पोखरा- पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीसँग थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता गरिएको छ। सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ प्रतिवादीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले शुक्रबार उनीहरुलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता गरेको हो।
जिल्ला अदालतका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार यसअघि गत १८ असोजमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएकोमा अहिले थपेर १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ कायम गरिएको हो। ती १९ जना प्रतिवादीलाई सहकारीको दफा थप र बिगो थप माग दाबी गरिएको लामिछानेले बताए। १६ जना प्रतिवादीलाई सहकारीको दफा थप, बिगो थपसहित संगठित अपराध ऐनको दफासहित माग दाबी गरिएको छ।
जीबीका हकमा मात्र सहकारीको दफा थप, बिगो थप, संगठित अपराध ऐनका दफासहित सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनअनुसारको दफा थपसहित पूरक अभियोग दर्ता हुन आएको लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए। पूरक अभियोगपत्रमा पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई भने प्रतिवादी बनाइएको छैन। उनीहरुको हकमा कानुनको म्यादभित्र अभियोगपत्र आउने लामिछानेले बताए।
रवि लामिछाने, डीआईजी छविलाल जोशी समेतविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ। सो प्रतिवेदनअनुसार ५१ जनालाई प्रतिवादीबाट १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ।
जिल्ला प्रहरी कार्यालयले झण्डै तीन महिना लगाएर लगेको अनुसन्धानको प्रतिवेदन पुस १ गते सरकारी वकिल कार्यालयमा बुझाएको थियो। प्रतिवेदन अध्ययन विश्लेषण गर्न समय लाग्ने भएपछि त्यसको २ गते अदालतले अन्तिमपटक ४ दिन म्याद थपको अनुमति दिएको थियो । जसको समयसीमा शुक्रबार मध्यरातदेखि सकिँदैछ।