काठमाडौँ- कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले ‘बे अफ बंगाल इनिसिएटिभ फर मल्टि–सेक्टरल टेक्निकल एन्ड इकोनोमिक को–अपरेसन (बीमस्टेक)’ बैठकमा भाग लिएका छन्।
थाइल्यान्डको राजधानी बैङकङबाट भर्चुअल रूपमा आयोजना भएको बीमस्टेकको चौथो उच्चस्तरीय पदाधिकारी बैठकमा उनी सहभागी भएका हुन्।
थाइल्यान्डका विदेश मामिला मन्त्रालयका उपसचिव पाइसन रुपानिचकिजले अध्यक्षता गरेको बैठकमा राईले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गरेका थिए।
कायममुकायम परराष्ट्र सचिव राईले बीमस्टेक चार्टरको उद्देश्यप्राप्तिका लागि प्रतिबद्धता व्यक्त गर्दै क्षेत्रीय सहयोगका मुख्य उपलब्धिबारे प्रकाश पारेका थिए।
उनले वर्तमान कानुनको प्रभावकारी कार्यान्वयन, समान जलवायु वित्तीय स्रोतका लागि सहकार्य र बीमस्टेकभित्र सहकार्यमाथि जोड दिएका थिए।
विभिन्न सम्झौतापत्र, प्रतिवेदन र सहकार्यका योजनाबारे छलफल भएको बैठकले नीतिगत विषयलाई आगामी बीमस्टेक मन्त्रीस्तरीय बैठकमा अनुमोदनका लागि सिफारिस गरेको छ।
बैङककमा हुने छैठौँ बीमस्टेक शिखर सम्मेलनको तयारीका विषयमा पनि बैठकमा छलफल भएको थियो।