
पोखरा- सहकारी रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान पूरा गरेको जनाएको छ। सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण गरी तीन मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले अब चाँडै रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले भने, ‘अनुसन्धानको पार्ट पूरा भएको छ। अब चाँडै अनुसन्धान प्रतिवदेन बुझाउने तयारीमा छौं।’
गत २ कात्तिकमा पक्राउ परेका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले अबको ५ दिनभित्र अदालतमा अभियोग लैजानुपर्छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको हुनाले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्ने कानुनी प्रावधान छ।
गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी पक्राउ परेको दिन ६ असोजलाई पहिलो दिन मानेर लामिछानेको म्याद मिलान भएको थियो। पटकपटक म्याद थप गर्दै अनुसन्धान गरिरहँदा ९ दिनमात्र बाँकी रहेकोमा गत बिहीबार जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको थियो। लामिछानेलाई सातौंपटक थपिएको म्याद सोमबार (१ पुस) मा सकिँदैछ। त्यसपछि मात्र ४ दिन बाँकी रहनेछ। उक्त अवधिसम्म अदालतमा मुद्दा टेकाउनैपर्छ। नभए यसबीचमा म्याद थप मागिनेछ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधीवक्ता कमला काफ्लेले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग लैजाने बताउँछिन्। उनका अनुसार प्रतिवेदन अध्ययन गर्न कम्तीमा तीन/चार दिन लाग्नेछ। उनी भन्छिन्, ‘पहिले प्रतिवेदन आउनुपर्यो। हामीले अध्ययन गर्नुपर्यो। ५ जना हिरासतमा रहेकाले सबैको अध्ययनमा कम्तीमा तीनचार दिन समय लाग्छ। त्यसपछि कुनकुन मुद्दा चलाउने वा नचलाउने भन्ने निष्कर्षमा पुग्छौं।’
उनका अनुसार अभियोगपत्र दायरपछि पनि अदालतमा थुनछेक बहसका लागि तीनचार दिन लाग्ने सम्भावना छ। प्रतिवादीका तर्फबाट कति जना वकिलले थुनछेक बहसमा भाग लिन्छन् र अदालतले कति समय छुट्याउँछ, त्यसमा भर पर्छ।
थुनछेक बहसपछि अदालतले लामिछाने समेतलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा वा शुद्ध तारेखमा रिहामध्ये एक आदेश दिन दिनेछ। उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आए लामिछाने कास्की कारागार चलान हुनेछन्।
लामिछानेमाथि पोखराको सूर्यदर्शनसहित काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, रुपन्देहीको सुप्रिम र पर्साको सानोपाइला सहकारीबाट गोर्खा मिडियामा करोडौं रकम लगेर अपचलन गरेको अभियोग छ। कास्की प्रहरी हिरासतमा रहेकै बखत लामिछानेलाई सम्बन्धित जिल्लाहरुमा समेत लगेर बयान लिइसकिएको छ।
लामिछानेसहित गोर्खा मिडियाका पूर्व उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी, गितेन्द्रबाबु (जीबी) राईका साझेदार नेचर हर्ब्सका सञ्चालक तनहुँका रामबहादुर खनाल, जीबीसँग मिलेर रकम हिनामिना गरेको आरोप लागेकी गुल्मी मुसिकोट नगरपालिका–४ की लीला पछाईं र पोखराका कृष्ण गुरुङ प्रहरी हिरासतमा छन्। पक्राउ परेकाभन्दा बाहेक ३५ जना जतिलाई फरार प्रतिवादी कायम गर्न राय दिने स्रोतले जनाएको छ। सूर्यदर्शन सहकारीकै रकम ठगी अभियोगमा अन्य ५ जना कास्की कारागारमा पुर्पक्षका लागि थुनामा छन्।
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ। साथै जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्षरूपमा गोर्खा मिडियामा गएको प्रतिवेदनमा उल्लेख छ।
उक्त प्रतिवेदनमा रविसहित जीबी राई, गोर्खा मिडियाका पूर्व उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी, सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेकोमा जीबी अझै फरार प्रतिवादी हुन्। कुमारसहित सहकारी उपाध्यक्ष कैलाशकुमार दर्लामी, शिवबहादुर गुरुङ, भविश्वर अर्यालसमेत ५ जना यतिखेर कास्की कारागारमा छन्।