‘प्ले अफ’ पुग्ने चौथो टोली टुंगो लाग्दै, सुदूरपश्चिम र कर्णाली भिड्दै

हिमाल प्रेस १ पुष २०८१ ६:५७
12
SHARES
‘प्ले अफ’ पुग्ने चौथो टोली टुंगो लाग्दै, सुदूरपश्चिम र कर्णाली भिड्दै

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणका खेलहरू आज सकिँदैछ। अन्तिम लिग खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुनेछ। दुवै टोली राम्रो फर्ममा रहेका छन्। आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ।

जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेका छन्। प्लेअफ चरणमा पुग्ने एउटा टोलीको टंगो लाग्नमात्र बाँकी छ। अब कर्णाली याक्स र काठमाडौँ गुर्खाजमध्ये एउटा टोली प्लेअफ चरणमा पुग्नेछन्।

हालसम्म ६ खेल खेलेको सुदूरपश्चिम रोयल्स १० अंकसहित तालिकाको पहिलो स्थानमा छ। सात खेलबाट १० अंक जोडेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा आसिन छ। सात खेलबाट आठ अंक जोडेको चितवन राइनोज तेस्रो स्थानमा छ ।

यसैगरी, लिग चरणको अन्तिम एक खेल बाँकी रहँदा ६ खेलबाट आठ अंक जोडेको कर्णाली याक्स चौथो र सात खेलबाट आठ अंक बटुलेको काठमाडौँ गुर्खाज पाँचौँ स्थानमा आसिन छन्। यी दुईमध्ये एक प्लेअफ चरणमा पुग्ने अन्तिम टोली बन्नेछ।

सात खेलबाट चार अंक जोडेको विराटनगर किंग्स (छैटौँ स्थान), समान खेलबाट समान अंक बटुलेको पोखरा एभेन्जर्स (सातौँ स्थान) र सात खेलबाट केवल दुई अंक हात पारेको लुम्बिनी लायन्स (आठौँ स्थान) भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन्।

हाल आठ–आठ अंक रहेका तीन टोलीमध्ये सबैभन्दा नराम्रो नेट रन रेट काठमाडौँ गुर्खाजको रहेको छ। चितवन राइनोजको नेट रन रेट ०।६३४ रहेको छ। कर्णाली याक्सको नेट रन रेट ०।०९५ छ। काठमाडौँ गुर्खाजको नेट रन रेट भने –०.३२१ रहेको छ।

त्यसैले कर्णाली याक्सको तुलनामा काठमाडौँ गुर्खाजको अगाडि बढ्ने सम्भावना केही कम देखिन्छ। सोमबार हुने खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउन सके कर्णाली याक्स सजिलै प्लेअफ चरणमा प्रवेश गर्नेछ।

यस्तो स्थितिमा कर्णाली याक्सको १० अंक पुग्नेछ भने काठमाडौँ गुर्खाज उपाधि होडबाट बाहिरिने छ। काठमाडौँ गुर्खाजको आठ अंकमात्र रहने छ र नेट रन रेटमा पनि ऋणात्मक नै रहने छ । सोमबारको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई सामान्य अन्तरले हराएको अवस्थामा पनि कर्णाली याक्स नै प्लेअफ चरणमा पुग्नेछ ।

यस्तो स्थितिमा नेट रन रेट ऋणात्मक हुनु काठमाडौँ गुर्खाजका लागि दुर्भाग्य बन्नेछ । सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिचको खेल अनिर्णीत अवस्थामा सकिए पनि कर्णाली याक्स नै प्लेअफ चरणमा पुग्नेछ । यस्तो स्थितिमा सुदूरपश्चिम रोयल्सको ११ र कर्णाली याक्सको नौ अंक हुनेछ ।

तर, सोमबारको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ठुलो अन्तरले हराएमा काठमाडौँ गुर्खाज प्लेअफ चरणमा पुग्ने सम्भावना रहन्छ । सोमबारको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ५५ रनभन्दा बढीको अन्तरले हराएमा काठमाडौँ गुर्खाज प्लेअफ चरणमा पुग्नेछ ।

यस्तो स्थितिमा कर्णाली याक्स नेट रन रेटमा काठमाडौँ गुर्खाजभन्दा पछि पर्नेछ । यदि कर्णाली याक्सले पहिले ब्याटिङ गरेमा सुदूरपश्चिम रोयल्सले १२ ओभरभित्रै विजयलक्ष्य प्राप्त गर्नुपर्नेछ । यस्तो स्थितिमा पनि काठमाडौँ गुर्खाज प्लेअफ चरणमा प्रवेश गर्नेछ ।

प्रकाशित: १ पुष २०८१ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast