समाजले भोगिरहेको विरक्ति, निराशा, उत्साह-आशा, विश्वास-अविश्वास आदिको धरातलीय लेखाजोखाको निरुपण सर्वथा जटिल विषय हो। यी सबै पक्षलाई इतिहास जगमा हेर्नु श्रेयष्कर हुन्छ। अमेरिकी लेखक माइकल क्रिचटन इतिहासका बारेमा मार्मिक कुरा गर्छन्। मानिसले इतिहास नबुझ्नु भनेको पातले रूखको अंश हुँ भनेर नबुझेसरह हो। माइकल विनम्रतापूर्वक भन्छन्, ‘इतिहास नबुझ्नु भनेको केही पनि नबुझ्नु हो।’
कार्ल मार्क्स इतिहासको निर्माता कर्ताहरू स्वयं हो भन्छन्।उनले भनेका छन्, ‘स्वयंको चाहनाबाट मात्रै इतिहास बन्न सम्भव छैन। परिस्थितिले इतिहास निर्माणमा भूमिका खेल्छ। इतिहास निर्माणमा कर्ताहरूको भूमिका हुन्छ तर उनीहरूको इच्छाधीन पहल मात्रैले इच्छित इतिहास निर्माण हुन सक्दैन। इतिहास निर्माण प्रक्रियाको शिक्षा भनेको व्यक्तिको समस्याको समाधान समाज (परिस्थिति)मा खोजिनुपर्छ अर्थात् संरचनामा खोजिनुपर्छ।’
समस्याको समाधान व्यक्तिगत एकाइमा खोजिनु इतिहास निर्माणको गलत प्रक्रियामा जानु हो। वर्तमानमा कर्ताहरूद्वारा गरिएको पहलकदमी वा संरचना निर्माण भोलिका लागि इतिहास हो।इतिहास निर्माण प्रक्रियामा नेपाली समाजका केही दृष्टान्तलाई समीक्षा गरेर नेपाली समाजले संरचनात्मक हल अर्थात् भुइँको समाधान र यसविपरीत सिर्जना हुने भावुकताबारे चर्चा गर्न सकिन्छ।
पपुलिजमको बजार र प्रकाश तामाङ
भोजपुर जिल्लाबाट झापामा बसाइँ सरेका झाँक्रीबाको बालक अन्दाजी १० वर्षीय छोरा प्रकाश तामाङ करिब ३५ वर्षअगाडि काठमाडौँमामा गलैँजा मजदुरी गर्न नपाएर हराउँदै गोरखामा गोठालो जीवन बिताइरहेको अवस्थामा ‘हेर्ने कथा’ नामक सञ्चारसामग्रीबाट कारुणिक कथासहित सार्वजनिक भएपछि दुनियाँको ध्यान आकृष्ट भयो। उनलाई जग्गा किनिदिने, घर बनाइदिने, ट्याक्टर खरिद गरिदिने काममा मूलत: दलका नेताहरू नै अग्रसर भएको देखिन्छ।
प्रधानमन्त्रीको आदेशमा घरमा लगेर नागरिकता उपलव्ध गराएको समाचारदेखि लिएर अनेक भाग्य चम्केका समाचारहरूले बजार ततायो। यस घटनामार्फत केही गम्भीर प्रश्नहरूको उजागर गर्न सकिन्छ।प्रकाश तामाङजस्तो समस्यामा परेको अरू नेपाली नागरिकका बारेमा सरकारसँग कुनै संरचनात्मक योजना किन नभएको होला? उमेरले ७०-८० वर्ष पुगेका आमाबुबालाई नागरिकता लिन ढाकरमा बोकेर सदरमुकाम पुर्यानुपर्ने बाध्यता अभ्यासमा छँदै छ।
