मकाउको मुख्य भूमि चीन फिर्तीको रजत उत्सव

अजय अलौकिक ८ पुष २०८१ १४:२८
14
SHARES
मकाउको मुख्य भूमि चीन फिर्तीको रजत उत्सव

डिसेम्बर २० मा मकाउले मुख्यभूमि चीनमा आफ्नो फिर्तीको २५ औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव मकाउ र चीन दुवैको इतिहासमा एउटा महत्त्वपूर्ण कोसेढुंगा बनेको छ। यो ऐतिहासिक अवसर ‘एक देश, दुई प्रणाली’ नीतिको सफलताको उत्सव पनि रहेको छ। यसैगरी यो चीन केन्द्रीय सरकारको समर्थन र सहयोगमा मकाउको समृद्धिको प्रमाण पनि हो।

यो विशेष दिनले ‘एक देश, दुई प्रणाली’ नीतिको सफलतालाई प्रतिबिम्बित मात्र गर्दैन, विगतमा मकाउले सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा गरेको उल्लेखनीय प्रगति पनि दर्शाउँछ। बितेका २५ वर्षमा मकाउमा ठूलो परिवर्तन भएको छ र उल्लेखनीय सफलता हासिल गरेको छ।

केन्द्रीय सरकार र मुख्यभूमिको साथमा मकाउ विशेष प्रशासनिक क्षेत्र सरकारले मकाउमा ‘एक देश, दुई प्रणाली’ अभ्यासको विकाससँगै उल्लेखनीय आर्थिक वृद्धि गरेको छ, जीवनस्तरमा सुधार ल्याएको छ र अन्तर्राष्ट्रिय प्रभावसमेत बढेको छ।

आजको चीनको विशेष प्रशासनिक क्षेत्र मकाउ सन् १९९९ मा मातृभूमिमा फर्केको थियो। मकाउ चीनको दक्षिणपूर्व तटमा अवस्थित एक सानो क्षेत्र हो। यो ४०० वर्षभन्दा बढी समयावधिसम्म पोर्चुगलको उपनिवेश रहेको थियो। सन् १९८७ मा हस्ताक्षर भएको चीन पोर्चुगल संयुक्त घोषणा पत्रपछि र चीन र पोर्चुगल सरकार बीचको लामो वार्तापछि सन् १९९९ डिसेम्बर २० मा सार्वभौमिकताको हस्तान्तरणपछि मकाउ अन्ततःआफ्नो मातृभूमिमा समाहित भएको थियो।

शान्तिपूर्ण हस्तान्तरण चीनका लागि एक महत्त्वपूर्ण कूटनीतिक सफलता हुनुका साथै एउटा ऐतिहासिक महत्त्वको क्षण थियो। यस सम्झौताले ‘एक देश, दुई प्रणाली’ को सिद्धान्तको रूपरेखा प्रस्तुत गरेको थियो, जसले मकाउलाई चिनियाँ सार्वभौमिकताअन्तर्गत रहँदा उच्चस्तरको स्वायत्तता, आफ्नै कानुनी प्रणाली र आर्थिक नीतिहरू कायम राख्ने सुनिश्चित गरेको छ।

यसैको २५ औँ वार्षिकोत्सवमा मकाउमा डिसेम्बर महिनाभरि नै विभिन्न गतिविधि र कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ। डिसेम्बर २० मा मकाउ विशेष प्रशासनिक क्षेत्र सरकारले मकाउ फिर्तीको सम्झनामा गोल्डेन बौहिनिया स्क्वायरमा भव्य समारोहको आयोजना गरेको थियो। यसपछि मकाउ पूर्व एसियाली खेलकुद डोममा मकाउ विशेष प्रशासनिक क्षेत्रको छैटौँ सरकारको उद्घाटन समारोह र भव्य समारोहको आयोजना गरियो।

उक्त समारोहलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले महत्त्वपूर्ण सम्बोधन गरेका थिए। उनी मुख्यभूमि चीनमा मकाउको फिर्तीको २५ औँ वर्षको अवसर पारेर तीनदिने भ्रमणका लागि बुधबार, डिसेम्बर १८ मा मकाउ पुगेका थिए। जहाँ उनले मुख्य समारोहलाई सम्बोधनबाहेक विभिन्न क्षेत्रका पदाधिकारीसँग भेट तथा विभिन्न क्षेत्र र स्थानको भ्रमण तथा निरीक्षण गरेका थिए।

सीले मकाउले चीनको इतिहासमा खेलेको अद्वितीय भूमिका र देशको समृद्धि र स्थिरतामा मकाउको महत्त्वपूर्ण योगदानबारे चर्चा गरे। उनले ‘एक देश, दुई प्रणाली’ नीतिअन्तर्गत मकाउले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै मकाउको आगामी दिनमा अझै विकास हुने विश्वास व्यक्त गरे।

