इटहरी- कोशी प्रदेश सरकारले आयोजना गर्ने तय भएको लगानी सम्मेलन कुनै संघसंस्थाले नगरेर प्रदेश सरकारले नै गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्। प्रदेशसभाको सुशासन तथा योजना समितिको बैठकमा मुख्यमन्त्री कार्कीले बाहिर चर्चा गरेजस्तो विवाद नरहेको दाबी गरे।
यसअघि विभिन्न संस्थाले लगानी सम्मेलन गर्ने प्रचार गरिएपछि मुख्यमन्त्री कार्कीले यस्तो दाबी गरेका हुन्। निजी क्षेत्रको सहकार्यमा यो सम्मेलन गर्ने उनले बताए।
‘कुनै एउटा संगठनको ब्यानरमा नभए सम्मेलन सरकारले गर्ने हो। तयारी पूरा भएपछि एउटा ‘ग्रान्ड’ पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने तयारी छ, सरकार मूल आयोजक हुन्छन्। पूर्ण प्रस्ताव बनेपछि थप छलफल हुनेछ,’ मुख्यमन्त्री कार्कीले भने, ‘मलेसियाका पूर्वअर्थमन्त्री आउने प्रतिवद्धता जनाउनु भएको छ। विश्व बैंकका पूर्वसीईओ पनि आउने सम्भावना छ। प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरू पनि सहभागी हुनु हुनेछ। यो, साझा लगानी सम्मेलन हो। यसका लागि तीन करोड ३० लाख रुपैयाँ विनियोजन भएको छ।’
बजेट लगानी बोर्डलाई पठाइएको र बजेट बाँडफाँट गरेर बोर्डले पास गरेको उनले बताए। मुख्यमन्त्री कार्कीले राजनीतिक दल, नेपाल सरकारका माथिल्ला निकाय, संसदीय दल, लगानी बोर्ड तथा योजना आयोग आदिको सल्लाह सुझावसमेत लिएर अगाडि बढेको बताए।
लगानी सम्मेलनका विषयमा विभिन्न प्रश्न उठिरहेको सन्दर्भमा प्रदेश सभाको सुशासन तथा योजना समितिले मुख्यमन्त्री कार्की र प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोज कोइरालासँग छलफल गरेको थियो। कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि तीन दिनसम्म विराटनगरमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ।