भेरी अस्पताल मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

हिमाल प्रेस ९ पुष २०८१ १०:०३
6
SHARES
भेरी अस्पताल मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

बाँके- यहाँस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग अस्पतालले सम्झौता गरेसँगै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो।

सोमबार भेरी अस्पतालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीबीच मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सो अवसरमा मन्त्री पौडेलले सबै संघीय अस्पतालमा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजना रहेको जानकारी दिए। ‘अब भेरी अस्पतालमा पनि सेवा सुरु गर्नेगरी सम्झौता भएको छ । सातै प्रदेशमा यो सेवा विस्तार गर्दै सर्वसुलभ, सहज र पहुँचयोग्य बनाइनेछ’, उनले भने।

अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठले भेरी अस्पतालमा मिर्गौला सेवा सञ्चालनका लागि केन्द्रले आवश्यक जनशक्ति, प्रविधि र प्राविधिकलगायत सहयोग गर्ने बताए। आगामी एक महिनाभित्र सेवा दिने तयारी भइरहेकाले यहाँका स्थानीय मिर्गौला प्रत्यारोपण गर्न बाहिरी जिल्ला, भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ।

‘मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि केही कानुनी प्रक्रियाहरू छन्, ती कानुनी प्रक्रिया अस्पतालले पूरापछि सेवा विस्तार, जनशक्ति व्यवस्थापनलगायत काम गर्न एक महिना लाग्न सक्छ’, श्रेष्ठले भने।

उनले मिर्गौला प्रत्यारोपण सेवालाई सर्वसुलभ गराउने गरी केन्द्र अगाडि बढेको उल्लेख गरे। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुवेदीले अस्पतालमा विशिष्टिकृत सेवा विस्तार गर्दै लैजाने क्रममा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्न लागिएको बताए। उनले अंग प्रत्यारोपण सेवा विस्तार गर्न आवश्यकपर्ने कानुनी जटिलता यथाशीघ्र समाधान भएर सेवा सञ्चालन गरिने विश्वास दिलाए।

प्रकाशित: ९ पुष २०८१ १०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast