नारायणगढ (चितवन)- महको बजारीकरणसँगै यसको फाइदाको जानकारी दिने उद्देश्यले आज (बिहीबार) देखि चितवनको सौराहमा ‘प्रथम मह उत्सव २०८१’ सुरु भएको छ। आज (बिहीबार) देखि सुरु १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ स्थलसँगै मह उत्सव पनि सुरु भएको हो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवन तथा जोन सञ्चालक समन्वय समिति, मौरी जोन चितवनले आयोजना गरेको मह उत्सव पुस १५ गतेसम्म चल्नेछ।
परियोजनाका मौरीजोन अधिकृत रविकिरण अधिकारीले महोत्सवमा आगन्तुकलाई मह चखाउँदै र नेपालमा उत्पादित महबारे जानकारी गराउँदै आएको बताए।
परियोजनाले मौरी जोनअन्तर्गतका मौरीपालक किसान उद्यमीलाई प्रवर्द्धन गर्ने उद्देश्यले बजारीकरण, प्याकेजिङ, लेबलिङमा सहयोग गर्न गर्दै आएको छ। ‘स्वादमा मिठास स्वदेशी महमा विश्वास’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो।
उक्त अवसरमा मौरीपालनको क्षेत्रमा विशेष योगदान पुर्याउनेलाई सम्मान गर्ने, उत्कृष्ट प्रदर्शनी कक्षलाई पुरस्कार तथा मौरीपालन र प्रशोधनसम्बन्धी परिसंवाद कार्यक्रम सञ्चालन गरिने परियोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए।
नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानलाई उत्साहा थप्नेमा विश्वास व्यक्त गरे।