नेपालमै विदेशी डिग्री, घटेनन् बिदेसिने विद्यार्थी

रमेश दवाडी ११ पुष २०८१ १२:२२
168
SHARES
नेपालमै विदेशी डिग्री, घटेनन् बिदेसिने विद्यार्थी

काठमाडौँ- नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भनेर विश्वका विभिन्न मुलुक पुग्छन्। उच्च शिक्षाकै लागि बर्सेनि हजारौँ विद्यार्थी मात्र होइन खर्बौँ रुपैयाँ पनि बाहिरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १ लाख १२ हजार विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र (एनओसी) लिएका छन्। सोही आर्थिक वर्षमा उच्च शिक्षामा १ खर्ब २५ अर्ब बढी रकम बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ।

पछिल्लो समयमा भने उच्च शिक्षाका लागि विद्यार्थी विदेश जानै नपर्ने गरी नेपालमै विदेशी विद्यालयका पाठ्यक्रम पढाइ भइरहेका छन्। यस्ता ५९ कलेजले विदेशी विश्वविद्यालयको डिग्री दिइरहेको शिक्षा मन्त्रालयको तथ्यांक छ। थापागाउँमा रहेको प्रेसिडेन्टियल बिजनेस स्कुल, बागबजारको मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), थापाथली र ललितपुरको चाकुपाटस्थित द ब्रिटिस मोडेल कलेज, चाबहिलस्थित टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी हुन्। यीबाहेक ५५ वटा कलेजले पनि विदेशी विश्वद्यालयकै डिग्री दिइरहेका छन्। धेरैवटा कलेजले विदेशी विश्वविद्यालयका डिग्री स्वदेशमै उपलब्ध गराए पनि अभिभावक र विद्यार्थीमा विदेश मोह बढिरहेको जानकारहरू बताउँछन्।

प्रेसिडेन्टियल बिजनेस स्कुलले अमेरिकाको क्यालिफोर्नियामा रहेको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन लिएको छ। कलेजले बीबीए, एमबीए, एमबीएआईटी, एमबीए डाटा एनलाईटीक्स, एमबीए फाइनान्स एन्ड  इकोनोमिक्स, बीएससीआईटी, एमएससीआईटी, बीएससीआईटी साईबर सेक्युरिटी, बीएससीआईटी सफ्टवेयर एन्ड वेब डेभलपमेन्ट कार्यक्रम सञ्चालन गरेको छ।

प्रेसिडेन्टियल कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख सुशान्त त्रिपाठी कलेजले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर समयोचित शिक्षा प्रदान गराउँदै आएको बताउँछन्। उनी भन्छन्, ‘प्रेसिडेन्टियलले अहिले मात्रै होइन भविष्यका लागि के कस्तो शिक्षा चाहिन्छ त्यो दिँदै आइरहेको छ।’

प्रेसिडेन्टियलमा बीबीए अध्ययनका लागि १२ कक्षामा ५० प्रतिशत प्राप्तांक ल्याएको हुनुपर्छ। प्रवेश परीक्षा र अन्तर्वार्तामा उत्तीर्ण हुनैपर्छ। चारचार महिनाको सेमेस्टर प्रणालीमा पढाइ हुन्छ। उक्त विश्वविद्यालयअन्तर्गतको चारबर्से बीएससीआईटी कोर्सका लागि विश्वविद्यालयलाई दुई हजार तीन सय डलर तिर्नुपर्ने कलेजले जनाएको छ। सो शुल्कसहित विद्यार्थीले चार वर्षकै लागि कलेज शुल्क ११ लाख ५७ हजार तिर्नुपर्छ। एमबीएको दुईबर्से कोर्स प्रेसिडेन्टियलमा छ। यस तहमा पनि अध्ययनका लागि स्नातकमा ५० प्रतिशत ल्याउनैपर्ने, कलेजले लिने प्रवेश परीक्षा र अन्तर्वार्ता दुबै उत्तीर्ण गर्नुपर्छ। स्नातकोत्तर कार्यक्रमका लागि नेपाली ८ लाख रुपैयाँ शुल्क लाग्छ।

बागबजारको एमआईटी इन्टरनेसनल अमेरिकन विश्वविद्यालय, लसऐन्जलसबाट सम्बन्धन प्राप्त कलेज हो। यहाँ बीबीए, एमबीए, बीआईटीका कार्यक्रम सञ्चालित छन्। एमआईटी काठमाडौँ मोडल कलेज (केएमसी) को छाता संस्था हो। केएमसीअन्तर्गत ९/१० वटा संस्था छन्। एमआईटीका कोफाउन्डर (सहसंस्थापक) आरके दाहाल कक्षा ११ र १२ उत्तीर्णपछि धेरै विद्यार्थीको चाहना विदेश रहेको  बुझेर विदेशी डिग्री स्वदेशमै दिन सुरु गरिएको बताउँछन्।

एमआईटीले अमेरिकाको क्यालिफोर्निया, लसएन्जलर्स विश्वविद्यालको बीआईटी, बीबीए, एमबीएका कोर्सहरू पढाउँछ। दाहाल भन्छन्, ‘१०० प्रतिशत त्यही पाठ्यक्रम हो। क्यालेन्डर तय गरेर पढाएका हुन्छौँ। १० देखि ११ लाखमा स्नातकका कोर्स पढाएका छौँ।’ बीआईटी कोर्सका लागि अमेरिकन विश्वविद्यालयको इन्ट्री काइटेरिया खुला हुन्छ। मानविकी, समाजविज्ञान, व्यवस्थापन, विज्ञान पृष्ठभूमि ११, १२ मा जुनसुकै विषय पढेर पास गरेको भए पनि बीआईटी पढ्न पाइन्छ।

हरेक विषयमा सी ग्रेड ल्याएर एभरेजमा २ जीपीए ल्याउँदा एमआईटीमा पढ्न पाइन्छ। दाहाल भन्छन्, ‘तर डकुमेन्टेसन पूरा गर्नुपर्छ। १२ मा अंग्रेजी माध्यममा पढेको प्रमाणित गर्नुपर्छ। त्यसको आधार चाहिन्छ।’ उनका अनुसार बीआईटी चारबर्से कोर्स हो। बीआईटीका लागि ११ लाख लाग्छ। बीबीएका लागि ९ लाख, एमबीएका लागि ७ लाख लाग्छ। एमबीए पढ्नका लागि पनि स्नातक क्लिअर गरेको हुनुपर्छ। ३ जीपीए ल्याउनैपर्छ। दुईबर्से कोर्स लागि ६ लाख ७५ हजार शुल्क छ।

चाबहिलस्थित टेक्सास इन्टरनेशनल कलेजले बीबीएम, बीएस्सी सीएसआईटी र बीसीए पढाउँछ। टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीले बीबीए, बीएचएम, बीआईटी, बीसीएस पढाउँछ। चारबर्से बीबीए कोर्सका लागि ८ लाख ५० हजार शुल्क छ। टेक्सासले मलेसियाको लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिएको छ। टेक्सासले सीपमा आधारित शिक्षा दिँदै आएको छ। ५० प्रतिशत कोर्स पढेपछि विद्यार्थीले इन्टनसीपसँगै जागिरको अवसर पाउँछन्।

टेक्सासका प्रशासनिक प्रमुख सौरभ शर्माले १२ कक्षा पास गरेपछि ५० प्रतिशत विद्यार्थी विदेश अध्ययन गर्न जान खोज्ने बताउँछन्। उनी भन्छन्, ‘कक्षा १२ उत्तीर्णपछि ५० प्रतिशत विद्यार्थी विदेश अध्ययन गर्न जान खोज्छन्। नेपालमा ५० प्रतिशत बस्ने हुन्। त्यही ५० प्रतिशत पनि सकेसम्म बाहिर जान खोज्छन्। उनीहरूलाई रोक्न हामीले विदेशी विश्वविद्यालयका कोर्स पढाइरहेका छौं।’

ब्रिटिस एजुकेसन ग्रुपद्वारा सञ्चालित द ब्रिटिस कलेजमा केल विश्वविद्यालय, यूके, लिड्स बेकेट विश्वविद्यालय, यूके, वेस्ट इंगल्यान्ड विश्वविद्यालय (यूडब्लूई) यूकेका कार्यक्रम सञ्चालित छन्। जसअन्तर्गत बीबीए (विजनेश एन्ड म्यानेजमेन्ट), बीएचएम (हस्पिटालिटी म्यानेजमेन्ट), बीएस्सी (कम्प्युटिङ), बीएस्सी (साइबर सेक्युरिटी एन्ड  डिजिटल फरेन्सिक), बीएस्सी (कम्युटर साइन्स–एआई), बीएस्सी डेटा साइन्स छन्। स्नातकोत्तरमा विकेन्ड एमबीए (एक्जुकेटिभ), एमबीए (ग्रायाजुएट), एमएस्सी इन्फरमेसन एन्ड टेक्नोलोजी, एमएस्सी (एडभान्ड कम्युटर साइन्स) छन्।

