काठमाडौँ- बारा प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–२२ तीन नम्बर पुलनजिकबाट प्रहरीले ९७ किलो गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
तीन नम्बर पुलस्थित सडकदेखि पूर्व टावर डाँडाको विरूवा खोलाको झाडीमा लुकाइ छिपाइ राखेको अवस्थामा गाँजा बरामद भएको बारा प्रहरीका प्रवक्ता डीएसपी बलराम श्रेष्ठले जानकारी दिएका छन्।
उनले गाँजा ओसारपसरमा प्रयोग भएको बा ११ च ७०१२ नम्बरको कारसहित दुई जनालाई नियन्त्रणमा लिएको बताए।
पक्राउ पर्नेमा गाडी चालक चितवन राप्ती नगरपालिका–२ गडौली टोल बस्ने ३५ वर्षीय विष्णु लामा र गाडीमा सवार भरतपुर महानगरपालिका–२४ सिद्धार्थ टोल बस्ने ४६ वर्षीय टेकबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा र पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।