काठमाडौँ- नेपाल प्रिमियर (एनपिएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोल्यसले पोखरा एभेन्जर्सविरुद्ध १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५३ रनको योगफल तयार पार्यो।
पोखराका लागि कप्तान कुशल भुर्तेलले दुई तथा रेमोन रिफर, सागर ढकाल र माइकल लिस्कले समान एक विकेट लिए। सुदूरपश्चिमका लागि आरिस शेखले ३८ बलमा दुई चौका र एक छक्काको मद्दतले अविजित ४२ रन बनाए। यसैगरी ब्रेन्डन म्याकमुलनले २३, कप्तान दिपेन्द्रसिंह ऐरीले २०, विनोद भण्डारीले १४ र हरमित सिंहले १३ रन जोडे।
दोस्रो ओभरको पाँचौं बलमा रेमोन रिफरले सेफ जैबले व्यक्तिगत ९ रनमा बोल्ड गरे। सातौं ओरभको दोस्रो बलमा विनोद भण्डारी पेभेलियन फर्किए। १६ बलमा समान एक चौका र छक्काको मद्दतले १४ रन बनाएर खेलिहरेका उनलाई कुशल भुर्तेलले विपिन खत्रीबाट क्याच गराए।
सोही ओभरको अन्तिम बलमा कुशलले ब्रेन्डन म्याकमुलनलाई पेभेलियनको बाटो देखाए। १६ बलमा दुई छक्का र एक चौकाको मद्दतले २३ रन बनाएका उनी सागर ढकालबाट क्याच भए। माइकल लिस्कले १०औं ओभरको चौथो बलमा हरमित सिंहलाई सुदीप अर्यालबाट क्याच गराए। उनले १० बलमा एक छक्कासहित १३ रन बनाए।
दीपेन्द्रसिंह ऐरी १५औं ओभरको अन्तिम बलमा पेभेलियन फर्किए। १६ बलमा एक छक्कासहित २० रन बनाएका उनलाई सागर ढकालले एलबिडब्ल्युको धरापमा पारे। इशान पाण्डे १९औं ओभरको पहिलो बलमा रियायर्ड हार्ट भए। उनली ११ बलमा एक चौकाको मद्दतले १० रन बनाएर खेलिरहेका थिए।
अन्तिम ओभरको तेस्रो बलमा स्कट कुग्गेलिजन रन आउट भए। उनले दुई रन मात्रै बनाउन सके।