बंगलादेश र पाकिस्तानका नेताहरू सम्बन्ध बढाउन सहमत

हिमाल प्रेस ४ पुष २०८१ २०:३५
4
SHARES
बंगलादेश र पाकिस्तानका नेताहरू सम्बन्ध बढाउन सहमत

काठमाडौँ– बंगलादेशका अन्तरिम नेता मुहम्मद युनुसले पाकिस्तानसँग ‘सम्बन्ध बलियो बनाउन सहमत भएको’ बताएका छन्। यो निर्णयले भारतसँगको बंगलादेशको चिसो सम्बन्धलाई थप परीक्षण गर्ने सम्भावना छ।

पाकिस्तान र बंगलादेश कुनै समय एउटै राष्ट्र थिए। तर सन् १९७१ को युद्धमा विभाजित भए। त्यसपछि पाकिस्तानको कट्टर प्रतिद्वन्द्वी बंगलादेश भारततर्फ नजिकियो।

तर भारतको समर्थन पाएकी र अहिले त्यहाँ निर्वासनमा रहेकी नेता शेख हसिनालाई अगस्टमा विद्यार्थी नेतृत्वको क्रान्तिले सत्ताच्यूत गरेपछि ढाकाको नयाँदिल्लीसँगको सम्बन्ध बिग्रिएको छ।

इजिप्टमा एक सम्मेलनको साइडलाइन वार्तामा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफलाई भेटेका युनुसले ढाकाको सन् १९७१ को इस्लामाबादबाट रक्तपातपूर्ण अलगावबाट बाँकी रहेका तिक्तताहरू समाधान गर्न चाहेको बताए।

‘यी मुद्दाहरू बारम्बार आउन थालेका छन्,’ युनुसले भनेका छन्, ‘हामी अगाडि बढ्नका लागि ती मुद्दाहरू सुल्झाऔँ।’

सरिफले युनुससँग ‘न्यानो र सौहार्दपूर्ण आदानप्रदान’ भएको बताए। ‘सँगै, हामीले द्विपक्षीय र बहुपक्षीय सहयोगलाई गहिरो बनाउने हाम्रो प्रतिबद्धतालाई दोहोराएका छौँ,’ उनले समाजिक सञ्जाल एक्समा लेखेका छन्।

युनुसको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘दुवै नेता व्यापार, वाणिज्य र खेलकुद तथा सांस्कृतिक प्रतिनिधिमण्डलको आदानप्रदानको माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन सहमत भएका छन्।’

नोभेम्बरमा दशकौँपछि पहिलोपटक पाकिस्तानबाट बंगलादेशतर्फ सीधै यात्रा गरेको एक मालवाहक जहाजले चटगाँव बन्दरगाहमा सफलतापूर्वक कन्टेनरहरू उतारेको थियो।

दुवै नेताले मुस्लिम बहुल आठ देशको डी–८ आर्थिक सहयोग संगठनको कायरो शिखर सम्मेलनमा भाग लिइरहेका छन्।

युनुसले इस्लामाबाद र नयाँदिल्लीबीचको बहसका कारण धेरै हदसम्म रोकिएको आठ राष्ट्रीय दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनर्जीवित गर्न कटिबद्ध रहेको बताए।

प्रकाशित: ४ पुष २०८१ २०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast