काठमाडौँ- जयकिसन कोल्सावाल र विल बसिस्टोको अर्धशतकप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेरमा चितवन राइनोजसामू १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पार्यो।
कर्णालीका लागि जयकिसन कोल्सावालाले ५३, विल बसिस्टोले ५२, चाडविक वाल्टनले अविजित ४६ र जिसन मक्सुदले १४ रन बनाए। चितवनका लागि सोहेल तन्वीरले दुई तथा शरद भेषावकर, कुशल मल्ल र रवि बोपाराले समान एक विकेट लिए।
दोस्रो ओभरको पहिलो बलमा सोहेल तन्वीरले ऋत गौतमलाई रनको खाता पनि खेल्न नदिई विकेटकिपर विपिन रावलबाट क्याच गराए। पाँचौं ओभरको अन्तिम बलमा जिसन मक्सुद पेभेलियन फर्किए। १२ बलमा सामन एक चौका र छक्कासहित १४ रन बनाएका उनलाई शरद भेषावकरले रन्जित कुमारबाट क्याच गराए।
रवि बोपाराले १३औं ओभरको चौथो बलमा ५३ रन बनाएका जयकिसन कोल्साबलाई पेभेलियनको बाटो देखाए। ३९ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका उनी शरदबाट क्याच भए। कुशल मल्लले १४औं ओभरको चौथो बलमा गुल्सनकुमार झालाई खाता पनि खेल्न नदिइ बोल्ड गरे।
विल बसिस्टो १९औं ओभरको दोस्रो बलमा पेभेलियन फर्किए। ३९ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५२ रन बनाएका उनलाई तन्वीरले बोल्ड गरे। अन्तिम ओभरको चौथो बलमा देव खनाल रन आउट भए। उनले तीन रन मात्रै बनाउन सके।