गोपालचन्द्र भट्टराईको कथासङ्ग्रह ‘दृश्य प्रलेख’ सार्वजनिक

हिमाल प्रेस ७ पुष २०८१ १५:४४
42
SHARES
गोपालचन्द्र भट्टराईको कथासङ्ग्रह ‘दृश्य प्रलेख’ सार्वजनिक

काठमाडौँ- मधेश प्रदेश प्रहरी तालिम केन्द्र (सम्पर्क कार्यालय) राजविराजका समादेशक वरिष्ठ प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईको कथा सङ्ग्रह ‘दृश्य प्रलेख’ सार्वजनिक भएको छ।

शनिबार राजधानीमा कार्यक्रम गर्दै पुस्तक सार्वजनिक गरिएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत प्रहरी अधिकृत र वरिष्ठ साहित्यकारहरु उपस्थित थिए।

कार्यक्रममा कथाकार भट्टराईले सामाजिक, सांस्कृतिक र पारिवारिक परिवेशका विषयवस्तुलाई कथामा उतारिएको जानकारी दिँदै अधिकांश कथामा आफैँले देखे, भोगेका सुख, दुःख, उकालीओराली र अँध्याराउज्याला पक्षलाई समावेश गरिएको बताए।

दुई सय ४८ पृष्ठको कथा सङ्ग्रहमा ‘डण्डिफोर’, ‘पाप धर्म’, ‘लकडाउन’, ‘चोर पुलिस’, ‘इबोला’, ‘दसैँको लुगा’, ‘विद्रोह’, ‘पराजित गमन’लगायत १७ वटा कथा सङ्ग्रहित छन्। याे उनकाे पहिलाे कृति हाे।

प्रहरी महानिरीक्षक कुँवरले लेखकले कर्तव्य पालनाका सिलसिलामा देखेका, भोगेका विषयवस्तुलाई कृतिमा समावेश गरिएको बताउँदै लेखकको मेहनत र सिर्जनशीलता प्रसंशनीय रहेको उल्लेख गरे।

साथै कृतिमा समाजमा व्याप्त विकृति र विसङ्गतिप्रति तिखो प्रहार भएको पनि उनले बताए। ‘समाजमा व्याप्त विकृति र विसङ्गतिप्रति यस कृतिले तिखो प्रहार गरेको छ।’ उनले भने, ‘यसले आम दर्शकलाई सकारात्मक सन्देश प्रवाह गर्न सक्छ।’

प्रा.ज्ञ अमर न्यौपानेले कथाको पात्र र परिवेशमा ‘प्राण तत्व’ भर्न लेखक सफल भएको बताए। ‘कथामा मर्मस्पर्शी ढङ्गबाट विषय प्रस्तुत गरिएको छ।’ उनले भने, ‘प्रहरी सङ्गठनभित्र पनि लेखक हुँदा रहेछन् भन्ने यस कथा सङ्ग्रहले स्पष्ट पारेको छ।’ लेखकको पात्र र परिवेशको छनोटले कथावस्तुलाई आकर्षक बनाएको उनको टिप्पणी थियो।

त्यस्तै लेखक एवं समीक्षक राजकुमार बानियाँले कथा सङ्ग्रह अध्ययन पछि जाज्वल्यवान लेखक प्रहरी सङ्गठनभित्र कसरी लुकेर रहेका रहेछन् भन्ने आफूले अनुभूति गरेको बताए। मार्मिक, सुन्दर र प्रभावकारी ढङ्गबाट लेखिएका यी कथाले सर्जकलाई सिद्धहस्त लेखकको पहिचान दिएको उनको विश्लेषण थियो।

समीक्षक सुमन वर्षाले ‘दृश्य प्रलेख’ समकालीन समयलाई प्रतिविम्बित गरिएको बताइन्। ‘प्रस्तुत कथा उत्तर आधुनिकतातर्फ उन्मुख छन्, पात्रका माध्यमबाट निर्माण गर्न खोजिएका संसार मौलिक र नयाँ छन्’, उनले भनिन्।

प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले व्यक्ति र समाजका अन्तरसम्बन्ध तथा मानवीय संवेदनालाई आफ्ना रचनामा प्रकट गरेको बताए।

‘लेखक भट्टराईले मानवीय जीवनका कथा, व्यथालाई मार्मिक ढङ्गबाट प्रस्तुत गर्नुभएको छ।’ उनले भने। ‘यो कृति पुस्तकको भीडमा पुस्तक मात्रै हुनेछैन, नेपाली साहित्यिक क्षेत्रमा ओजस्वी ग्रन्थका रूपमा रहनेछ।’

पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

प्रकाशित: ७ पुष २०८१ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast