रवि लामिछानेविरुद्ध मुद्दा दायर निश्चित, आजै अभियोगपत्र लैजाने तयारी

विजय नेपाल ५ पुष २०८१ ११:१५
644
SHARES
रवि लामिछानेविरुद्ध मुद्दा दायर निश्चित, आजै अभियोगपत्र लैजाने तयारी

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध अन्ततः मुद्दा दायर हुने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध अभियोगपत्र लैजाने तयारी गरेको हो।

जिल्ला प्रहरी कार्यालयले झण्डै ३ महिना लगाएर गरेको अनुसन्धानको प्रतिवेदन पुस १ गते सरकारी वकिल कार्यालयमा बुझाएको थियो। प्रतिवेदन अध्ययन विश्लेषण गर्न समय लाग्ने भएपछि त्यसको भोलिपल्ट अदालतले अन्तिमपटक ४ दिन म्याद थपको अनुमति दिएको थियो। जसको समयसीमा शुक्रबार मध्यरातदेखि सकिँदैछ।

‘सकेसम्म आजै (शुक्रबार) कम्तीमा एउटा मुद्दामा भए पनि अभियोगपत्र लैजाने तयारी छ,’ सरकारी वकिल कार्यालय स्रोतले भन्यो। स्रोतका अनुसार पछि बिस्तारै पूरक अभियोग लगिनेछ। शनिबार सार्वजनिक बिदा हुने भएकाले सकेसम्म शुक्रबार अभियोगपत्र टेकाउने तयारी सरकारी वकिल कार्यालयका कर्मचारी लागिपरेका छन्।

लामिछाने पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा अनुसन्धानका लागि  कात्तिक २ गते पक्राउ परेका थिए। सोही प्रकरणमा असोज ६ गते नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका थिए । लामिछाने र जोशीसमेत ५ जना विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनअनुसार ५१ जनालाई प्रतिवादीबाट १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा कानुनबमोजिम ९० दिनभित्र अनुसन्धान कार्य पूरा गरेर अभियोजन गरिसक्नुपर्ने हुन्छ। ६ असोजमा पक्राउ परेका जोशीको म्याद शुक्रबार ९० दिन पूरा हुने भएकाले सोहीबमोजिम लामिछानेको म्याद मिलान गरिएको थियो। लामिछाने  २ महिनादेखि प्रहरी हिरासतमा छन्।

संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गर्ने कार्यमा संलग्न रहेको भन्दै लामिछानेसहित जीबी राई, पूर्वडीआईजी जोशी, कुमार रम्तेलमाथि कारबाही सिफारिस गरेको थियो। सोबमोजिम लामिछाने र जोशी प्रहरी हिरासतमा छन्। रम्तेल पुर्पक्षका लागि कास्की कारागारको थुनामा छन्। फरार जीबी राईको खोजीकार्य भइरहेको छ।

कास्की कारागारमा रहँदाकै बखत लामिछाने, जोशीसमेतलाई बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको साहारा चितवन र वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन अभियोगमा अनुसन्धानका लागि सम्बन्धित सरकारी वकिल कार्यालयमा बयान गरेर पोखरा फिर्ता ल्याइएको थियो।

सहकारी ऐन, २०७४ तथा मुलुकी अपराध संहिता, २०७४ को ठगी कसुरमा गत वर्ष सुरुमा १९ जनालाई प्रतिवादी बनाई कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। जुन जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ। सूर्यदर्शन सहकारीका १८ हजार ७ सय जना बचतकर्ता छन्।

जिल्ला सरकारी वकिल कार्यालयले गत वर्ष १८ असोजमा दायर गरेको सो मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिबाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबी गरिएको थियो। तीमध्ये केही प्रतिवादी हाल पुर्पक्षका लागि थुनामा गए पनि अधिकांश फरार छन्।

लामिछाने पक्राउपछि केके भयो?

सहकारीको रकम अपचलन गरेको आरोपमा कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन पोखरा लगिएको थियो। यस अवधिमा उनी पोखरा, भैरहवा, चितवन, पर्सा र काठमाडौँमा गरी हिरासतमा रहेका छन्।

कात्तिक ४ गते कास्की जिल्ला अदालतले पक्राउको दिनदेखि लागू हुने गरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको थियो। यसपछि कात्तिक ८ गते कास्कीमै दोस्रोपटक सात दिन म्याद थप गरिएको थियो। कास्कीमा सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

कात्तिक २० गते कास्कीमै तेस्रोपटक १० दिन दिन म्याद थप गरी उनीमाथि अनुसन्धान गरिएको थियो। कात्तिक २५ गते चौथोपटक १३ दिन दिन म्याद थप गरिएको थियो। लामिछानेलाई सोही दिन अनुसन्धानका लागि पोखराबाट भैरहवा लगेर बयान लिइएको थियो। भैरहवास्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगेर अपचलन गरेको आरोपमा उनलाई रुपन्देही लगिएको थियो। लामिछानेलाई रूपन्देहीमा ३ दिन बयान लिएर कात्तिक ३० गते पोखर फर्काइएको थियो।

मंसिर ९ गते कास्कीमै पाँचौँपटक १५ दिन म्याद थप गरिएको थियो भने १३ गते अनुसन्धानका लागि पोखराबाट काठमाडौँ लगेर बयान लिइएको थियो। काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे थप अनुसन्धान गर्न उनलाई काठमाडौँ लगिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लामिछानेसँग बयान लिएको थियो।

काठमाडौँमा बयान सकिएपछि चितवनस्थित सहारा सहकारीको रकम हिनामिनामा पनि संलग्न देखिएको भन्दै पक्राउ पुर्जी जारी भएका लामिछानेलाई बयानका लागि १८ गते बिहान चितवन लगिएको थियो। चितवनमा २ दिनसम्म बयान सकेर उनलाई बिहीबार कास्की प्रहरी कार्यालयमा पुर्‍याइएको थियो। सभापति लामिछानेलाई रातारात गाडीमा पोखरा लगिएपछि उनको मानवअधिकार हनन भएको भन्दै आलोचना भएको छ।

लामिछानेलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै बयानका लागि पर्सा लगिएको थियो। वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेसँग बयान लिइएको थियो। त्यसपछि उनलाई पोखरा लगिएको थियो।
पुस २ गते लामिछानलाई थप ४ दिन म्याद भएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि म्याद हद ९० दिन रहेकामा अन्तिमपटक ४ दिन म्याद थप भएको थियो। उनलाई योसहित नवौँ पटक म्याद थप भएको थियो।

यसरी पक्राउ परेका थिए रवि

पोखरास्थित सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढालगायत १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो। पीडितले २२ माघ २०८० मा सभापति लामिछानेसहित १८ जना विरुद्ध कास्की प्रहरीमा पूरक जाहेरी दिएका थिए। तत्काल अनुसन्धान अघि बढेको थिएन।

प्रतिनिधिसभामा नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा संसदीय समिति गठन गरेर छानबिन हुनुपर्ने माग निरन्तर राखिरह्यो। कांग्रेसको निरन्तरको मागपछि जेठ १५ मा सहकारी समस्याबारे छानबिन गर्न एमाले सांसद् सूर्य थापाको नेतृत्वमा संसदीय विशेष समिति गठन गरिएको थियो। समितिले सहकारीको रकम अपचलनमा लामिछाने समेतलाई दोषी ठहर गर्दै २०८१ असोज ४ गते प्रतिवेदन बुझाएको थियो।

प्रहरीले प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई असोज ६ मा ‘जरुरी पक्राउ पुर्जी’ दिएर काठमाडौँबाट नियन्त्रणमा लिएको थियो। लामिछानेमाथि पनि सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोप छ। जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो। लामिछानेलाई सोही दिन अर्थात् कात्तिक २ गते नै पोखरा लगिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast