समाधान भयो लुम्बिनी विहार र होटल व्यवसायीबीचको विवाद

हिमाल प्रेस ३ पुष २०८१ १९:४४
40
SHARES
समाधान भयो लुम्बिनी विहार र होटल व्यवसायीबीचको विवाद

लुम्बिनी- विगत लामो समयदेखि लुम्बिनी होटल संघ नेपाल र लुम्बिनी विहार क्षेत्र बीचको विवाद समाधान भएको छ। लुम्बिनी विकास कोषको नेतृत्वमा लुम्बिनी होटल संघ, लुम्बिनी सांस्कृतिक नगरपालिका र जिल्ला प्रशासनको समेत संलग्नतामा होटल र विहारका बिषयमा देखिएका समस्याहरू समाधान गर्ने गरी कार्यविधि तयार भएपछि उत्पन्न विवाद र असमझदारी अन्त्य भएको हो।

बुधबार लुम्बिनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेको उपस्थितिमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) सहित होटल व्यवसायी, विहारका प्रतिनिधिहरूको बैठकले विवाद समाधान गर्दै कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ।

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बाहरूमा तीर्थयात्रीहरूलाई होटलमा जस्तै सुविधा दिएर राखेको जस्ता विषयलाई लिएर लामो समयदेखि विवाद सिर्जना हुँदै आएको थियो। होटेल व्यवसायी र गुम्बा विहारको विषयले अन्तर्राष्ट्रियस्तरमा समेत नकरात्मक प्रचार हुन नदिन कोषकै नेतृत्वमा लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१ तयार पारिएको हो।

कार्यविधि कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनीमा गुम्बा विहार र होटल व्यवसायीविचको असमझदारीलाई कार्यविधि बनाएर हल गर्नु निकै सकारात्मक भएको बताए। उनले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यहाँ विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्ने गरी वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले लुम्बिनीमा सरसफाइको समस्या जटिल भएकाले यसतर्फ ध्यान दिएर काम गर्न सुझाव दिए।

दुई पक्ष बीचमा भएको सहमति पूर्णरूपमा कार्यान्वयन गर्न लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले निर्देशन दिएका छन्। उनले आफू लुम्बिनीमा अध्यात्मिक वातावरण बनाउन दिनरात खटिएको बताउँदै लामो समयदेखि होटल व्यवसायी र गुम्बाविहारका बीचको द्वन्द्व अन्त्य गर्न सफल भएको बताए। उनले विवादले अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको गलत सन्देश गइरहेकोमा अब त्यसको अन्त्य भएको बताए।

उनले लुम्बिनी विकास कोष सहित होटल व्यवसायी र गुम्बा विहारका प्रतिनिधिहरुबीचको छलफलबाट कार्यविधि तयार पारिएकाले अब यसको कार्यान्वयन सबै मिलेर गर्नुपर्ने बताए। उपाध्यक्ष डा. लामाले बुद्धजन्मस्थल लुम्बिनीमा विश्वभरका बौद्धमार्गीहरूलाई आकर्षित गर्न सक्नुपर्ने बताउँदै गुम्बा विहार र होटलको समस्या एकैठाउँमा बसेपछि समाधान भएको बताए।

उनले अब अध्यात्मिक वातावरण बनाउनका लागि सबैले हातेमालो गर्नेबेला आएको बताए। भिक्षु, लामा गुरुहरू लुम्बिनी आउन पाउँदा निकै खुसी हुने बताउँदै उपाध्यक्ष डा. लामाले सामान्य विवादले पनि अन्तर्राष्ट्रियस्तरमा गलत सन्देश जाने भएकाले सबै सचेत हुनुपर्ने बताए।

यस्तै लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले गुम्बाविहार र होटल व्यवसायीबीच भएको असमझदारी कार्यविधि बनेसँगै अन्त्य भएको बताए। उनले कार्यविधिको इमान्दारीपूर्वक कार्यान्वयन गर्न आग्रह समेत गरे।

कार्यविधिले गुम्बा विहारमा निश्चित संख्यामा भिक्षु, लामा भन्ते, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादाताहरूलाई मात्रै राख्ने र होटल व्यवसायीहरूले समेत गुम्बा विहारमा आएका धार्मिक तीर्थयात्रीहरूलाई आत्मिक स्वागत सत्कार गर्ने गरी कार्यविधि तयार पारिएको जनाइएको छ।

छलफलमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा, महासचिव पुरुषोत्तम अर्याल लगायतको उपस्थिति थियो।

प्रकाशित: ३ पुष २०८१ १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast