एनसेल फाउन्डेसनले एनपीएलका चौकावापत साढे दुई हजार शैक्षिक सामग्री वितरण गर्ने

हिमाल प्रेस ८ पुष २०८१ १९:४९
14
SHARES
एनसेल फाउन्डेसनले एनपीएलका चौकावापत साढे दुई हजार शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौँ- एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौकावापत शैक्षिक सामग्री वितरण गर्ने घोषणाअनुसार २ हजार ६ भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ।

यी सामग्रीहरू ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरिने एनसेल फाउन्डेसनले जनाएको छ। शनिबार सम्पन्न एनपीएलमा ६५३ चौका हानिएका थिए। यसवापत एनसेल फाउन्डेसनले घोषणा गरेबमोजिम २ हजार ६१२ शैक्षिक सामग्री वितरण गर्ने भएको छ।

क्रिकेटदेखि कक्षा कोठासम्मको यो नवीन पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवद्र्धन गर्दै उज्वल भविष्यका लागि अवसर प्रदान गर्ने फाउन्डेसनले विश्वास लिएको छ। विद्यार्थीहरूले ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका शैक्षिक सामग्री प्राप्त गर्ने फाउन्डेसनले जनाएको छ।

एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्ट्सका लाहिरू मिलान्थाले हानेका छन्। उनले ३५ चौका हानेर १४० शैक्षिक सामग्री वितरणलाई सुनिश्चित गरेका छन्।

त्यस्तै दोस्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका प्रहार गरेका छन्। यसबाट १२० शैक्षिक सामग्री वितरण गरिने छ।

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले हानेको २६ चौकावापत १०४ शैक्षिक सामग्री वितरण गरिने फाउन्डेसनले जनाएको छ। चितवन रवी बोपारा र सुदूरपश्चिम रोयल्सका सैफ जैबले समान २४ चौका हानेका छन्। उनीहरूको चौका प्रहारबाट १९२ शैक्षिक सामग्रीको वितरण सुनिश्चित भएको छ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले क्रिकेटप्रतिको रूचीलाई सामाजिक कार्यसँग जोड्दै विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्न पाउँदा खुसी लागेको बताइन्।

शैक्षिक सामग्री वितरणका लागि क्यान, सम्बन्धित टिमका साथै अन्य सरोकारवालासँग सहकार्य गरिने उनले जानकारी दिएकी छन्। सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरूसम्म शैक्षिक सामग्री पु¥याउन एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ।

एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौकावापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने फाउन्डेसनले घोषणा गरेको थियो।

प्रकाशित: ८ पुष २०८१ १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast