काठमाडौँ- सरकारले गत वर्ष साउदी अरेबियासँग श्रम सम्झौता गर्ने तयारी गरेको थियो। गत वर्ष माघमा यूएईको ‘अबुधाबी डायलग’ मा सहभागी हुन पुगेका नेपाली अधिकारीहरू र साउदीका श्रम अधिकारीहरूको ‘साइडलाइन’ बैठकमा साउदीसँग एक महिनाभित्रै श्रम सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको थियो।
साइडलाइन बैठकमा दुवै देशका प्रतिनिधिहरूले एक महिनाभित्र श्रम सम्झौताका लागि मिति तय गर्ने घोषणा गरेका थिए। अहिलेसम्म सम्झौता भने हुन सकेन। साउदीसँग सम्झौता हुन नसकेको यो पहिलोपटक होइन। नौ वर्षदेखि नेपाल साउदीसँग श्रम समझदारी गर्ने प्रयासमा भए पनि सफल भएको छैन। साउदीसँग २०७२ सालदेखि नेपालले श्रम सम्झौताका लागि पाँच पटक मस्यौदा पठाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीहरू नेपालको प्रस्ताव साउदीले नमान्दा श्रम सम्झौता हुन नसकेको बताउँछन्।
साउदीले कामदार आपूर्ति गर्ने विषयमा नेपालले गरेका थुप्रै प्रस्ताव स्वीकार नगर्दा सहमति जुट्न नसकेको उनीहरूको भनाइ छ। नेपाली पक्षले श्रमिकको हित सुनिश्चित हुने गरी श्रम समझदारी हुनुपर्ने अडानसहितको प्रस्ताव गरेपछि साउदीले सम्झौता टार्दै आएको छ।
नेपालले साउदी रोजगारीमा जाने कामदारको अधिकारमा काम गरिरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले श्रमिक भर्ना प्रक्रियामा स्वच्छताको सुनिश्चितता गर्नुपर्ने प्रस्ताव गरेको छ। प्रस्तावमा साउदी सकारात्मक देखिएको छैन। श्रम मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘आईएलओले न्यायोचित भर्ना प्रक्रिया हुनुपर्ने विषय उठाइरहेको छ। आईएलओसँग जोडेर श्रम सम्झौता गर्ने पक्षमा साउदी देखिएको छैन।’ ती कर्मचारीका अनुसार श्रम सम्झौता नगरे पनि लामो समयदेखि ठूलो संख्यामा साउदीमा नेपाली कामदार गइरहेका छन्। जसका कारण पनि साउदीले श्रम सम्झौता गर्न हतार नगरेको ती अधिकारीले बताए।
‘श्रम सम्झौता गरेपछि घरेलु रोजगारीमा महिला कामदार पठाउनुपर्ने साउदीको प्रस्ताव छ। नेपालले घरेलु रोजगारीका लागि बेग्लै श्रम सम्झौता गर्नुपर्ने प्रस्ताव र अडान राखेपछि साउदी श्रम सम्झौतामा सकारात्मक नदेखिएको हो’, ती अधिकारीले भने।
साउदीले सीधै घरेलु रोजगारीमा महिला कामदार पठाउन प्रस्ताव गर्दै आएको छ। नेपालले बेग्लै श्रम सम्झौता गरेर मात्र महिला कामदार पठाउन सकिने अडान राख्दै आएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता वसन्तबहादुर बोहरा यूएईको ‘आबुधाबी डायलग’मा भएको सहमतिका आधारमा श्रम सम्झौता गर्न नसकिएको बताउँछन्।
उनका अनुसार नेपालले प्रस्तावित श्रम सम्झौतामा ‘स्वच्छ भर्ना प्रणाली’ सहित सामाजिक सुरक्षा, कार्य घण्टा, २४ घण्टे बिमा, रोजगार बिमा र पेसागत स्वास्थ्य सुरक्षाका विषय राखेको छ। बोहराले यी विषयमा सम्बोधन गर्न आग्रहसमेत गरिएको बताए। ‘रोजगारीका अवसरमा महिलाको सहभागिता सुनिश्चित गर्न हस्पिटालिटी, केयर गिभर, हेल्थ वर्कफेस लगायतका क्षेत्रमा सुरक्षित र सम्मानित अवसर दिन नेपालले प्रस्ताव गरेको छ। यसैका आधारमा श्रम सम्झौता हुनुपर्ने नेपालको अडान छ’, उनले भने।
साउदीमा विभिन्न कारणले मृत्यु भएका नेपाली कामदारको शव छिट्टै नेपालसम्म पठाउन सहजीकरण र यसको ग्यारेन्टी पनि श्रम सम्झौतामा हुनुपर्ने नेपाली पक्षको माग छ। मलेसिया, कतार, यूएईपछि नेपाली कामदारको रोजाइमा साउदी अरब पर्छ। साउदीमा साढे चार लाखभन्दा बढी नेपाली कार्यरत छन्। साउदी रोजगारीका लागि वार्षिक एक लाख २० हजारभन्दा बढी कामदार जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। साउदी नेपाली श्रमिकहरूको आकर्षक रोजगार गन्तव्य देश भए पनि श्रम सम्झौता हुन सकेको छैन।
वैदेशिक रोजगारीमा साउदी पुगेका कामदार श्रम शोषणमा पर्ने गरेका छन्। साउदीमा नेपाली कामदारले मानसिक तथा आर्थिक शोषणको सिकार बन्नुपर्ने बाध्यता छ। साउदीमा कार्यरत नेपाली कामदारले करार सम्झौताअनुसार सेवासुविधा, काम र पारिश्रमिक नपाउने समस्या भोग्दै आएका छन्।