भूकम्पले भत्काएको दसकपछि हनुमानढोकाको आगम घर पुनर्निर्माणमा जुट्दै

हिमाल प्रेस १० पुष २०८१ ७:१९
4
SHARES
भूकम्पले भत्काएको दसकपछि हनुमानढोकाको आगम घर पुनर्निर्माणमा जुट्दै

काठमाडौँ- पुरातत्व विभागले विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम घर (आगम छेँ) पुनःनिर्माण गर्ने भएको छ।

हनुमानढोका क्षेत्रको नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर (आगम छेँ) नेपाली सीप र शैलीमा पुनःनिर्माण गर्ने विषयमा सरोकार भएका कार्यालयबीच साझा मत भएपछि पुनःनिर्माण अघि बढेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिए ।

२०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले वसन्तपुर क्षेत्रका ५८ सम्पदामा क्षति भएको थियो। भूकम्पले क्षति गरेका धेरै सम्पदा पुनःनिर्माण भइसकेका छन्। केही पुनःनिर्माणको चरणमा रहेका छन्।

चौक्वाठ शैलीमा निर्मित मल्लकालीन दरबारको दक्षिणपश्चिम कुनामा अवस्थित आगम छेँ मन्दिर पुनःनिर्माणका लागि अर्थ मन्त्रालयले केही दिनमै निर्णय गरेपछि थप प्रक्रिया अघि बढ्ने महानिर्देशक प्रधानाङ्गले बताए । यसका लागि सबै प्रक्रिया पूरा गरी अर्थ मन्त्रालयमा फाइल पठाइएको उनले जानकारी दिए।

नेवार परिवारमा आफ्नै छुट्टै भगवान्स्थल हुन्छ । यसलाई आमग घर मानिन्छ। यसमा परिवारका सदस्यबाहेक अन्यलाई प्रवेश गर्न अनुमति हुँदैन । यसलाई कोठा वा मन्दिरका स्वरूपमा बनाइएको हुन्छ।

हनुमानढोका दरबारभित्रको मोहनचोक प्रताप मल्लले बनाएका हुनाले यससँगैको आगम छेँ पनि उनले नै बनाएको बताइन्छ । यो तान्त्रिक दशमहाविद्या देवी अन्नपूर्णको मन्दिर हो । मन्दिरभित्र महत्वपूर्ण भित्तेचित्र छन् ।

मन्दिरको चारैतिर तोरणसहित कलात्मक ढोका छन् । आकर्षक झ्यालहरू छन्। टुँडालमा शिव सम्प्रदायका देवीदेवताका प्रतिमा कोरिएका छन्।

प्रत्येक छानाको कुनामा मयुर आकृति छन् । प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमानढोका दरबार हुन गएको जानकार बताउँछन् । त्यसपछि श्री ५ पृथ्वीनारायण शाहले विसं १८२६ मा वसन्तपुर दरबार निर्माण गराएपछि यसलाई वसन्तपुर दरबार भन्न थालिएको इतिहास छ।

हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ। सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, काल भौरव, काष्ठमण्डपलगायत वरिपरि रहेका अन्य सम्पदालाई यहाँको महत्वपूर्ण सम्पदा मानिन्छ।

यस स्थानमा मुख्यगरी विभिन्न ११ वटा मुख्य चोक छन्। त्यसैगरी यहाँको अर्को महत्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घरको निर्माण कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले विसं १८१३ मा गराएका हुन्।

‘युनेस्को’ द्वारा बहुमूल्य सम्पदाका रूपमा सूचीकृत विश्वका स्मारक र स्थानलाई विश्वसम्पदा भन्ने गरिन्छ। कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने धरोहरलाई यसमा समावेश गरिन्छ । जुन विश्वसम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ र उक्त समितिमार्फत नै संरक्षण गरिन्छ।

काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमको संयोजकसमेत रहेका वडा २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी आगम घर पुनःनिर्माणमा सहयोग गरिने बताउँछन्। परम्परागत विधि पूरा गरी पुरानै स्वरूपमा यसको पुनःनिर्माण हुने उनले बताए।

प्रकाशित: १० पुष २०८१ ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast