
इटहरी- इटहरीमा नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। यही पुस ६, ७ र ८ गते हुने महाधिवेशनको सुरु दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो। महाधिवेशनमा करिब पाँच हजार जना सहभागी हुने तयारी रहेको महाधिवेशन निर्देशक दीपक ढकालले बताए।
उनका अनुसार देशैभरका एक सय ७८ शाखाबाट जेसीजका सदस्यहरू सहभागी हुुनेछन्। महाधिवेशनबाट सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुनेछन्।
पुस ६, ७ र ८ गते इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा महाधिवेशन हुनेगरी तयारी अन्तिम चरणमा पुगेको ढकालले बताए। ‘पुस ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट औपचारिक उद्घाटन भएपछि बाँकी कार्यक्रम अगाडि बढ्छन्,’ उनले भने, ‘कार्यक्रम तालिका अन्तर्गत प्रकरण गोष्ठी, शान्ति पदयात्रा, वक्तित्वकला, पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगिता र नेपाल जेसीजको वार्षिक साधारणसभा सम्पन्न हुनेछ।’
महाधिवेशनका लागि कोशी प्रदेश सरकारले अभिभाकत्व ग्रहण गरेको छ भने इटहरी उपमानगरपालिका संरक्षण रहेको इटहरी जेसीज वर्ष २०२४ का अध्यक्ष सुमन सुवेदीले बताए।
महाधिवेशनका लागि सुनसरीसहित मोरङका विभिन्न दुई सय वटा होटलको व्यवस्थापन गरिएको उनको भनाइ छ।
खासगरी कोशी प्रदेश सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०८२’ लाई यो महाधिवेशनले प्रवर्द्धनसमेत गर्ने उनको विश्वास छ।
‘स्थानीय पर्यटन र व्यापार प्रवर्द्धनका निम्ति हामीले ५० वटा स्टलसमेत राख्ने तयारी गरेका छौँ,’ सुवेदीले भने, ‘साथै आमन्त्रितहरूलाई कोशी प्रदेशका विभिन्न स्थानमा पर्यटन प्रवर्द्धनका निम्ति अवलोकनको व्यवस्थासमेत गरिएको छ।’
महाधिवेशनमा करिब तीन करोड खर्च हुने अनुमान गरिएको छ। जसमा एक करोड भन्दा बढी रकम जेसीज सदस्यबाट सहभागी शुल्क लिइनेछ।
बाँकी रहेको रकम कोशी प्रदेश सरकार, इटहरी उपमहानगरपालिकासहित विभिन्न पालिका, स्थानीय व्यापारीहरू तथा स्टलबाट व्यवस्थापन गरिने तयारी गरिएको छ। महाधिवेशनमा कूल एक हजार दुई सय ४६ मतदाताले मताधिकार गर्नेछन्।