इटहरी- द योङ ब्रदर्श क्लब इटहरीको आयोजनामा आगामी माघ १९ गतेदेखि दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप आयोजना हुने भएको छ। मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइयो।
क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार आगामी माघ १९ गतेदेखि इटहरी ५ मा रहेको जनता बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा आठ वटा टिम सहभागी हुने उनले बताए।
उनका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ। अघिल्लो वर्ष विजेतालाई दुई लाख २२ हजार प्रदान गरिएको थियो भने उपविजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका थिए। तर यस वर्ष पुरस्कार राशि बढाइएको सुब्बाले बताए।
खेललाई इटहरी उपहानगरपालिकाले संयोजन गरेको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्डले संरक्षण गरेको खेल संयोजक विकास केसीले बताए। उनका अनुसार अघिल्लो वर्ष प्रतियोगितालाई पारदर्शी बनाइएका कारण यस वर्ष पनि फुटबल प्रतियोगिताको तयारी गरिएको हो।
यहाँको सबैभन्दा पुरानो उक्त क्लब रहेको र खेल क्षेत्रमा लाग्ने युवाहरू कुलतबाटसमेत मुक्त हुने भएकाले प्रतियोगिता आयोजना गर्न लागिएको केसीले बताए। उनका अनुसार खेलमा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने तयारी छ।
जसअनुसार सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १० हजार, उत्कृष्ट डिफेन्डरलाई नगद १० हजार, उत्कृष्ट मिड फिल्डरलाई नगद १० हजार, उत्कृष्ट स्ट्राइकरलाई नगद १० हजार र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १० हजारसहित ट्रफी र मेडलसहित प्रमाणपत्र वितरण गरिनेछ। यसैगरी प्रत्येक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद पाँच हजार प्रदान गरिनेछ।
प्रतियोगितामा २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। अघिल्लो वर्ष भएको प्रतियोगितामा बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब)तेह्रथुमले उपाधि जितेको थियो।