जवान प्रकाश तामाङलाई मात्रै नागरिकता किन होम डेलिभरी? प्रकाश हराएको ३५ वर्षमा नागरिकको अभिलेख अद्यावधिक गर्न राष्ट्रिय जनगणना २०४८, २०५८ ,२०६८ र २०७८ चार पटक सम्पन्न हुँदा पनि उसको स्थिति पत्ता लगाउन नसक्ने कस्तो संरचना हो राज्यको? पपुलिजमको विरोधमा लामालामा भाषण गर्ने मूलधार र ठूला भनिएका दलका नेता नै किन प्रकाशको व्यक्तिगत समस्याको समाधान गर्न मात्रै प्रतिस्पर्धा गरिरहेका छन्? सामाजिक सञ्जालको बलमा उनीहरूको देवत्करण नहुने भए प्रकाश तामाङले ती सहयोग प्राप्त गर्थे? आदि प्रश्नहरूले पपुलिजमले एकाइमा समाधान खोज्ज जबरजस्ती गरिरहेको पुष्टि गर्छन्। कुनै अमूक शक्तिबाट राजनीतिक शक्तिमा उदयको आधार पपुलिजम हो भनेर अरूलाई आरोपित गर्ने जिम्मेवार शक्ति हुँ भन्नेहरू पनि संरचनात्मक समाधानभन्दा तत्कालमा-व्यक्तिमा समाधान खोजेर पपुलिजमको सर्तनामामा आफूलाई रुपान्तरण गर्न उद्यत् देखिन्छन्।
बिदेसिनेको लर्को र भावुकता
सरकारी अभिलेखअनुसार आव २०५०/०५१ मा नेपालवाट श्रम स्वीकृति लिएर तेस्रो मुलुक (भारत, भुटानबाहेक) श्रम गर्न ३६०५ जना नेपाली मात्रै विदेश गएको देखिन्छ। यो संख्या तत्कालीन नेपालको कुल जनसंख्याको ०.०१९ प्रतिशत हो। त्यसबेलाको नेपालको गरिबी ४१.८ प्रतिशत थियो। आव २०७९/८० को तथ्यांक हेर्दा ७ लाख ७१ हजार ३३२ जना नेपाली श्रमिक बिदेसिएको देखिन्छ। यो संख्या हालको कुल जनसंख्याको २.६५ प्रतिशत हो। हालको गरिबी २०.३ प्रतिशतमा निहित छ।यो तथ्यांकलाई सामान्य ढंगले विश्लेषण गर्दा वैदेशिक रोजगार र गरिबीको नकारात्मक सहसम्बन्ध (नेगेटिभ कोरिलेसन) देखिन्छ।अर्थात् वैदेशिक रोजगारीले गरिबी घटाउनमा उल्लेख्य योगदान गरेको देखिन्छ।
अर्कोतर्फ नेपालको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा रेमिटान्सको योगदान २३-२७ प्रतिशत देखिन्छ भने विदेशी मुद्रा आर्जनमा ५० प्रतिशतभन्दा बढीको प्रत्यक्ष योगदान छ। विद्यार्थी भिसामार्फत बिदेसिने युवाको संख्या पनि उल्लेख्य छ। अघिल्ला तिन आर्थिक वर्षको तथ्यांक हेर्दा बिदेसिने युवा विद्यार्थीको संख्या बर्सेनि लाखभन्दा माथि छ। आव२०७८/०७९ मा १ लाख २ हजार ५०४ जना थियो भने गत आव २०८०/०८१ मा १ लाख १२ हजार ५९३ जना विदेश पढ्न गएको देखिन्छ।यो तथ्यांकको चित्र अनि अन्तर्राष्ट्रिय विमानस्थलको बिदाइमा तस्बिरहरूले हामी जोकोहीलाई भावुक बनाउँछ। भावुकताको सञ्चार गरेर राजनीति गर्ने हतियार पनि बनाइन्छ। अर्कोतर्फ विदेश जाने भिसा लाग्दा हर्षबढाइँ हुने समाज पनि हाम्रै भुइँ हो। अमेरिकी डीभी भिसाको आवेदन भर्ने समय अवधि बढ्दा हर्षित हुने समाज पनि हाम्रै यथार्थ हो।
भूमण्डलीकरणको भुमरी र आडम्बर