‘एक देश, दुई प्रणाली’ सिद्धान्त मकाउको शासनको आधारशिलाकारूपमा रहेको छ। यस नीतिअन्तर्गत मकाउले आफ्नै आधारभूत कानुन, न्यायपालिका र नीतिहरूको साथ एक विशेष प्रशासनिक क्षेत्रका रूपमा काम गर्दछ। यस व्यवस्थाले मकाउलाई मुख्यभूमि चीनको आर्थिक र राजनीतिक समर्थनबाट लाभ उठाउँदै आफ्नो विशिष्ट कानुनी र प्रशासनिक प्रणालीको संरक्षण गर्न अनुमति दिएको छ। विगत २५ वर्षमा मकाउले यो मोडेलले स्थिरता, समृद्धि र सांस्कृतिक विविधता कायम राख्न सक्छ भन्ने देखाएको छ।

मकाउको मुख्यभूमि चीनमा फर्केको २५ औँ वार्षिकोत्सव मात्रै होइन, भविष्यप्रतिको एक झलक पनि हो। मकाउ ‘एक देश, दुई प्रणाली’ नीतिअन्तर्गत फस्टाउँदैजाँदा यसले निस्सन्देह चीनको समृद्धि र स्थिरतामा महत्त्वपूर्ण योगदान पुर्याउँदै जानेछ।

चीन केन्द्र सरकारले मकाउमाथि सार्वभौमिकताको अभ्यास पुनःसुरु गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ मिडिया, सीजीटीएन र मकाउ अध्ययन केन्द्रद्वारा संयुक्त रूपमा गरिएको एक सर्वेक्षणले मकाउमा ‘एक देश, दुई प्रणाली’ को सफल कार्यान्वयनलाई उत्तरदाताहरूले उच्च मान्यता दिएको देखाउँछ। उनीहरूले सामान्यतया यस क्षेत्रमा दीर्घकालीन समृद्धि र स्थिरता कायम राख्न र समान मुद्दाहरू समाधान गर्नका लागि यो उत्तम प्रणाली भएको विश्वास गरेका छन्।

सर्वेक्षणमा ९२.२ प्रतिशत उत्तरदाताले मकाउमा ‘एक देश, दुई प्रणाली’ को अभ्यास सफल भएको विश्वास व्यक्त गरेका छन्। ९३.९ प्रतिशत उत्तरदाताले ‘एक देश, दुई प्रणाली’ र ‘मकाउका जनताले मकाउमाथि शासन गर्ने’ विश्वास व्यक्त गरेका छन्। ९१.९ प्रतिशतले मकाउका जनताको राजनीतिक अधिकार र स्वतन्त्रता पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन्। यसै गरी, ९३.८ प्रतिशत उत्तरदाताले चीनको आधुनिकीकरणले मकाउका लागि ठूलो अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

सर्वेक्षणमा ९४.३ प्रतिशत उत्तरदाताले मकाउको समृद्धि र विकासका लागि मुख्यभूमिको बलियो समर्थन महत्त्वपूर्ण रहेको बताए। ९२.७ प्रतिशत उत्तरदाताहरूले मुख्यभूमिसँग मकाउको सम्बन्ध घनिष्ठ हुँदै गएको महसुस गरेका छन्। यसबाहेक मकाउको आर्थिक र सामाजिक विकाससँग सन्तुष्टिको मूल्यांकनमा ९३.९ प्रतिशत उत्तरदाताहरूले हालैका वर्षमा मकाउ विशेष प्रशासनिक क्षेत्र सरकारको प्रदर्शनसँग सहमत छन्।

मकाउले आफ्नो फिर्तीपछि असाधारण आर्थिक वृद्धिको अनुभव गरेको छ। ‘पूर्वको लास भेगस’ का रूपमा चिनिने यस क्षेत्रको अर्थव्यवस्था यसको गेमिङ र पर्यटन उद्योगहरूमा निर्भर छ। २००० को दशकको सुरुमा गेमिङ क्षेत्रको उदारीकरणले महत्त्वपूर्ण विदेशी लगानी आकर्षित गरेको थियो, जसले मकाउलाई विश्वको सबैभन्दा ठूलो जुवा हबमा रूपान्तरण गरेको थियो।

चीनमा क्यासिनो जुवालाई अनुमति दिइएको एकमात्र ठाउँ मकाउ सहरले लामो समयदेखि विश्वको शीर्ष क्यासिनो हबको रूपमा रहेको लास भेगसलाई समेत उछिनेको छ। तथापि, मकाउले हालैका वर्षहरूमा वित्त, सांस्कृतिक पर्यटन र प्रविधि जस्ता क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दै अर्थव्यवस्थालाई विविधीकरणर्फ लगेको छ।

