सप्तरी– सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ।
बजार अनुगमन टोलीले मंसिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो। यही पुस ३ गते बुधबार टोलीले बोदेबरसाइन नगरपालिका–५ मा माँ डाक्नेश्वरी टे«डर्समा छापमारी ५६ बोरा रासायनिक मल जफत गरेको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले जानकारी दिए।
उनका अनुसार डाक्नेश्वरी नगरपालिका–५ मा दर्ता रहेको उक्त टेड्रर्सले कालोबजारी गरी मल बिक्री गर्दै आएको थियो। मंसिर १९ गते डाक्नेश्वरी नगरपालिका–९ को आदर्श ट्रेडर्स एन्ड सप्लायर्सबाट दुई सय बीस बोरा र हनुमाननगर कङ्कालिनी नगरपालिका–७ का सत्यनारायण यादवको घरबाट मंसिर २६ गते एक सय ३९ बोरा मल जफत गरिएको थियो।
जफत गरिएको मल साल्ट ट्रेडिङको अनुदान प्राप्तमध्यकै रहेको सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताए। सो मल जफत गर्ने बेला सम्बन्धित व्यक्ति नभेटिएकाले कोही पनि पक्राउ नपरेको उनले जानकारी दिए।
अनुगमनका क्रममा बिल बीजकबिना कारोबार गर्दैआएका चारवटा संस्थालाई जरिवानासमेत गरिएको छ। हनुमाननगर कङ्कालिनी नगरपालिका–९ को नर्सिङ कृषि संस्था लिमिटेड, जयबाबा गणिनाथ उपभोक्ता संस्था लिमिटेड, हंस उपभोक्ता संस्था लिमिटेडलाई रु. पाँच हजार र कृति टेड्रर्स राजविराजलाई रु. बीस हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताए।
‘जरिवाना गरिएकाहरूले जरिवाना बुझाइसकेका छन् । मल जफत गरिएका संस्थाका व्यक्तिहरू तत्काल नभेटिएकाले त्यसमा कानुनबमोजिम कारबाही अगाडि बढाइएको छ,’ उनले भने।