माननीय शिक्षामन्त्रीज्यू! तपाईँको नेतृत्व र शिक्षाको क्षेत्रमा भएको योगदानप्रति पूर्ण सम्मान प्रकट गर्दै म तपाईँको ध्यान विद्यालयमा कार्यरत लेखापाल र विद्यालय सहयोगीका विषयमा आकर्षित गर्न चाहन्छु। मलाई विश्वास छ, तपाईँलाई लेखापालको भूमिकाबारे गहिरो ज्ञान छ। तर यस विषयमा अझै राज्यको ठोस कदमको अभावले पीडा महसुस गर्न बाध्य भएका छौँ।
विद्यालयमा लेखापालको भूमिका शैक्षिक गुणस्तर सुधारमा महत्त्वपूर्ण छ। यिनीहरू व्यवस्थापन विषयमा दक्ष, कम्प्युटर तथा प्रविधिमा निपुण र प्रशासनिक क्षमतामा सिपालु जनशक्ति हुन्। अहिले पनि यी कर्मठ कर्मचारीका लागि दरबन्दी सुनिश्चित गर्न सकिएको छैन, जसले उनीहरूको सम्मानजनक जीवनयापनको अधिकारलाई चुनौती दिएको छ।
हामीले बारम्बार सुन्दै आएका छौँ कि आगामी आर्थिक वर्षमा तलब र सेवा सुविधाको सुधारका लागि प्रयास गरिँदैछ। तर, समस्या समाधानको मुल उपाय यो मात्र हो भन्नु गल्ती हुनेछ। दरबन्दी सृजना गरी लेखापालहरूलाई स्थायित्व र गरिमामय भविष्यको सुनिश्चितता प्रदान नगरेसम्म शिक्षा क्षेत्रको व्यवस्थापन सुदृढ हुने छैन।
समस्या र समाधानका सम्भाव्य उपाय
१. दरबन्दी सुनिश्चितता : विद्यालयमा स्थायी दरबन्दी सिर्जना गरी योग्य र दक्ष लेखापालहरूको सेवा सुनिश्चित गर्नुपर्छ। यो शिक्षाको गुणस्तर र विद्यालय व्यवस्थापन सुधारको आधारशिला हुनेछ।
२. शिक्षा ऐनमा स्पष्ट व्यवस्थापन : संघीय शिक्षा ऐनको प्रारूपमा लेखापालको दरबन्दी, सेवासुविधा र भविष्य सुनिश्चित गर्ने प्रावधान समावेश गर्न आवश्यक छ।
लेखापालहरूको वास्तविकता
माननीयज्यू, लेखापालहरूले १३ हजार ५०० रुपैयाँजतिको तलबमा देशको शिक्षा प्रणाली सुधार्न अहोरात्र खटिरहेका छन्। यो रकमले न त उनीहरूको दैनिक जीवन चल्छ, न त परिवारका आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ। अहिले नै यथास्थिति परिवर्तन नभए भविष्यमा यो कुशल जनशक्ति देश बाहिर पलायन हुने निश्चित छ।
२०३६ सालको शिक्षक आन्दोलनको परिणामस्वरूप शिक्षकहरूको सेवा सुविधा सुधार गरियो। कर्मचारीहरूको सीमित संख्याका कारण लेखापालहरूको मागलाई बेवास्ता गरिएको छ। यो उनीहरूलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिएको महसुस गराउँछ।
हाम्रो माग
१. लेखापालहरूलाई स्थायी दरबन्दीको व्यवस्था हुनुपर्छ। सेवासुविधा र तलबको उचित पुनरवलोकन गरिनुपर्छ। भविष्यमा व्यवस्थापनसम्बन्धी कर्मचारीको उचित भूमिका सुनिश्चित गर्ने नीति निर्माण गर्न आवश्यक छ।
देश हाम्रा लागि पनि हो। हामीले पनि सम्मानपूर्वक बाँच्न पाउने अधिकार राख्छौँ। विद्यालयमा लेखा र प्रशासनिक कर्मचारी आवश्यक छैन भने स्पष्ट रूपमा निर्णय गरेर हामीलाई सम्मानजनक बिदाइ दिनुहोस्। हामीलाई अर्धसत्य र खोक्रो आदर्शको नाउँमा निराश बनाउनुभयो भने यो देशले कुशल जनशक्ति गुमाउनेछ।
अन्त्यमा, म तपाईंलाई स्मरण गराउन चाहन्छु कि मृत्यु निश्चित छ, तर सत्कर्मले मात्र भविष्यलाई सुधार्न सकिन्छ। हाम्रो प्रयास यही देशलाई समृद्ध र शिक्षाको गन्तव्य बनाउन हो। शिक्षा ऐनमार्फत सबै नागरिकलाई न्याय दिन सकियोस् भन्ने अपेक्षा राख्दै तपाईंको न्यायिक निर्णयको प्रतीक्षा गर्दछु।
तपाईंको सकारात्मक कदमको आशामा,
मुकेशकुमार यादव
विद्यालय सहायक (लेखापाल)
श्री बुद्धेश्वरी मा.वि
जहदा गाउँपालिका, वडा नं. १, मोरङ