एक तथ्यांकअनुसार सन् २०२३ मा मकाउको कुल गार्हस्थ उत्पादन (जीडीपी) मातृभूमि फिर्ता हुनुअघिभन्दा ७ गुणाले बढेको छ, सन् १९९९ देखि सन् २०२३ सम्म मकाउको प्रतिव्यक्ति जीडीपी १५ हजार अमेरिकी डलरबाट ६९ हजार अमेरिकी डलरसम्म बढेको छ। सन् २०२३ मा मुख्यभूमि चीन र मकाउ बीचको व्यापार ३.८४ अर्ब अमेरिकी डलर पुगेको छ, जुन हस्तान्तरण हुनुअघिको तुलनामा ४.३ गुणाले बढी हो। यस वर्षको अक्टोबरसम्ममा मकाउमा चीनको प्रत्यक्ष लगानी १४.१९ अर्ब अमेरिकी डलर पुगेको छ।

क्वाङतोङ, हङकङ, मकाउ ग्रेटर बे एरिया पहलले मकाउलाई क्षेत्रीय अर्थतन्त्रमा थप एकीकृत गरेको छ र नवप्रवर्तन, पूर्वाधार र व्यापारमा सहकार्यका अवसर सिर्जना गरेको छ। आर्थिक उपलब्धिका अतिरिक्त मकाउले सामाजिक र सांस्कृतिक विकासमा पनि उल्लेखनीय प्रगति गरेको छ।
यस क्षेत्रले आधुनिकतालाई अंगीकार गर्दै आफ्नो अद्वितीय सांस्कृतिक सम्पदाको संरक्षण गरेको छ। परम्परागत र आधुनिक तत्वहरूको यो मिश्रणले मकाउलाई एक लोकप्रिय पर्यटन गन्तव्य बनाएको छ, जसले विश्वभरका आगन्तुकहरूलाई आकर्षित गरेको छ।

३३.३ वर्गमिटरको भूमिमा १७० भन्दा बढी दृश्यावलोकन क्षेत्र छन् भने संसारमा विश्व सांस्कृतिक सम्पदाको उच्चतम एकाग्रता भएको सहर मध्येको एक हो। मकाउको अद्वितीय विशेषताहरूमध्ये एक यसको पोर्चुगुइज र चिनियाँ संस्कृतिहरूको मिश्रण पनि हो।

अर्थव्यवस्थामा विविधीकरणसँगै यस क्षेत्रले मुख्यभूमिसँग विशेष गरी व्यापार, लगानी र पर्यटनको क्षेत्रमा आफ्नो सहकार्यलाई बलियो बनाएको छ। उल्लेखनीय आर्थिक वृद्धि र सामाजिक स्थिरता हासिल गर्दै मकाउले आफ्नो विशिष्ट पहिचान कायम राखेको छ।

बितेको २५ वर्षको मकाउको यात्राले एकीकृत राष्ट्रिय ढाँचाअन्तर्गत विविध प्रणालीहरू कसरी सहअस्तित्वमा रहन र फस्टाउन सक्छ भन्ने बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्दछ। आर्थिक वृद्धि र सामाजिक कल्याणलाई प्राथमिकता दिने नीतिहरूमा बेइजिङले समर्थन गर्दैआएको छ। कोभिड-१९ महामारीको समयमा केन्द्रीय सरकारले मकाउलाई आवश्यक स्रोतहरू प्रदान गर्दै यसको आर्थिक पुनःउत्थानलाई सहज बनाएको थियो। यस्ता कार्यहरूले मकाउ र मुख्यभूमि बीचको विश्वास र सहयोगको भावनालाई बलियो बनाएको छ।

चिनियाँ केन्द्रीय सरकारको समर्थनमा मकाउले १२० भन्दा बढी देश र क्षेत्रहरूसँग स्थिर तथा आर्थिक, व्यापारिक र सांस्कृतिक सम्बन्ध स्थापना गरेको छ। साथै १९० भन्दा बढी अन्तर्राष्ट्रिय सँघ, संगठनको सदस्य रहेको छ।
अन्तमा, मकाउको मुख्यभूमि चीनमा फर्केको २५ औँ वर्षगाँठ एक ऐतिहासिक अवसर हो जुन ‘एक देश, दुई प्रणाली’ नीतिको सफल कार्यान्वयनको प्रतीक हो। यो मकाउको उपलब्धिको उत्सव हो र यस क्षेत्रको समृद्धिको प्रमाण हो।
राष्ट्रपति सी चिनफिङले आफ्नो सम्बोधनमा औँल्याएझैँ ‘एक देश दुई प्रणाली’ को महत्त्वपूर्ण संस्थागत फाइदा र बलियो जीवन्त शक्ति छ र यसलाई दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्छ। ‘एक देश, दुई व्यवस्था’ मा निहित शान्ति, सहिष्णु, खुलापन र साझा लाभ मूल्यहरू चीनका हुन् र विश्वका पनि हुन्। यी मूल्य र मान्यताहरु संयुक्त रूपमा संरक्षित हुन योग्य छन्।

प्रकाशित: ८ पुष २०८१ १४:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast