काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सांसद पद निलम्बनका लागि सभामुख देवराज घिमिरेलाई पत्र पठाइएको छ। कास्की प्रहरीले लामिछानेको पद निलम्बन गर्न सभामुखलाई पत्र पठाएको हो।
जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान गर्ने निकायलाई लामिछानेको सांसद पन निलम्बनका लागि सभामुखलाई पत्र लेखी पठाउनु भनेको न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद स्वतः निलम्बन हुने व्यवस्था भएकाले प्रहरीले पत्र पठाएको हो। सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन, २०६४ को दफा २७ बमोजिम उनको सांसद पद स्वतः निलम्बन हुने भएको हो।
रास्वपा सभापति लामिछानेमाथि कास्की जिल्ला अदालतमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। महानन्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद स्वतः निलम्बन भएको बताए।
‘सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनको दफा २७ मा प्रस्ट व्यवस्था छ,’ उनले भने,‘दफा २२ बमोजिम मुद्दा दर्ता भएपछि दफा २७ अनुसार सांसद पद स्वतः निलम्बन हुनेछ।’
सम्पत्ति शुद्धीकरण ऐनको दफा २७ मा ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ।’
कास्की जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा पनि उनको मुद्दा किनारा नलागेसम्म सांसद पद निलम्बन हुने विषय उठाइएको छ।
अभियोगपत्रमा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ९संशोधनसहित० को दफा २७ बमोजिम निज प्रतिवादी रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन जिल्ला क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ निर्वाचित संघीय संसद (प्रतिनिधिसभा सदस्य) रहेकोमा ऐनको दफा ९२२० बमोजिम मुद्दा दायर भएपश्चात सो मुद्दा किनारा नभएसम्म निज स्वतः निलम्बन हुने कानुनी व्यवस्था रहेको ब्यहोरासमेत अनुरोध गरिएको छ।’