काठमाडौँ– नेपाल मेडिकल व्यवसायी संघ (नेमो) ले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने वाहानामा लगाइएको सिण्डिकेट अन्त्य गर्न सरकारसँग माग गरेको छ।
बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेमोका अध्यक्ष तारानाथ अर्यालले मलेसियास्थित बेस्टिनेट एसडीएन बीएचडीसँगको सम्झौता तोडिएपछि मलेसिया रोजगारीमा जाने कामदारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मान्यता दिएको जुनसुकै मेडिकल संस्थाबाट मेडिकल गर्न पाउने बताए।
मलेसिया सरकारले विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) अन्त्य भएको नेपाललाई एक महिनाअघि इमेलमार्फत जानकारी गराएको थियो।
यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अहिलेसम्म केही जवाफ नदिएको उनको आरोप छ। सिन्डिकेटका कारण नेपालीको पैसा बाहिरिने र मेडिकल व्यवसायी विस्थापित हुने अवस्था सिर्जना भइरहेको उनले बताए।
‘नेपाल स्वास्थ्य मेडिकल महासंघका अध्यक्ष बनेका कैलाश खड्का पुनः सिन्डिकेट ब्युँताउन चलखेल गरिरहेका छन्। यसमा उनलाई सरकारमै सहभागी मन्त्रीले सहयोग दिएका छन्। सरकारले सिण्डिकेट अन्त्य हुनुपर्छ। नत्र मलेसिया जाने कामदारमाथि आर्थिक भार पनि थपिन्छ,’ उनले भने।
यस्तै, संघका महासचिव कृष्ण बजगाईँका अनुुसार मलेसिया सरकारले स्रोत देशकै मान्यता प्राप्त देशबाट स्वास्थ्य परीक्षण गर्ने भनिए पनि यहाँ पैसा र शक्तिको आडमा फेरी ब्युताउने खेल भइरहेको जिकिर गरे।
मलेसिया सरकार र नेपालबीच भएको श्रम सम्झौताका आधारमा मलेसियाको सिन्डिकेट अन्त्य हुनुपर्ने उनको माग छ।
अहिले फेरि सिन्डिकेट ब्युताए मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण लागत खर्च १० हजार पुर्याउने चलखेल भइरहेको संघको आरोप छ।