श्रीलंकाको इतिहासमा पहिलोपटक गत सेप्टेम्बरमा अनुराकुमार देसानायक राष्ट्रपति निर्वाचित भए। उनी वामपन्थी राष्ट्रपतिका रूपमा क्रान्तिकारी छवि बनाएका व्यक्तित्व हुन्। नोभेम्बर १५ मा सम्पन्न आमनिर्वाचनबाट अनुराको गठबन्धनले संसद्मा पनि सुविधाजनक बहुमत हासिल गरे। वामपन्थीहरूको सामान्य धर्म नै हो, विश्व बैंक अन्तर्राष्ट्रिय मुद्राकोषको विरोध।तर भरखरै तिनै अनुराकुमार अन्तर्राष्ट्रिय मुद्राकोषको सर्तबमोजिम आईएफएमको विवादस्पद कर्जा सहयोगका लागि सहमत भएका छन्। अन्तर्राष्ट्रिय मुद्राकोषको सहयोगबिना श्रीलंका डलरको अभावले राजनीति अस्थिरताको सिकार भयो।जुन संकटबाट नवनिर्वाचित क्रान्तिकारी राष्ट्रपतिले यो भूमण्डलीकरणको विश्व व्यवस्थालाई अनदेखा गरेर शासन चलाउन सक्छन्?
नेपालका सन्दर्भमा एमसीसी सम्झौता संसद्वाट पास गर्ने बेला स्मरण गरौँ। व्यापक विरोध भए पनि तथाकथित व्याख्यात्मक टिप्पणीको जामा लाएर विरोध गर्नेहरूको समेत सहयोगमा पास भयो। सरकारमा हुनेलाई दोष बोकाए पनि जुनसुकै पार्टी वा शक्ति सरकारमा भएको भए पनि पास गराइछाड्थ्यो। वर्तमान विश्व प्रणालीमा हाम्रो जस्तो देशले यस्तो सम्झौतालाई सरकारमा बसेका बेला इन्कार गर्न सक्दैनन्।इन्कार गर्न नसक्ने भए विरोध गरेर भ्रम सिर्जना गर्नुमा तागत खर्च गर्नुभन्दा स्थानिकतामा यस्ता सम्झौताबाट प्राप्त सहयोगलाई उपलब्धिमूलक बनाउन विमर्श गर्दा जाती होला।
हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा बीआरआईको फ्रेमवर्क सम्झौता भएको छ। ऋण नलिने अनुदान भए मात्रै लिने भनेर प्रतिबध्द हुँदै चीन गएको टोलीले सम्झौताउपरको भाष्य जे बनाए पनि ऋणसमेत लिने सर्तमा बीआरआई अगाडि बढाउने सम्झौता भएको छ।
राजा राष्ट्रवादी भएकाले पञ्चायतमा उद्योगधन्दा स्थापना गरे बहुदलमा दलहरूले बेचेर खाएँ भनेर राजावादीहरू राष्ट्रवादी भाषण गर्छन्। तर ऐतिहासिक तथ्य राजावादीले भनेजस्तो छैन। मुख्यतया तत्कालीन सोभियत संघको राज्य नियन्त्रित अर्थतन्त्रको प्रभावको सहयोग नेपालले समेत लिएर राज्य नियन्त्रित उद्योगधन्दा स्थापना गरेको देखिन्छ। तर सन् ८० को दशकसँगै संरचनात्मक समायोजन परियोजनाका नाममा तत्कालीन पञ्चायती सरकारले विश्व बैंकसामु उद्योगधन्दा निजीकरण गर्दै राज्यलाई घाटा जाने काममा नलगाउने प्रतिबद्धता गरिसकेको थियो।
सन् ९० को दशकमा पञ्चायत नै भएको भए पनि राजावादीहरूले भनेका उद्योगधन्दा निजीकरण हुन्थे। अर्कोतर्फ बहुदलमा पनि सो निजीकरण गर्दा कांग्रेसको सरकार थियो अनि तिनै कांग्रेसलाई निजीकरण गरेको दोषारोपण गर्छन् वामपन्थी दलहरू। कम्युनिस्ट सरकार भए पनि गर्ने निजीकरण नै हो। तसर्थ इतिहास निर्माणको प्रक्रियालाई अनदेखा गर्नु हुँदैन। इतिहास निर्माण इच्छाधीन विषय मात्रै होइन।
भूमण्डलीकृत दुनियाँमा यसको असर अर्थतन्त्र र राजनीतिमा मात्रै हैन संस्कृतिमा पर्छ। किनभने समाज भनेकै अर्थतन्त्र, राजनीति र संस्कृतिको स्यान्डविचजस्तो हो। उदाहरणका लागि आदिवासी-जनजातिहरूको अनुष्ठानमा अनिवार्य हुने घरमा रीतपूर्वक बनाइएको रक्सी घरेलुभन्दा पनि अहिले बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादन गरिएको माग हुन थालेको देखिन्छ। जाँडरक्सी वर्जित बाहुनक्षेत्री समुदायमा जाँडरक्सीको प्रचलन बढ्दो क्रममा रहेको छ। यस्तो यथार्थको अगाडि झर्रो भनिएको सांस्कृतिक अभ्यासको वकालत कसरी गर्ने?
भूमण्डीकरणले मानिसलाई विश्वव्यापी रोजाइको अवसर दिएको हुन्छ। यस्तो कारणले मानिसको मौलिकता र स्थानिकता जोगाउन सबैभन्दा मुस्किल काम हो। भूमण्डलीकृत दुनियाँमा राष्ट्रवादको तृष्णा पनि पेचिलो कुरा हो। राष्ट्रिय झण्डा ओढेर, नेपाली माटोको टीका लगाएर अमेरिका गएको नेपाली त्यहाँको पीआर पाएको दिन संसारै जितेको महसुस गर्छन्। पीआर पाउनु भनेको नेपालको नागरिकता त्याग्नु हो।वैश्किक अभ्यासमा अब नागरिकता केवल पहिचान र राष्ट्रियताको गौरवको सिम्बोल मात्रै हैन डेबिटकार्ड जस्तै हो। पावरफुल देशको नागरिकताबाट प्राप्त गर्ने सेवासुविधा र गरिब देशको नागरिकतावाट पाउने सेवासुविधामा आकाश पातालको फरक छ।
भूमण्डलीकरणको सफलता भनेको संसारलाई समवेत उपभोक्तामा रूपान्तरण गर्नु हो। उदाहरणका लागि अमेरिकामा पिज्जा खान्छन्, नेपालमा पनि। अमेरिकामा कोकाकाला पिउँछन्, नेपालमा पनि। अमेरिकामा आइफोन बोक्छन्, नेपालमा पनि सँगै आइपुग्छन्।तसर्थ भूमण्डलीकरणको चुनौतीका रूपमा उपभोगक्तावादको अगाडि राष्ट्रवाद फिक्का हुँदै गएको छ।
अर्थराजनीतिक-संरचनात्मक सिफ्ट
सत्ताबाहिर हुँदा राजनीतिक दलहरूले गर्ने स्कुलिङ सत्तामा गएपछि आफ्नै लागि अभिसाप हुने गरेको छ। किनभने दुनियाँसँग विपरीत दिशामा हिँड्न सकिने स्थिति छैन। तर यो सच्चाइ कार्यकर्ताहरूलाई सिकाइँदैन-ढाँटिन्छ, खासगरी कम्युनिस्ट भनिएकाहरूबाट। दुनियाँसँगै हिँड्दा पनि आफ्नै खुट्टामा उभिएर मौलिक तरिकाले हिँड्न सकिने जुक्तिको गुञ्जायस जहिल्यै हुन्छ। यसका लागि अर्थराजनीतिक र संरचनात्मक सवालमा ध्यान दिनुपर्छ। जस्तै- करप्रणाली, सरकारको बजेट नीति तथा कार्यक्रमले बहुसंख्यक जनताको हितमा के गर्यो गरेन भन्ने समीक्षा गर्दै सरकारको स्रोतसाधन परिचालनबाट नागरिकलाई देशप्रतिको प्रेम जागृत गराउन संरचनात्मक पहल जरुरी हुन्छ।
भूमण्डलीकृत वैश्विक संसारमा अर्थराजनीतिक संरचनाको ग्राभिटीबाट नागरिकको देशप्रतिको भरोसा र आकर्षण सिर्जना गर्ने संकल्प चाहिन्छ। रोग, भोक, गरिबी, बरोजगारी र अभावमा मौलाउने भनेको पपुलिजम हो। पपुलिजमले संरचनात्मक समाधानलाई इन्कार गर्दै व्यक्तिगत रूपमा सानो एकाइमा समाधान खोजेर प्रिय हुने चेष्टा राख्छ। पपुलिजमको प्रयोग राजतन्त्रकालमा प्रशस्त भएको छ। जस्तै- सीमित समुदाय-व्यक्तिले प्राप्त गरेको शाही संरक्षण।अहिले यसको प्रयोगबाट राजनीतिक शक्तिहरूसमेत उदाएका छन्। तर आफूलाई पपुलिजम विरोधी शक्ति हुँ भन्नेहरूसमेत पपुलिजमको विरोध गर्दै पपुलिजमकै सहारा लिन उद्यत् हुँदै छ।
पछिल्लो उदाहरणका लागि प्रकाश तामाङको प्रयोग। पपुलिजमको माखेसाङ्लोबाट सिफ्ट खोज्दै अगाडि बढ्न संरचना निर्माणको अठोट र आचरण चाहिन्छ। यसका लागि इतिहास निर्माण प्रक्रिया बुझ्नुपर्छ। अमेरिकी साम्राज्यवाद मुर्दाबाद, भारतीय विस्तारवाद मुर्दाबाद भन्दै नालापानी युद्धको इतिहास सम्झाउनु, अन्तराष्ट्रिय विमानस्थलको कारुणिक दृश्यहरूको वर्णनबाट भावुक हुनु र निरीह जनतालाई भावुक बनाउनु जस्तो सजिलो छैन हाम्रो समाजको यथार्थ अर्थात् भुइँको समाजशास्त्र।
(राई समाजशास्त्रमा एमफिल अध्ययनरत छन्।)
पर्याप्त तथ्याङ्कहरू समाविष्ट, इतिहासका आधारमा वर्तमानको विश्लेषण, अर्थ राजनीतिको यथार्थ प्रतिबिम्बन, भूमण्डलीकरणको प्रभाव, साथै नेपाली भावुकता समेत समेटिएकोले लेख यथार्थ परक देखिन्छ।
रचना समय सापेक्षित छ । नेपाली राजनीतिमा देखिएका र अनुभूत विम्ब प्रतिविम्ब झल्किएका छन् रचनामा । विशेषतः वाम विचलनको पराकाष्ठामा नेपाल राष्ट्र र नेपाली समाजले झेल्नुपरेका आम विसंगतिरुको तीतो यथार्थ लेखकले औल्याउनु भएको छ ।वैयक्तिक भिन्नता सँगै व्यक्तिगत चारित्रिक ह्रासका कारण चुलिदै गएको व्यक्तिगत स्वार्थ, अनुशासनहीन राजनैतिक चरित्रको हावीको कारणले राष्ट्रियता कमजोर हुन पुगेको कहालीलाग्दो तथ्यलाई तथ्याङ्कमा सूचिकृत गर्नुले लेखकको गहन चिन्तन विश्लेषणको झलक देख्न सकिन्छ। विकाशका संवाहक एवम् मेरुदण्डका रुपमा रहेका युवाहरुको अवाञ्छित विदेश पलायनको विषयलाई पनि लेखकले एक चुनौतीको रुपमा उल्लेख गर्नुभएको छ।एकाइ सुखको खोजीमा नलागी दलहरुले राष्ट्रिय हित र सामाजिक सुखको खोजीमा लाग्नु पर्ने तर्फ उहाँले इंगित गर्नुभएको छ।