नेपालले भारतसँग थप हवाई रूटको अपेक्षा गरेको छ : परराष्ट्रमन्त्री राणा

हिमाल प्रेस ५ पुष २०८१ २०:५४
22
SHARES
नेपालले भारतसँग थप हवाई रूटको अपेक्षा गरेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्ति हवाई रूट चाहेको बताएकी छन्।

शुक्रबार नयाँ दिल्लीमा आयोजित भारत–नेपाल आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालले भारतबाट थप हवाई रूटको अपेक्षा गरिरहेको बताएकी हुन्।

परराष्ट्रमन्त्री राणाले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न भारतसँग थप हवाई रूटको अपेक्षा गरेको उल्लेख गरिन्।

‘हामीले नेपालको पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौँ। पोखरा पर्यटन नगरी हो भने लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो। ती विमानस्थलबाट हामी पर्यटनमात्र नभएर समग्र सम्पर्क विस्तार पनि गर्न चाहन्छौँ। त्यसैले नेपालले यी दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि थप हवाई रूट चाहेको छ,’ उनले भनिन्।

महँगो खर्चमा विमानस्थल निर्माण गरेकाले तिनलाई पूर्ण रूपमा सफल बनाउन पनि आफ्ना छिमेकीसँग सहयोगको याचना गरिरहेको बताउँदै उनले भारतीय एयरलाइन्सहरूलाई नेपालमा थप उडानका लागि आग्रह गरिन्।

भारतका निजी एयरलाइन्सहरूलाई नेपालमा उडानका लागि आग्रह गर्दै नेपाल सरकार यसका लागि धेरैभन्दा धेरै सहुलियत प्रदान गर्न तयार रहेको उनले बताइन्।

नेपालले अतिरिक्त हवाई रूट प्राप्त गर्ने र यी दुवै विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालनमा आउन सक्ने भने नेपाल र भारतका पर्यटकीय सम्भावनाहरू थप उजागर हुनुका साथै दक्षिण एसियाकै कनेक्टिभिटीमा थप टेवा पुग्ने मन्त्री राणाको भनाइ थियो।

नेपाल र भारतबीच धार्मिक पर्यटनको अधिक सम्भावना रहेको उल्लेख गर्दै उनले रामायण सर्किट र बुद्ध सर्किट जस्ता संयुक्त पहललाई प्रभावकारी रूपमा प्रवद्र्धन गरेर दुवै देशले पारस्परिक लाभ लिनसक्ने र यसका लागि संयुक्त सहकार्य आवश्यक रहेको प्रस्ट पारिन्।

सम्मेलनमा मन्त्री राणाले नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरूलाई आग्रह पनि गरिन्।

उनले औपचारिक रूपमा गरिएका आर्थिक सहकार्यबाटै पछिल्लो समय सीमापारका ठूला पूर्वाधार रेल सम्पर्क, पेट्रोलियम पाइपलाइन, विद्युत प्रसारण लाइन, सडकलगायतका पूर्वाधार निर्माण भएको जिकिर गरिन्।

पछिल्लो समय सीमापार विद्युत व्यापारमा अभूतपूर्व प्रगति भएको भन्दै राणाले यस पहलको सुरूवात सन् २०२२ को अप्रिलमा नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनीबीच भएको ऐतिहासिक सम्झौताबाट भएको स्मरण पनि गरिन्।

भारतले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, संस्थागत निर्माण र नेपालको अद्योगिकीकरणमा पु¥याउँदै आएको सहयोगले यी दुई देशबीचको सम्बन्धलाई थप बलियो पनि बनाएको उनले बताइन्।

परराष्ट्रमन्त्री राणाले बिमस्टेक, बीबीआइएन, सार्कजस्ता मञ्चहरूलाई आर्थिक एकताका लागि अझ सुदृढ बनाउन र द्विपक्षीय आर्थिक सहकार्यमा पूर्णता दिनुपर्नेमा जोड दिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast