माओवादीमा नन्दबहादुर पुन सक्रिय बन्न खोज्नुको भित्री कुरा

किरण पौडेल २ पुष २०८१ १६:४३
604
SHARES
माओवादीमा नन्दबहादुर पुन सक्रिय बन्न खोज्नुको भित्री कुरा

काठमाडौँ-  पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्कने निश्चित भएको छ। झन्डै दशकसम्म उपराष्ट्रपति बनेका पुन फेरि राजनीतिमा सक्रिय हुने निश्चित भएको माओवादी नेताहरूले बताएका हुन्। संवैधानिक रूपमा उनी पदमा रहँदा माओवादीको सदस्यता त्यागेका थिए। तर अब उनी मौन वा निष्कृय जीवन जिउने पक्षमा नरहेको उनी निकटहरू बताउँछन्। माओवादी नेताहरूका अनुसार प्रचण्डकै आग्रहमा यसअघि पुन बैठकमा उपस्थित थिए। पुनलाई सक्रिय बनाउन प्रचण्ड लागि परेको पार्टी पदाधिकारीहरू बताउँछन्।

गत कात्तिक २६ मा प्रचण्ड निवासमा बसेको पदाधिकारी बैठकमा पुन अतिथिका रूपमा सहभागी थिए। माओवादी सचिव डिलाराम आचार्य पुनलाई कुन पद दिने भन्नेबारे टुंगो नलागेको बताउँछन्। माओवादी उच्च स्रोतका अनुसार प्रचण्डले उपाध्यक्ष पद दिन चाहेका छन् तर पुनले भने वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका छन्। ‘उहाँ आफू पूर्वउपराष्ट्रपति भएकाले दोस्रो वरीयता दिन भनिरहनुभएको छ। तर उपाध्यक्ष लिन अध्यक्षको प्रस्ताव छ’, माओवादीका एक पदाधिकारी भन्छन्।

महराको भूमिका लिने र वर्षमान-जनार्दनलाई ‘सन्तुलन’

पुनलाई प्रचण्डले सक्रिय राजनीतिमा ल्याउन चाहेका हुन् वा उनी आफैँ सक्रिय बन्न चाहेका हुन् भन्ने विषयमा माओवादी नेताहरूले दोधारे जबाफ दिएका छन्। कतिपयले अहिले पनि उपराष्ट्रपति पदमा बसेको व्यक्ति सक्रिय राजनीतिमा आउन नहुने मत राखिरहेका छन्। ‘उहाँ (नन्दबहादुर) सक्रिय राजनीतिमा आउनु उचित हो। किनभने सेवासुविधा लिएर बस्नु उचित हुन्न’, माओवादी नेता राम कार्की भन्छन्।

कार्कीका अनुसार माओवादीमा पुनका बारेमा औपचारिक छलफल भएको छैन। माओवादीमा प्रचण्डले पुन कार्ड खोजेको कतिपय नेताको भनाइ छ। पहिलो कुरा, माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा सक्रिय नभएपछि उनको भूमिकामा प्रचण्डले पुनलाई ल्याउन खोजेको नेताहरूको भनाइ छ।

‘नन्दबहादुरजी समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने नेता हो। त्यसैले पनि उहाँलाई समन्वयमै ल्याउने अध्यक्षको चाहना हुन सक्छ’, माओवादीका एक नेता भन्छन्। शारीरिक कमजोरी र विभिन्न प्रकरणमा जोडिएका कारण महरा माओवादीमा सक्रिय छैनन्।

महरा माओवादीका पछिल्ला बैठकमा समेत सहभागी हुन छाडेका छन्। उनको स्थान पुनले लिने माओवादी नेताहरूको भनाइ छ। महराकै कारण माओवादीमा नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेता नजिकिएका थिए। महरा ‘निष्कृय’ भएपछि विप्लवसँग एकताको कुरा हराएको छ।

विप्लवले पनि प्रचण्डले एकताका विषय सक्रियता नजनाएको बताइसकेका छन्। विप्लवले कपिलवस्तुमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकमा ‘प्रचण्डको अलमल, उदासीनता, विकेन्द्रित मानसिकता र अस्पष्टताका कारण पार्टी एकता अन्योल’मा परेको बताएका छन्।

पुनको माओवादी प्रवेशले दोस्रो स्तरका दुई नेताबीच सन्तुलन मिल्ने नेताहरूको बुझाइ छ। माओवादीमा अहिले उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माबीच राम्रो सम्बन्ध छैन। शर्माले प्रचण्डमाथि प्रश्न उठाउँदै आएका थिए।

साउनमा बसेको स्थायी समिति बैठकमा प्रचण्डविरुद्ध ‘फरक’ प्रतिवेदन प्रस्तुत गरेका थिए। वर्षमान र शर्माको सम्बन्ध सन्तुलित राख्न पनि प्रचण्डले नन्दबहादुरलाई ल्याउन खोजेको नेताहरूको भनाइ छ। ‘उहाँ(नन्दबहादुर) राजनीतिमा आउँदा हामीलाई आपत्ति छैन। उहाँ पार्टीबाटै जानुभएको हो’, वर्षमानले भनेका छन्। पार्टी निर्माण गर्न अब नन्दबहादुर मात्र नभई अन्य घटक पनि माओवादीसँग एकतामा जोडिनुपर्ने वर्षमानको भनाइ छ।

नारायणकाजी मिलाउन ‘अमिक शेरचन’ कार्ड

नन्दबहादुरलाई उपाध्यक्ष दिँदा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले असन्तुष्टि राखिरहेका छन्। किनभने नारायणकाजीले नन्दबहादुरको आगमनले ‘थ्रेट’ सम्झेका छन्। यही विषयलाई सन्तुलित गर्न प्रचण्डले अमिक शेरचनलाई पनि सक्रिय राजनीतिमा ल्याउने तयारी गरेका छन्।

पूर्वमसालका नेता अमिक दुई पटक प्रदेश प्रमुख समेत हुन्। उनी नारायणकाजी गुटकै नेताका रूपमा चिनिन्छन्। शेरचनलाई समेत उपाध्यक्ष दिएर नारायणकाजीको भाग मिलाउने तयारीमा प्रचण्ड लागेको माओवादी नेताहरूको भनाइ छ। नन्दबहादुर प्रवेशको विषयलाई इंगित गर्दै नारायणकाजीले पदीय गरिमा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए। कतिपय नेताहरूका अनुसार नन्दबहादुरसमेतले नारायणकाजीले ‘लाभको राजनीति’ मात्र गरेको बताउने गरेका छन्। यसले गर्दा पनि नन्दबहादुर-नारायणकाजी सम्बन्ध तिक्त हुने बुझाइ छ।

विधान संशोधन गरेर पदाधिकारी बढाइँदै

यसअघिको पदाधिकारी बैठकले विधान संशोधन गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देवप्रसाद गुरुङ तथा उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेको कार्यदल बनाएको थियो। कार्यदलले पार्टी पदाधिकारीको संख्या बढाउने गरी विधान संशोधनको मस्यौदा तयार पारेको थियो। उक्त मस्यौदालाई आउँदो केन्द्रीय समितिबाट पारित गर्ने तयारीमा माओवादी छ।
माओवादी केन्द्रमा अहिले एक वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ६ उपमहाचिव, ९ सचिव र एक जना कोषाध्यक्ष छन्।

अध्यक्ष प्रचण्ड पार्टीको महाधिवेशनअघि फेरि पदाधिकारी संख्या बढाउने तयारीमा लागेका हुन्। अध्यक्ष प्रचण्ड केन्द्रीय समिति बैठक धकेल्दै पदाधिकारी थप्ने गृहकार्यमा जुटेका हुन्। माओवादीका कुनै पनि ३ तह (पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी) बैठक प्रचण्डको चाहनाविपरीत बस्दैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast