काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका छन्। नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौँ महानगर स्तरीय भेलालाई सम्बोधन गर्दै सिटौलाले देश र जनताको विकासका लागि पार्टीभित्रको मतभेद अन्त्य गर्दै एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका हुन्।
कांग्रेसको नेतृत्वले मात्रै मुलुकमा देखिएका अर्थतन्त्र लगायतका समस्या समाधान गर्न सक्ने उनले बताए। सिटौलाले व्यक्तिगत नभई जनताको स्वार्थसिद्ध गर्नका लागि पार्टीमा आबद्ध भएकाले यसबारे गहन भएर सोच्न कार्यकर्तालाई सुझाव दिए।
गएको निर्वाचनमा अन्य दलहरूसँग गठबन्धन गरे पनि आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्ने भएकाले अहिलेदेखि नै त्यसको तयारी गर्नुपर्ने उनले जोड दिए।
निर्वाचनमा उम्मेदवार चयनका लागि तल्लो तहबाटै सिफारिस गर्ने कामलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो। राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदानका बारेमा जनतालाई बुझाउन सक्नुपर्ने उनले बताए।