द ब्रिटिस कलेज हेड अफ मार्केटिङ (बीईजी) का अमरदीप मण्डलका अनुसार यी विश्वविद्यालय विश्वका ५–६ सय र्‍यांक भएको विश्वविद्यालय हो। उनी भन्छन्, ‘यूकेका राम्रा विश्वविद्यालयको पाठ्यक्रम ब्रिटिस कलेजमा पढ्न पाइन्छ।’

छात्रवृत्ति पनि पाइन्छ 

प्रेसिडेन्टियलले नेपाल सरकारले तोकेको १० प्रतिशत छात्रवृत्ति दिएको छ। छात्रवृत्तिबारे कलेजका आफ्नै नियम पनि छन्। त्रिपाठीको भनाइमा जेहेन्दार विद्यार्थी, प्लस टू मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति दिन्छौं। त्यतिमात्र नभइ देशको नाम अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल विद्यार्थी जो छन् उनीहरूलाई पनि छात्रवृत्ति दिन्छौँ। एकल अभिभावकले हुर्काएर पढाएका त्यस्तो कोही विद्यार्थी प्रेसिडेन्टियलमा पढ्न आए उनीहरूका लागि पनि छात्रवृत्तिको व्यवस्था छ।

द ब्रिटिस कलेजले पनि छात्रवृत्ति उपलब्ध गराएको छ। मण्डलको भनाइमा छात्रावृत्ति तीन किसिमका छन्। एक, मेरिटमा प्रतिस्पर्धा गरेर, दोस्रो, शैक्षिक प्रमाणपत्रको प्रतिशतका आधारमा, तेस्रो, विद्यार्थीहरू कक्षामा प्रथम, द्वितीय, तृतीय जे हुन्छन् त्यसका आधारमा। उनले बीबीए कोर्सका लागि १९ लाख रुपैयाँ लाग्ने र विश्वविद्यालयको शुल्कचाहिँ राष्ट्र बैंकले तोक्ने विनिमय दरका आधारमा घटबढ भइरहने जानकारी दिए। त्यस्तै ब्रिटिस कलेजमा एमबीएतर्फको शुल्क ८ लाख रुपैयाँ छ।

प्रेसिडेन्टियल, एमआईटी, टेक्सास र ब्रिटिस कलेजले शिक्षा मन्त्रालयले तोकेको १० प्रतिशत छात्रवृत्ति पनि दिइरहेका छन्। शिक्षा मन्त्रालय, उच्च शिक्षा शाखाका एक अधिकारीले निजी कलेजहरूले विद्यार्थीलाई दिनैपर्ने १० प्रतिशत छात्रवृत्तिको अवस्था सन्तोषजनक नभएको बताए। उनले भने, ‘१० प्रतिशत छात्रवृत्ति दिनुपर्ने हुन्छ। सन्तोषजनक छैन।’

कजेलले नाफा मात्र खोजेर नहुने भन्दै नाफासँगै गुणस्तर पनि दिनुपर्ने बताए। उनी भन्छन्, ‘कलेजले सुेवासँगै गुणस्तर मेन्टेन पनि गर्नुपर्छ। नाफा मात्रै खोजेर पनि हुँदैन।’ उनको भनाइमा ६९ कलेजमा ३० हजार विद्यार्थी अध्ययनरत छन्। ती कलेजले प्रतिविद्यार्थी १५ सय कर बुझाउनुपर्ने हुन्छ।

किन बाहिरन चाहन्छन् विद्यार्थी?

दाहालले एमआईटीका विद्यार्थीमा गरिएको सर्वेक्षणले पनि अध्ययनकै लागि विदेश जाने विद्यार्थीको संख्या धेरै रहेको बताए। ‘हामीले कक्षा १२ पछि अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी सर्वेक्षण गरेका थियौँ। १०० मध्ये ६९ प्रतिशतले विदेश जान इच्छा देखाउनुभयो। बाँकी पनि जाँदैनौँ भन्ने होइन। हामी निश्चित छैनौँ, अवस्था हेरेर निर्णय लिन्छौँ भन्ने कुरा आयो,’ दाहालले अध्ययनको नतिजा सुनाए।

उनका अनुसार एमआईटीले अध्ययनका लागि कुन देश जाने भनेर पनि विद्यार्थीलाई सोधेको थियो। धेरैको चाहना पहिला अमेरिका, दोस्रो अस्ट्रेलिया त्यसपछि क्यानडा, यूकेलगायतका देश रह्यो। दाहाल भन्छन्, ‘त्यस्ता देशका राम्रा विश्वविद्यालयका पाठ्यक्रम नेपालमै पढायौँ भने विदेश जाने कि नजाने भनेर सोध्दा झन्डै ५० प्रतिशतले चाहन्छौँ भन्नुभयो।’

नेपालमा गुणस्तरीय शिक्षा हुँदाहुँदै पनि विद्यार्थीको चाहना विदेश जाने छ। पढ्न मात्र होइन सुरक्षित भविष्य, राम्रो नोकरी र केही गर्छु भनेर विदेश जाने पनि छन्। दाहाल भन्छन्, ‘विद्यार्थीको चाहना गुणस्तरीय शिक्षा लिनेमात्र छैन,उनीहरू राम्रो देशमा बसोबास गर्न चाहन्छन्।’

त्रिपाठी स्वदेशकै कलेजले विदेशी विश्वविद्यालयको डिग्री उपलब्ध गराइरहे पनि बर्सेनि हजारौं विद्यार्थी बिदेसिनुको विभिन्न कारण रहेको बताउँछन्। उनी भन्छन्,‘यसका धेरै कारण छन्। एक स्वतन्त्रता। नेपालमा बसेर विदेशी जीवनशैली विद्यार्थीले पाउँदैनन्। विदेश गएका अधिकांश विद्यार्थीले जे पढेका छन् सोअनुसार जागिर गरिरहेको हुँदैनन्। दोस्रो, पीआर। विदेशमा अध्ययन गर्न जानुको उद्देश्य पीआर नै पाउनलाई हो। विदेशमा गएर पढ्छु मात्र भन्दा पनि सेटल हुन्छु भन्ने सोच विद्यार्थीमा छ।’

त्रिपाठीले स्वदेशमा विदेशी विश्वविद्यालयको डिग्री हुँदाहुँदै पनि आफ्ना छोराछोरीलाई विदेश अध्ययनका लागि पठाउनुपूर्व अभिभावकले पनि सोच्नैपर्ने बताए। ‘आफ्ना छोराछोरीलाई अध्ययनकै लागि विदेश पठाउन जोड गर्नुभन्दा नेपालमा के कस्ता सुविधा उपलब्ध छन् त्यसको अध्ययन गर्न अभिभावकलाई अनुरोध गर्दछु। अरूबाट प्रभावित भएर विदेश नपठाउनुहोला। अहिले नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध छ,’ उनी भन्छन्, ‘नेपालका धेरै विद्यार्थी यही विश्वविद्यालयको डिग्री लिन अमेरिका जानुभएको छ। विदेशमा लाखौंलाख खर्च गरेर गएर विदेशी डिग्री लिनुभन्दा नेपालमै त्यही तहको त्यही स्टान्डर्सको डिग्री छ। समय र पैसा बचत गरौँ।’

दाहाल नेपालबाट एनओसी लिएर विदेश जाने विद्यार्थीका लागि कुनै मापदण्ड नभएको बताए। उनी भन्छन्, ‘एनओसी लिएर विदेश जाने विद्यार्थीका लागि कुनै मापदण्ड तोकिएको छैन। कुन  र्‍यांकको, यो गुणस्तरको विश्वविद्यालय हुनुपर्छ भन्ने छैन। हामीले नेपालमा जुन विश्वविद्यालयको कोर्स पढाएका छौँ सोही विश्वविद्यालयको कोर्स पढ्न विद्यार्थी विदेश गएका छन्।’

दाहालले विद्यार्थीलाई विदेश अध्ययन जान र त्यसबापत लाग्ने खर्चको पैसा स्वदेशमै रोक्न सरकारको पर्याप्त सहयोग रहेमा अझै गुणस्तरीय शिक्षाका लागि प्रेरणा मिल्ने बताए। उनले भने, ‘विदेशमा बस्न, खान, पढ्न विद्यालाई १ करोड बढी लाग्छ। त्यसका लागि सरकारले एनओसी दिएको छ। त्यही विश्वविद्यालयको कोर्स १० लाखभित्रमा नेपालमा पढाउँछु। १० या २० प्रतिशत मात्र विश्वविद्यालयलाई बुझाउँदा बाँकी प्रतिशत रकम देशमा नै खर्च गर्छौं भन्दा सरकारले थप सहयोग र हौसला प्रदान गर्नुपर्छ।’

मण्डल नेपालमा विदेशी विश्वविद्यालयका डिग्री उपलब्ध हुँदाहुँदै पनि विद्यार्थी विदेश जानु ठूलो बहसको विषय भएको बताउँछन्। उनी भन्छन्, ‘नेपालमा पनि विदेशी विश्वविद्यालयका डिग्री उपलब्ध छन्। यो ठूलो बहसको विषय हो।’ साथै उनी त्यसलाई अस्वाभाविक पनि ठान्छन्। मण्डल भन्छन्, ‘नेपालमै विदेशी डिग्री भइरहँदा विद्यार्थी विदेश जानु अस्वाभाविक हो। कतिपय अभिभावक र विद्यार्थीले बुझ्नुभएको छैन। विदेशमा स्वतन्त्र भएर पढ्न, काम गर्न पाइन्छ जसकारण लाइफ सेटल हुन्छ भन्ने विद्यार्थीमा सोच छ।’

विदेशी डिग्री पढाइ हुने अन्य केही कलेज

पद्मश्री कलेज : काठमाडौँस्थित तीनकुनेमा रहेको पद्मश्री कलेजले मलेसियाको निलाई युनिभर्सिटीबाट सम्बन्धन लिएर बीआईटी, बीएचएम र बीबीए डिग्री सञ्चालन गरिरहेको छ। कलेजले त्रिविबाट सम्बन्धन लिएर बीसीए र खाद्य प्रविधिमा स्नातक पनि सञ्चालन गरिरहेको छ।

हेराल्ड कलेज :  काठमाडौँको नक्सालमा रहेको हेराल्र्ड कलेजले ब्रिटिसको वुल्भरह्याम्प्टन विश्वविद्यालयबाट सम्बन्धन लिएर कार्यक्रम सञ्चालन गरिरहेको छ। ब्याचलर्स डिग्रीमा आईटी अध्ययनमा केन्द्रित कलेजका सञ्चालकहरू न्यूनतम शुल्कमै बेलायती विश्वविद्यालयको पाठ्क्रम पढाइरहेको दाबी गर्छन्।

नामी कलेज :  काठमाडौँको जोरपाटीस्थित नामी कलेजले बेलायतको नर्दम्प्टन विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजमा स्नातक तहमा बीएससी सफ्टवेयर इन्जिनियरिङ, इन्भाइरोन्मेन्टल साइनस, बीबीए, बीएससी नेटवर्क इन्जिनियरिङलगायतका विषय पढाइ हुन्छ।

किङ्स कलेज : काठमाडौँको बबरमहलस्थित किङ्स कलेजले अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन लिएर बीबीए र बीएस आईटी प्रोग्राम सञ्चालन गर्दै आएको छ।

आईआईएस कलेज :  मलेसियाको ठेलरर्स विश्वविद्यालयबाट सम्बन्धन लिएर बीएससी, बीएचएम र बीबीए कार्यक्रम सञ्चालन गरिरहेको छ। धोबीधारामा रहेको कलेजले बीएससीअन्तर्गत कम्प्युटर साइन्सलाई प्राथमिकता दिएको छ।

गेट कलेज :  काठमाडौँको बूढानीलकण्ठमा रहेको गेट कलेज ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटीबाट सम्बन्धन लिएर हस्पिटालिटी प्रोग्राम सञ्चालन गर्दै आएको छ। बीएचएम प्रोग्राम सञ्चालन गर्दै आएको उक्त कलेज पेरिसको  वर्ल्ड हस्पिटालिटी अवार्डबाट सन् २०११ मा सम्मानित भएको थियो।

यी कलेजहरूले दिइरहेका छन् नेपालमै विदेशी विश्वविद्यालयको डिग्री (सूची)

प्रकाशित: ११ पुष २०८१ १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast