लुम्बिनी- गृहमन्त्री रमेश लेखकले मन्त्री र सरकार परिवर्तन कुनै पनि हालतमा नहुने बताएका छन्। केही दिनअघि भारतीय रअका पूर्व ऐजेन्टले एक महिनामा नेपालको सरकार परिवर्तन हुन्छ भनेर गरेको टिप्पणीबारे पत्रकारहरूले प्रश्न गरेपछि गृहमन्त्री लेखकले नेपालका मामिलामा बाहिरी व्यक्तिले गरेको टिप्पणीको कुनै अर्थ नरहेको बताएका हुन्। नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले अस्थिरता चाहनेहरूले फैलाएको हल्ला निराधार रहेको स्पष्ट पारेका हुन।
‘यो सरकार कसैले कँहीबाट कोसिस गरे पनि बदल्नेवाला छैन’ गहृमन्त्री लेखकले भने। सरकार फेर्ने, मन्त्री फेर्ने हल्ला अस्थिरता चाहनेहरूले कुनाकाप्चाबाट गरेको भए पनि त्यो सफल नहुने उनको भनाइ छ। सरकार बन्न पाएको हुँदैन, सरकार फेरिन्छ भन्ने हल्ला चलाउने प्रचलन बनिसकेको उनले बताए।
‘यो सरकारलाई साउन कट्दैन भन्थे, दशैं तिहार कट्दैन भन्थे, त्यो त पूरा भइसक्यो नि’ गृहमन्त्री लेखकले भने –‘प्रधानमन्त्री चीनबाट फर्किन त देउ भन्थे, अब भारत गएपछि फेरी यस्तै हल्ला चलाइन्छ, तर सरकार कसैको चाहनाले ढल्दैन।’ उनले अस्थिरता चाहनेहरूले सरकार परिवर्तनको हल्ला फैलाउने गरेको टिप्पणी गरे।
उनले हालै सम्पन्न भएको उपनिर्वाचनले कांग्रेस र एमाले नै पहिलो र दोस्रो दलका रुपमा स्थापित गरेको दाबी गर्दै ठूला दुई दलबीचको सहकार्य संविधानको कार्यान्वयनका लागि भएको बताए।। उनले देशका ठूला पार्टीहरू मिलेर सरकार बनेकाले २०८४ सम्म स्थिर रुपमा अगाडि बढ्ने प्रतिबद्धता जनाए।
गृहमन्त्री लेखकले भिडले अदालतमा भइरहेको अनुसन्धान प्रक्रियालाई बिथोल्ने चेष्टा नगर्न समेत चेतावनी दिए। सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने उनको भनाइ छ।
शासन सत्ता भिडले नभई कानुनले चल्ने भन्दै उनले हरेक कुराको न्याय र अन्याय छुट्याउनका लागि अदालत रहेको समेत स्पष्ट पारे। ‘सत्ता चलाउने कानुनले हो, भिडले होइन,’ गृहमन्त्री लेखकले भने ‘पछिल्ला दिनहरूमा प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, अदालत लगायतका स्थानहरूमा भिडले प्रभावित गर्ने प्रयास भइरहेको छ, त्यो नियन्त्रण हुनैपर्छ।’
संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने गृहमन्त्री लेखकको दाबी छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको भन्दै अदालतको आदेशअनुसार नै अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले बताए।
चितवनबाट पोखरा लैजाने क्रममा रवि लामिछानेमाथि कुनै पनि मानवअधिकार उल्लंघनको नभएको उनले बताए। ‘सरकार हरेक व्यक्तिको मानवअधिकार रक्षाका लागि प्रतिबद्ध छ,’उनले भने–‘सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ।’
जनताले दुःख गरेर जम्मा गरेको करोडौं रकम हिनामिना गर्नेमाथि अनुसन्धान हुँदा भिड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ। उनले सहकारी प्रकरणमा जोडिएका जीबी राईलाई छ्ट्टिै प्रहरीले पक्राउ गर्नेसमेत बताए।