काठमाडौँ- पार्टी नेताको गुटबन्दी र उमेर हद विवादका कारण तीन महिनाअघि स्थगित नेकपा माओवादी केन्द्रको विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुने भएको छ। गत असोजमा व्यापक किचलोका कारण स्थगित सम्मेलन यही पुसको दोस्रो साता हुन लागेको हो। सम्मेलन दुई चरणमा हुने विद्यार्थी नेताहरूले बताएका छन्। पहिलो चरणमा उमेर हदबारे चुनाव हुनेछ।
क्रान्तिकारीका विद्यार्थी इन्चार्ज हिमाल शर्माले पहिलो चरणमा उमेर हदको निर्वाचन हुनेछ। ‘उमेर हद ३२ रहने वा उमेर हद नहरने भन्नेबारेमा प्रतिनिधिले मत हाल्नेछन्,’ शर्माले भने, ‘त्यसपछि नेतृत्व चयन हुन्छ।’
शर्माका अनुुसार पहिलो चरणमा प्रतिनिधिले जिल्लाबाटै उमेर हदबारे मत हाल्नेछन्। त्यसपछि नेतृत्व चयनका लागि प्रदेशका राजधानीबाट मतदान गर्नेछन्। ‘पहिलो चरणमा जिल्ला र अर्को चरणमा मतदान गर्न प्रदेश आउनुपर्नेछ,’ शर्मा भन्छन्, ‘पहिले काठमाडौँ आएर सम्मेलनमा प्रतिनिधिले भाग लिएका छन्। अब फेरि काठमाडौँ आउनुपर्ने छैन।’
जहाँबाट रोकियो, त्यहीँबाट सुरु
क्रान्तिकारीको सम्मेलन गत असोज १० बाट सुरु भएको थियो। सात दिन सम्मेलन लम्याउँदासमेत नेतृत्व चयन हुन सकेन। नेतृत्व चयन हुनुभन्दा पनि सम्मेलनमा विवाद मात्र भयो। सम्मेलनको मुख्य विवाद उमेर हदसम्बन्धी रह्यो। ‘उमेर हद राख्ने नराख्नेमै विवाद भयो। त्यसपछि स्थगित भयो,’ क्रान्तिकारीका नेता केशव रावल भन्छन्, ‘अब भने उमेर हदलाई निर्वाचनबाटै टुंग्याउँछौँ।’
सम्मेलन पुरानै ‘कोण’ बाट सुरु हुनेछ। इन्चार्ज शर्माका अनुसार पुस ११ देखि उमेर हदसम्बन्धी मतदान प्रक्रिया सुरु गरिने र पुस १८ देखि नेतृत्व चयन थालिनेछ। ‘मिति निश्चित भएको छैन,’ शर्माले भने। यसअघिको सम्मेलनमा उमेर हद राख्ने नराख्नेमा विवाद थियो। उमेर हदमा २८ देखि ३८ सम्मको प्रस्ताव आएको थियो। नेतृत्वका आकांक्षीहरू उमेर हदको विपक्षमा रहँदा सम्मेलन भाँडिन पुग्यो। अब संगठनले पुरानै विवाद सुल्झ्याएर नेतृत्व चयन गर्नुपर्नेछ।
कि नियमित सम्मेलन कि उमेर हद!
क्रान्तिकारीमा उमेर हदबारे कित्ताकाट देखिएको छ। विशेषतः ३२ वर्ष नपुगेका विद्यार्थी उमेर हदका पक्षमा छन् भने ३२ कटेकाहरू उमेर हदको विपक्षमा छन्। यसअघि समस्या भएको पनि यही विषय हो। पछिल्लो समय पार्टीले हस्तक्षेप गरेर ३२ वर्ष रहने–नरहने मापदण्ड तय गरेको हो। यदि ३२ वर्षमा मत बढी आए उमेर हदको ‘क्राइट एरिया’ बन्नेछ। उमेर हदको विपक्षमा मतदान गर्नेले ३२ को विरुद्धमा गर्नुपर्नेछ।
३२ वर्ष नपुगेका विद्यार्थीले पनि अब कि संगठनको नियमित सम्मेलन कि उमेर हदको एजेन्डा बनाएका छन्। क्रान्तिकारीको सम्मेलन २०७८ सालयता भएको छैन। नियमित (२–२ वर्षमा) हुनुपर्नेमा तीन वर्षमा पनि हुन सकेको छैन। ‘नियमित सम्मेलन नभएकै कारण अहिले पुराना विद्यार्थी पनि आकांक्षी देखिएका हुन्,’ विद्यार्थी नेतृ देवकी कार्की भन्छिन्, ‘सम्मेलन नियमित भए उमेर हदको समस्या त्यसै सुल्झिन्छ।’
‘पाका नेता’लाई ‘उमेर हद’ पार लगाउन सकस
यसअघिको सम्मेलनमा निवर्तमान उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष भाबी अध्यक्षको दाबेदार थिए। उनीहरू सबैको उमेर ३२ वर्षभन्दा माथि छ। उपाध्यक्षहरू इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीणा अधिकारी, सूर्यनारायण साह, गजेन्द्र देव, महासचिव दीपेश पुन पनि आकांक्षी हुन्। संगठनका एक नेताका अनुसार उनी अध्यक्ष बन्न उमेर हद तोड्न अनिवार्य छ। ‘विद्यार्थी साथीहरूले बुझेका छन्। उमेर अंकगणित मात्र हो भन्ने थाहा छ,’ अध्यक्षका आकांक्षी केशव रावल भन्छन्। ३२ कटेका ‘पाका नेता’ले अब अध्यक्ष बन्न उमेर हदको सकस टार्नुपर्नेछ।
क्रान्तिकारीमा माओवादीका दोस्रो स्तरका नेताको बग्रेल्ती गुट छन्। गुटैमध्येका विद्यार्थी अध्यक्षका आकांक्षी छन्। जस्तो, उपमहासचिव जनार्दन शर्माबाट क्षितिज सापकोटा, नारायण खनाल, जीपी मैनाली, मदन भुल, मदन भट्टराई, प्रबिना अधिकारी अध्यक्षका आकांक्षी हुन्। वर्षमान प्यानलबाट दीपेश पुन, इन्द्र भुसाल र पवन कार्की छन्। पम्फा भुसाल र देव गुरुङ गुटबाट नरेश रेग्मी र मिलन एमसी आकांक्षी छन्।