नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेमाथि तुरुन्त कारबाही होस् : महामन्त्री थापा

हिमाल प्रेस ७ पुष २०८१ १४:४०
18
SHARES
नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेमाथि तुरुन्त कारबाही होस् : महामन्त्री थापा कांग्रेस महामन्त्री गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) का फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सका समर्थप्रति नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेमाथि कारबाहीको माग गरेका छन्।

महामन्त्री थापाले जनकपुर बोल्ट्सका समर्थकमाथि नश्लीय टिप्पणी गर्नेहरूमाथि कारबाही गर्न गृह प्रशासनसँग माग गरेका हुन्।

त्यस्ता टिप्पणी गर्नेहरूलाई मधेशी आयोगले कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई गरेको सिफारिसलाई उनले सकारात्मक कदम भनेका छन्।

‘जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लाग्ने खालको छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘मधेशी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ।’

यस्ता हर्कतहरू कुनै पनि बहानामा स्वीकार्न नसकिने बताउँदै थापाले यसमा तुरून्त कारबाही अगाडि बढाउन सरकारलाई ध्यानाकर्षण गराएका छन्।

‘सरकारले यसमा तुरून्तै कारबाही अगाडि बढाओस्। यी हर्कतहरू कुनै पनि बहानामा स्वीकार्न सकिँदैन। नो इफ, नो बट,’ उनले भनेका छन्।

एनपीएल प्रतियोगिताकाको क्वालिफायर २ मा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेर फाइनलमा प्रवेश गरेपछि सुदूरपश्चिम रोयल्सका समर्थकहरूले बोल्ट्स टिम र उसका समर्थकप्रति नकारात्मक टिप्पणीहरू गरेका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानका साथै सामाजिक सञ्जालमा समेत सुदूरपश्चिम रोयल्सका समर्थकहरूले सामाजिक सद्भाव बिगार्ने खालका नश्लीय, साम्प्रदायिक र मानहानी हुने खालका टिप्पणीहरू गरेका थिए।

यस्तै सीके राउत नेतृत्वको जनमत पार्टीले पनि जनकपुर बोल्ट्सका समर्थहरूप्रति नश्लीय टिप्पणी गर्नेमाथि कानुनी कारबाही गर्न माग गरेको छ।

जनमत पार्टीको पनि आपत्ति

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले एनपीएलको फाइनल खेलपछि काठमाडौँमा विजयउत्सव मनाइरहेका जनकपुर बोल्ट्सका समर्थक मधेशी समुदायलाई लक्षित गरेर अपमानजनक शब्द प्रयोग गर्नेहरूमाथि कारबाही गर्न माग गरेका छन्।

‘जनकपुर बोल्ट्सका समर्थक मधेसी समुदायका मान्छेहरूलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही युवाद्वारा विभिन्न अपमानजनक शब्द प्रयोग गर्दै गरिएको आक्रमण तथा कुटपिटप्रति जनमत पार्टीको ध्यानाकर्षण भएको छ,’ यादवले विज्ञप्ति निकालेर भनेका छन्,‘यस्ता रंगभेदी क्रियाकलाप गर्ने व्यक्तिहरूको पहिचान गरी गृह प्रशासनले काननुी दायरमा ल्याइ कडाभन्दा कडा कारबाही गर्न जनमत पार्टी माग गर्दछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast