काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरका पूर्वप्रमुख पीएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
सोमबार ठमेलस्थित चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उनीहरूले पूर्वप्रमुख सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन्।
प्रमुख बालेन र उपप्रमुख डङ्गोलका साथै प्रवक्ता नवीन मानन्धर, विषयगत समितिका संयोजकहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू र कर्मचारीहरूले सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
पूर्वप्रुमख सिंहको ८८ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो। पछिल्लो समय उपचारसँगै उनी ठमेल चाक्सीबारी बस्दै आएका थिए। पूर्वमन्त्रीसमेत रहेका सिंहको पेटमा अल्सर भएपछि गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो।
विक्रम संवत १९९६ चैत ११ गते जन्मिएका सिंह २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए। उनकै कार्यकालमा २०५२ मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो।
काठमाडौँ महानगरपालिकाले सिंहको निधनप्रति सम्मान प्रकट गर्दै सोमबार केन्द्रीय कार्यालय र मातहतका सबै वडा कार्यालयका अत्यावश्यकबाहेक सेवा बन्द गरी शोक बिदा दिएको छ।