मनमोहन सिंहका यी निर्णयले बदलियो भारतीय अर्थतन्त्र

हिमाल प्रेस १२ पुष २०८१ ११:३६
58
SHARES
मनमोहन सिंहका यी निर्णयले बदलियो भारतीय अर्थतन्त्र फाइल तस्बिर

काठमाडौँ- भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएको छ। सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्री रहेका सिंह त्यसअघि भारतको अर्थमन्त्रीको भूमिकामा  थिए। उनी अर्थमन्त्री हुँदा भारतीय अर्थतन्त्र कमजोर अवस्थामा थियो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार त्यहाँबाट उनले भारतलाई संसारकै पाँच ठूला अर्थतन्त्रमध्ये एक बनाउने यात्रा थालनी गरे। उनले आफ्ना निर्णयलाई प्रधानमन्त्री रहँदासम्म जारी राखे। सोही कारण भारत समृद्धिको बाटोमा लागेको दाबी भारतीय सञ्चारमाध्यमहरूले गरेका छन्।

सन् १९९१ मा भारत सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको थियो। विदेशी मुद्रा सञ्चिति केही साताको आयात पूरा गर्नसमेत पर्याप्त थिएन। जुन १९९१ मा पीभी नरसिंह राव भारतका प्रधानमन्त्री बने। उनले मनमोहन सिंहलाई आफ्नो अर्थमन्त्रीका रूपमा नियुक्त गर्दै संकटग्रस्त भारतीय अर्थतन्त्रलाई सुधार्ने जिम्मेवारी दिएका थिए।

मन्त्रिपरिषद्ले शपथ लिएको एक महिनापछि मनमोहन सिंहले पहिलो बजेट पेस गरे। संसद्‌मा दिएको भाषणमा उनले फ्रान्सेली लेखक र राजनीतिज्ञ भिक्टर ह्युगोलाई उद्धृत गर्दै भनेका थिए, ‘त्यो विचार जसको समय आइसकेको छ, कुनै शक्ति रोक्न सक्दैन।’ यस भाषणले भारतलाई समाजवाद र संरक्षणवादबाट बजारमा आधारित उदारीकरणतर्फ डोर्‍यायो।

सिंहले १९९१ मा रुपैयाँको मूल्य घटाउने साहसिक निर्णय गरे। यो निर्णय विवादास्पद थियो तर यसले निर्यात वृद्धि गर्‍यो। विदेशी लगानी भित्र्यायो र विदेशी मुद्रा सञ्चिति बलियो बनायो। सिंहको नेतृत्वमा भारतले नयाँ आर्थिक दृष्टिकोण अपनाएको थियो।

प्रधानमन्त्रीको भूमिकामा रहँदा सिंहले भ्याट (मूल्य अभिवृद्धि कर) लागू गरे। यसले कर प्रणालीलाई सरल बनायो। राज्यहरूमा रहेका फरकफरक करको समस्यालाई अन्त्य गर्‍यो।

डा. सिंहले अमेरिकासँग सन् २००८ मा ऐतिहासिक परमाणु सम्झौता गरेका थिए। यसले भारतलाई परमाणु ऊर्जा र प्रविधि प्राप्त गर्न सक्षम बनायो। सम्झौता देशको बढ्दो ऊर्जा आवश्यकता पूरा गर्न महत्त्वपूर्ण साबित भयो।

सिंहले लागू गरेको अर्को योजना हो, मनरेगा (महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी योजना), जसले ग्रामीण क्षेत्रमा रोजगारको ग्यारेन्टी प्रदान गर्‍यो। योजनाले आर्थिक रूपले कमजोर वर्गका मानिसहरूलाई आयको स्रोत उपलब्ध गराउँदै ग्रामीण विकासमा योगदान पुर्‍यायो।

डा. सिंहले बैंकिङ क्षेत्रमा ठूलो सुधार गरे। ग्रामीण क्षेत्रमा बैंकहरू स्थापना गरिए र डिजिटल बैंकिङको सुरुवात भयो। यसले गरिब वर्गले पनि बैंकिङ सेवाको फाइदा लिन सक्ने वातावरण तयार गर्‍यो।

उनले सहरी विकासका लागि जवाहरलाल नेहरू राष्ट्रिय सहरी पुनर्नवीकरण मिसनको थालनी गरे। देशभरि सडक र राजमार्गहरू सुधार योजनालाई पनि अघि बढाए। यी कदमहरूले भारतको पूर्वाधार विकासलाई तीव्र गति दिए।

मनमोहन सिंहले भारतको सार्वजनिक सेवामा चार दशक बिताएका थिए। यस क्रममा उनले केन्द्रीय बैंक गभर्नर, अर्थमन्त्री र प्रधानमन्त्रीका रूपमा कार्य गर्ने अवसर पाएका थिए।

सिंहको जन्म १९३२ मा पाकिस्तानको गाह गाउँमा भएको थियो। अंग्रेजबाट भारत स्वतन्त्र भएपछि उनको परिवार भारतको अमृतसर (पन्जाब) सरेको थियो। उनले क्याम्ब्रिज विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए। भने अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिएका थिए।

विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापकका रूपमा कार्य गरेका उनले संयुक्त राष्ट्रसंघका निकायमा रहेर पनि काम गरेका थिए। सिंह १९६९ मा भारत फर्केपछि प्रसिद्ध अर्थशास्त्रीका रूपमा परिचित भइसकेका थिए। त्यसपछि उनी भारतका महत्त्वपूर्ण पदमा रहेर सेवा गर्न थालेका थिए।

सिंह सन् २००४ मा भारतीय राष्ट्रिय कांग्रसका तर्फबाट संसदीय चुनावमा निर्वाचित भएका थिए। शक्तिशाली कांग्रस नेता सोनिया गान्धी प्रधानमन्त्री बन्ने तयारीमा थिइन्। इटालीमा जन्मिएकी सोनिया गान्धीले राजनीतिक विरोधको सामना गर्दै मनमोहन सिंहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेकी थिइन्।

मनमोहन सिंहको कार्यकालमा उनले विश्वभरिका विभिन्न नेताहरूसँग काम गरे। एक हुन् अमेरिकी राष्ट्रपति बाराक ओबामा। उनले आफ्नो पुस्तक ‘ए प्रोमिस्ड ल्यान्ड’ मनमोहन सिंहलाई ‘असामान्य बुद्धिमत्ता र शालीनता व्यक्ति’ भनेर प्रशंसा गरेका छन्।

 

प्रकाशित: १२ पुष २०८१ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast