एकीकृत समाजवादी : विधान मिचेर नेता व्यवस्थापन

किरण पौडेल ३ पुष २०८१ २१:३७
14
SHARES
एकीकृत समाजवादी : विधान मिचेर नेता व्यवस्थापन नेकपा(एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ– कहिले विभाजनको डिलमा पुगेको त कहिले गुटले गाँजेको चर्चाले नेकपा एकीकृत समाजवादीलाई अझै छाडेको छैन। गत असारमा सम्पन्न महाधिवेशनपछि त समाजवादी झनै त्रासादीमा छ।

पार्टी नेतृत्वले नियोजित रूपमा केन्द्रीय पदाधिकारीमा हराएको भन्दै पार्टी छाड्ने हल्ला पनि चलेकै हो। यतिबेला पार्टी विभाजनको हल्ला सामसुम भए पनि गुटगत प्रवृत्ति भने उघरिएको छ। गुटकै विवादमा रूमलिएर अध्यक्ष माधव नेपालले महाधिवेशनको पाँच महिनासम्म विभागीय जिम्मेवारी बाँड्न सकेनन्।

त्यसो त, पोलिट्ब्युरोदेखि पदाधिकारी चुन्न पनि केन्द्रीय नेतृत्वलाई सकस परेकै हो। असारमा सम्पन्न महाधिवेशनले तीन पदाधिकारी (अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल) मात्रै चुन्नसक्यो।

आफूहरूले अधिकार पाएर पनि केन्द्रीय नेतृत्वका अन्य पदाधिकारी चुन्न नपाएको भन्दै महाधिवेशनका बेला नेताहरूबीच असन्तुष्टि देखिएको थियो। अध्यक्ष नेपालले सर्वसम्मत नेतृत्व चुन्न अन्य नेतासँग बाक्लै छलफल चलाएका थिए। तर बोली नबिकेपछि गत भदौमा केन्द्रीय कमिटी बैठकबाट पोलिट्ब्युरो र पदाधिकारी चुन्ने निर्णय लिए, नेपालले।

नेपालको त्यो निर्णय पनि घातक नै बन्यो। उनी र उनीनिकट नेताले ‘चिट’ बाँडेर अन्य लोकप्रिय नेताहरू हराएको आरोप लाग्यो। समाजवादीमा महाधिवेशनकै कारण नेताहरू असन्तुष्ट बनेको र विभाजनको घर्सा कोरिएको विषय उठ्यो।

‘महाधिवेशनकै कारण पार्टीमा तिक्तता बढ्यो। नयाँ गुट निर्माणदेखि पार्टीमा असन्तुष्ट हुने क्रम बढेको छ,’ समाजवादीका एक पदाधिकारी भन्छन्। महाधिवेशनदेखि बढेको तिक्तता अझै साम्य हुनसकेको छैन। त्यसले गर्दा पनि समाजवादीको विभागीय जिम्मेवारी टुंग्याउन पाँच महिना लाग्यो।

समाजवादी नेताहरूका अनुसार पार्टीका सानासाना जिम्मेवारी बाँडफाँटमा पनि अहिले तिक्तता देखिने गरिएको छ। यसअघि नै अध्यक्ष नेपालले विभागीय जिम्मेवारी बाँडफाँट गर्न खोजेको थिए। तर एउटै पदमा धेरै आकांक्षी देखिएपछि नेपाल जिम्मेवारी बाडफाँटबाट पछि हटे।

खासमा नेपाल र महासचिव भुसाल निकट नेताले गुटकै बार्गेनिङ गरेकाले सकस परेको थियो। समाजवादीका एक नेताका अनुसार संगठन विभागको जिम्मा लिनका लागि तीन जना नेताको दाबी थियो– महासचिव घनश्याम भुसाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता वेदुराम भुसाल।

वेदुराम माधव नेपाल निकटस्थ रहेकाले उनलाई नेपालले नै चाहेको समाजवादीका नेताहरूको भनाइ छ। तर, नेपालले भुसाल र पाण्डेलाई ब्याक गराएर बेदुरामलाई जिम्मेवारी दिए। कतिपयले नेपालले भुसालपक्षीय नेतालाई पेलेको बताउने गरेका छन्।

यता, विदेश विभाग प्रमुखका लागि सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता प्रमेश हमालले दाबी गरेका थिए। यहाँ नेपालले खनाललाई जिम्मेवारी दिएका छन्। गएको महाधिवेशनमा अन्तिम समयमा खनालले नेपाललाई अध्यक्षमा समर्थन गर्न पुगेका थिए। यही कारण पनि नेपालले खनाललाई गुन तिरेको समाजवादीका एक नेताको भनाइ छ।

प्रचार विभागको प्रमुखका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेका साथै उपाध्यक्षद्वय जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, सचिवद्वय मेटमणि चौधरी, सोमप्रसाद पाण्डेको नाम चर्चामा रहेको थियो।

उपाध्यक्ष खतिवडा र सचिव पाण्डेले प्रचार वा अर्थ विभाग प्रमुखको जिम्मेवारी पाउनुपर्ने दाबी गरेका थिए। तर प्रकाश ज्वालालाई प्रचार विभागको जिम्मेवारी दिइएको छ। यस्तै पार्टी स्कुल विभागका लागि वरिष्ठ नेताद्वय डा. वेदुराम भुसाल र प्रमेश हमालले दावी गर्दै आएका थिए। यो जिम्मेवारी प्रमेश हमालले पाएका छन्।

विभागीय जिम्मेवारी बाँडेपछि फेरि लफडा

मंगलबार (पुस २ सम्म) चलेको समाजवादीको पोलिट्ब्युरो बैठकले लगभग विभागीय जिम्मेवारी टुंग्याएको थियो। तर अन्तिममा केही नेताले असन्तुष्टि जनाएपछि जिम्मेवारी सार्वजनिक गर्न रोकियो।

‘प्रकाश दाइ (ज्वाला) ले प्रचार विभागको जिम्मेवारी लिन चाहनुभएको छैन। यसैले रोकिएको थिएन,’ एक नेताले भने,‘यस्तै अन्य जिम्मेवारीमा पनि लफडा निस्किएको छ। त्यसैले फेरि समस्या देखिएको छ।’

यस्तै, कोशी प्रदेश इन्चार्ज राजेन्द्र राई, मधेश प्रदेश इन्चार्ज धर्मनाथ साह, बामगती इन्चार्ज गंगालाल तुलाधर, गण्डकी इन्चार्ज श्रीनाथ बराल, लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरी, कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशी बनेका छन्।

‘पार्टीमा अलिकति समस्या पर्नु ठूलो कुरा होइन। अब लगभग समस्या समाधान भइसक्यो,’ समाजवादी सचिव सोमप्रसाद पाण्डेय भन्छन्,‘सबैको चित्त नबुझ्न सक्छ। तर हामीले मिलाउने प्रयास गरेका छौँ।’

विधानविपरीत स्थायी कमिटी

स्थायी कमिटीमा सदस्य मनोनीत गर्दा विधान उल्लंघन भएको नेताहरूले गुनासो गरेका छन्। तल्लो कमिटीको एक तिहाइ सदस्य मात्र माथिल्लो कमिटी बनाउने समाजवादीको विधानमा व्यवस्था छ।

जस्तो, समाजवादीको केन्द्रीय कमिटी ३४४ सदस्यीय छ। यसको एक तिहाइ पोलिट्ब्युरो बनाउने प्रावधान छ। पोलिट्ब्युरोमा ११५ सदस्य रहने व्यवस्था छ।
विधानमा स्थायी कमिटी ३९ सदस्यीय हुने प्रावधान छ। तर समाजवादीले ४४ सदस्यीय स्थायी कमिटी बनाएको छ।‘यो जे बनाइएको छ। यो नियम विपरीत नै हो,’ पोलिट्बय्युरो सदस्य नरेश शाही भन्छन्,‘विधानमा यो प्रावधान नै छैन।’

केन्द्रीय नेताहरूले अब विधान संशोधन गरेर स्थायी कमिटीमा भएका हेरफेर मिलाउने आश्वासन दिएका छन्।

जम्बो बन्यो सचिवालय

गएको महाधिवेशनबाट समाजवादी राष्ट्रिय पार्टीसमेत बन्न सकेन। तर त्यही समाजवादीका माथिल्ला कमिटी भने भद्दा बनेका छन्। स्थायी कमिटीबाट २४ सदस्यीय सचिवालय बनाउने निर्णय भएको छ। यस्तै पराजित नेताहरू समेत स्थायी कमिटीमा परेपछि आलोचना भइरहेको छ।

स्थायी कमिटीमा रामकुमारी झाँक्री, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवराल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्का, डा वंशीधर मिश्र, बलराम बाँस्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, साध्यबहादुर भण्डारी, रामचन्द्र यादव र लक्ष्मण पौडेललाई मनोनीत गरिएको छ।

प्रकाशित: ३ पुष २०८१ २१:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast