्बिनीमा आउने धार्मिक पर्यटकलाई कर्णालीको साहसिक पर्यटकीय गन्तव्यसम्म जोड्ने गरी एकीकृत पर्यटन मार्ग निर्माण गर्न गुरुयोजना तयारी र लगानीमा सहकार्य गर्ने, दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणको लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्ने, दुवै प्रदेशको सीमानामा रहेका नदीनालामा जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, खानेपानी तथा सिँचाइ संरचना निर्माण गर्दा समन्वय र सहकार्य गर्न दुवै प्रदेश सरकार सहमत भएका छन्।

प्रदेशका सीमा क्षेत्र नजिकका सडक, पुल जस्ता पूर्वाधारहरूको निर्माणमा सहलगानी तथा साझेदारी गर्न, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका-१ र सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका-५ को साँध सिमानाको विवाद प्रचलित कानुन र प्रमाणका आधारमा समाधान गर्न नेपाल सरकारसमक्ष अनुरोध गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ।

दुवै प्रदेशमा सञ्‍चालन हुने सार्वजनिक सवारीको यात्रु भाडादर संयुक्त रुपमा निर्धारण गर्ने र सडक यातायात दुर्घटना जोखिम न्यूनीकरणका लागि सवारी गति नियन्त्रण र मादक पदार्थ सेवनको जाँच, चालक प्रशिक्षण, अनुगमन तथा निरीक्षण लगायतका कार्यक्रम सञ्‍चालन गर्न दुवै प्रदेश सहमत भएका छन्।

कर्णाली प्रदेशको फलफूल, जडीबुटी, अर्गानिक तरकारी र अन्य उत्पादनलाई लुम्बिनी प्रदेशका मुख्य बजार केन्द्रहरूसम्मको पहुँच एवम् लुम्बिनी प्रदेशको खाद्यान्‍न लगायतका कृषि उत्पादनको प्रवर्द्धन गर्दै कर्णाली प्रदेशका बजार केन्द्रहरूसम्मको पहुँच बढाउन तथा बजार पूर्वाधार तयार गर्न समन्वय र सहकार्य गर्ने तथा दुवै प्रदेशको विकास, समृद्धि र सुशासन प्रवर्द्धनको लागि सूचना प्रविधिको माध्यमबाट सेवाप्रवाह प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने प्रतिबद्धतामा उल्लेख छ।

दुवै प्रदेशको साझा सहकार्य, समन्वय र साझेदारी प्रवर्द्धन गर्न समन्वयात्मक बैठकलाई निरन्तरता दिँदै आगामी बैठक लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने दुई मुख्यमन्त्रीले हस्ताक्षर गरेको प्रतिबद्धतापत्रमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast