
काठमाडौँ- सेवा प्रवाहका क्रममा कसैले अनियमितता गरेमा वा आर्थिक लाभ लिन खोजेमा नियन्त्रण गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने निकायका रूपमा चिनिन्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।
भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने आयोगका कर्मचारीलाई अर्को सरकारी कार्यालयका कर्मचारीले नै घुस दिएर आफ्नो अनियमितताको घटना मिलाइदिन अनुरोध गर्यो भन्दा पत्यार नलाग्न सक्छ।
तर, शुक्रबार यस्तै एक घटना भएको छ आयोगको क्षेत्रीय कार्यालय कञ्चनपुरमा । सित्तिमिति पत्याउन मुस्किल पर्ने यस्ता घटना नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रवप्रसाद सापकोटाको क्रियाकलापबाट पुष्टि भएको छ।
सापकोटाले आयोगको कार्यालयमै पुगेर अनुसन्धान अधिकृतलाई एक लाख रुपैयाँ घुस दिने कोसिस गरेका छन्।
आफूसँग सम्बन्धित भ्रष्टाचारको घटना मिलाइदिन अनुरोध गर्दै घुस रकम लिएर नुवाकोटदेखि कञ्चनपुर पुगेका सापकोटा पहिलो घटनाको छिनोफानो नहुँदै घुस रकमका कारण आयोगको नियन्त्रणमा परेका छन्।
आयोगका अनुसार सापकोटा केही समयअघि अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहेका थिए।
सापकोटा प्रमुख प्रशासकीय अधिकृत रहँदा सोही गाउँपालिकाको मेसिनरी सामान खरिदमा भएको अनियमितता भएको सम्बन्धमा यही मंसिर ८ गते उजुरी परेपछि आयोगले अनुसन्धान गरिरहेको थियो।
अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीहरूको बयानसमेत लिइसकेको आयोगले जनाएको छ। थप अनुसन्धान जारी छ तर सापकोटाले शुक्रबार सोही विषयसँग सम्बन्धित रहेको कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई घुस रकम बुझाउन खोजेका थिए।
हरियो रङको झोलाभित्र रहेको कागजातसहितको खाममा शंका लागेपछि अनुसन्धान अधिकृतले सापकोटालाई उक्त खाम आफैँ खोल्न आग्रह गरेका थिए। अनुसन्धान अधिकृतलाई बुझाउन खोजिएको झोलाभित्र दुई वटा खाम थिए। पहिलो खामभित्र ३१ थान कागजात थियो।
अर्को खामभित्र भने एक हजार रुपियाँ दरको ९६ थान नोट तथा पाँच सय रुपियाँ दरको आठ थान गरी एक लाख रुपियाँ रकम रहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।
खामभित्र पैसा देखेपछि अनुसन्धान अधिकृतले सापकोटालाई ‘यो केको पैसा हो?’ भनी प्रश्न गरेका थिए । सापकोटाले ‘मुद्दा मिलाइदिन तपाईंका लागि स्वेच्छाले नै ल्याएको हो’ भन्ने जवाफ फर्काउनुभएको थियो।
उक्त रकम अनुसन्धान अधिकृतलाई घुस दिने मनसायले ल्याएको भनी आयोगको टोलीले सापकोटालाई शुक्रबार नै नियन्त्रणमा लिएको छ। आयोगका अनुसार सापकोटामाथि थप अनुसन्धान भइरहेको छ। गोरखापत्र अनलाइनबाट